नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुँदै

काठमाडौं । नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुने भएको छ । इन्फरमेशन सेक्युरीटी रेस्पोन्स टिम(एनपीसर्ट)ले साउन ११ गते देखि १२ गतेसम्म नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट गर्न लागेको हो । समिटमा भारत, चीन, अमेरिका र अष्ट्रेलियाका साइबर सेक्युरीटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । संसारभर द्रुतगतिमा विस्तार भैरहेको डिजिटलाईजेशन र त्यसले ल्याएको साइबर सेक्युरीटीको चुनौतीबारे समिटमा विस्तृत अन्तरक्रिया हुनेछ । इन्फरमेशन सेक्युरीटीमा आउने चुनौतीको सामना गर्ने उपाय खोज्न समिटिले महत्वपुर्ण भूमिका निर्वाह गर्ने एनपीसर्टका अध्यक्ष चिरञ्जीवी नेपालले बताए । समिटमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नाष्ट), नेपाल बैंकर संघ, कम्प्युटर एसोसियसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर लगायतको सहभागीता रहनेछ । नेपाल हुने साइबर आक्रमणको जोखिमलाई घटाउने समिटिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

लक्ष्यभन्दा एक महिना अघि नै चार जिल्लामा इन्टरनेट सेवा, दुई वर्षसम्म निःशुल्क चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिना अगाडि नै इन्टरनेट सेवा सञ्चालन गर्ने काम सम्पन्न गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी अनुसार टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा लक्ष्य भन्दा अघि नै इन्टरनेट सेवा सञ्चालन गरिसकेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा नेपाल टेलिकमले २०७५ जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ बैशाख २१ मा टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न टेलिकमलाई जिम्मेवारी दिएको थियो । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका २०५ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको छ । समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ । जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालय, काभ्रेपलाञ्चोकका १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालय, नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा, सेवा सञ्चालन भएको दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी/ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ ।

स्याङ्जाका मिर्मिमा नेपाल टेलिकमको टेलिफोन क्षमता विस्तार

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चारका गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् । टेलिकमका गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो । साथै, हाललाई यसअघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो । तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उनले बताए । समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आपूmलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुशी लागेको बैंकका शाखा प्रबन्धक लोकबहादुर कुँवरले बताए । नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।