क्यान महासंघले रजत जयन्ती मनायो, समृद्धिमा सवैभन्दा बढी योगदान सूचना र प्रविधिको रहने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप क्यान महासंघको रजत जयन्ती र राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०१७ को अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम क्यान महासंघको २५ भन्दा जिल्ला शाखाहरुमा ५० भन्दा बढी कार्यक्रमहरु एकै दिन सम्पन्न गरिएको छ । सूचना प्रविधि विभाग, नेपाल सरकार, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, एनएसी, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन गरिएको छ । कार्यक्रममा सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसँग सम्वन्धी व्यक्तिहरुको सहभागिता थियो । त्यस्तै क्यान महासंघ र सूचना प्रविधि विभागको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन  गर्दै माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरु बीचको दुरी घटाउनुपर्ने धारणा राखे । उनले अब स्मार्ट सिटीको निर्माणमा जोड दिनुपर्ने उनले बताए । क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्ट्रियताको मान्यता दिनुपर्ने वताए । सबैभन्दा प्राथमिकतामा राख्नु पर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेको भन्दै अध्यक्ष ढकालले सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने बताए । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्र, नेपाल चेम्वर अफ कमर्सका प्रथम उपाध्यक्ष, ज्ञानेन्द्र रत्न तुलाधरज्यू लगायत क्यान महासंघका पूर्व अध्यक्षज्यूहरु सहभागि थिए । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रममा बेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१७ सर्वोच्च अदालत नेपाललाई प्रदान गरिएको छ । त्यस्तै बेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१७ इन्फो डेभलपर्स प्रा लि लाई प्रदान गरिएको छ भने नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०१७ मनोहर कुमार भट्टराईलाई प्रदान गरिएको छ । भट्टराईलाई अवार्ड र ५१ हजार राशि समेत प्रदान गरिएको छ । नेपालमा सूचना तथा प्रविधिको विकास र विस्तारमा उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै आगामी दिनहरुमा थप प्रोत्साहनका लागि यो अवार्ड वितरण गरेका हो ।

एनसेलले ल्यायो सापटीमा नयाँ योजना, फ्रि फेसबुक योजना बैशाख १९ बाट समाप्त

काठमाडौं ।  एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन् । एनसेलकाे नयाँ योजना अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क अझै बढि रकम सापटी स्वरुप लिन सक्नेछन् । मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना यही सोमबार (वैशाख १८) देखि लागु हुनेछ । यो योजना अन्र्तगत प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवा शुल्क रु ३० सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढि देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजना अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन् । सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन् । एस्ट्रिक्स९९८८ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरिे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् । “ग्राहक माझ निकै नै लोकप्रिय रहेको एनसेल सापटी अन्तर्गत यो विषेश योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यो सेवाले हाम्रा ग्राहकलाई सम्पर्कमा रहि रहन थप मद्दत पुर्याउनेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी  लिन पाउँने छैनन् । एनसेल सापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुनेछ ।त्यसै गरी कम्पनीले एनसेलमा फ्रि फेसबुक योजना बैशाख १९ बाट समाप्त भएकाे जनाएकाे छ । बैशाख १९ देखि उक्त याेजना समाप्त भएकाे जनाएकाे छ ।

धादिङको लापा र टिप्लिङमा टेलिकमको बिटिएस टावर, पाँच हजार जनतामा मोबाइल सेवा पुग्यो

काठमाडौं । नेपाल टेलिकमले उत्तरी धादिङको लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरेको छ । टेलिकमले ती दुई ठाउँको बिटिएस टावरबाट बैशाख १३ गतेदेखि सेवा आरम्भ गरेको हो । लापा र टिप्लिङ पुग्ने नेपाल टेलिकम पहिलो सेवा प्रदायक कम्पनी पनि बन्न सफल भएको छ । । लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । लापा धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ । त्यस्तैगरी टिप्लिङ्गमा स्थापित विटिएसबाट टिप्लिङ्गल र सेरटुङ्गलगायत नजिकका गाउँका करिव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने भएका छन् । टिप्लिङ्ग धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।