धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा
बागलुङ । धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरी सेवा दिइएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । चारै जिल्लामा गरी ११४ स्थानबाट ‘टुजी’ सेवा सञ्चालनमा छ । “डाटाको खपत हेरेर थ्रिजी सेवा थप्ने गरेका छौँ”, इन्जिनियर शर्माले भने । टेलिकमले ग्राहकको माग र डाटाको खपत पनि बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाले डाटा र भ्वाइस दुवैमा सुधार आएपछि ग्राहक पनि सन्तुष्ट छन् । ‘थ्रिजी’ नभएको ठाउँमा पनि ‘टुजी’ सुधार गर्दा सेवा प्रभावकारी बनेको इन्जिनियर शर्माको भनाइ छ । इन्टरनेट प्रयोगकर्ताहरुले विगतको भन्दा बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा पाएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताए। ‘थ्रिजी’ प्रविधिमार्फत ‘भिडियो ’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । टेलिकमले दुई वर्ष अघिदेखि नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सञ्चालनमा ल्याएको थियो । पुरानो प्रविधिको ‘थ्रिजी’ लाई पनि स्तरोन्नति गर्दै लगिएको टेलिकमले जनाएको छ । मागअनुसार अन्य ठाउँमा पनि ‘थ्रिजी–बिटिएस’ जडानको काम अघि बढेको इन्जिनियर नेपालले बताए । रासस
अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा पाइने, एनएएसले ल्यायो यस्ताे सुविधा
काठमाडौं । सेवा प्रदायक संस्था नेपाल एम्बुलेन्स सर्भिस(एनएएस)ले आकस्मिक सेवाका लागि भाइबर हट लाइन सुविधा ल्याएको छ । उक्त सुविधाको लागि यस संस्था चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२मा जोडिएको छ । अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा बिरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । भाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने-‘नेपालमा भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हर्षित भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।’ सोही अवसरमा एनएएसको तर्फबाट अमितले भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउने बताएका छन् ।
अब टेलिकमको आईएसडी सुविधा ग्राहक आफैले लिन सक्ने, यस्ता छन् प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि“००००” र सीडीएमए मोबाइलका लागि “१२३४” डिफल्ट पिन नम्बर हुने छ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै, आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नु पर्नेछ । साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर त्यसका लागि कार्यालयमै सम्पर्क राख्नु पर्थ्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भए पछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।