युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब १ करोडको ठेक्का दिने निर्णय विरुद्ध संसदिय समितिमा उजुरी

काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल भएको छ, चुनावपछि छलफल हुन्छ’, विकास समितिका एक कर्मचारीले विकासन्युजसँग भने । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार एनसेल भन्दा ७० करोड र वल्ड लिंक भन्दा ५० करोड कममा आवेदन दिएकाले युटिएललाई ठेक्का परेको हो । १५ बर्ष अघि सञ्चालनमा आएको युटिएल पछिल्लो १३ बर्षदेखि बार्षिक करोडौँ रुपैंयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षमा मात्रै कम्पनीले ७३ करोड ३५ लाख नोक्सानी व्यहोरेको वित्तिय प्रतिवेदनले देखाउँछ । आव २०६५/६६ मा त झन यो कम्पनी करिब एक अर्ब नोक्सानीमा गएको थियो । बर्षेनी घाटामा गएको र पुर्व सम्झौता अनुसार सेवा समेत सञ्चालन गर्न नसकेको युटिएललाई गत भदौ २० गते दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि भारतीय लगानीको युटिएललाई युनिफाइड लाइसेन्स दिइनु आफैंमा संकास्पद रहेको आरोप लागिरहेको छ । पुरानो सेवा प्रभावकारी रुपमा सुचारु नगरेको र युनिफाइड लाइसेन्स अनुसार सेवा विस्तारको काम अघि नबढाएको भन्दै प्राधिकरणले प्रगति प्रतिवेदन मागेको छ । एक बर्षभित्र ४४ जिल्लामा सेवा विस्तार गर्ने भन्दै युनिफाइड लाइसेन्स लिएको कम्पनीले हालसम्म काम अघि बढाएको छैन । कम्पनीमा जम्मा २३ जना कर्मचारी मात्रै कार्यरत छन् । तीमध्ये प्राबिधिक २० र अप्राबिधिक ३ जना मात्रै छन् । कम्पनीको चुक्ता पुँजी भने दुई अर्ब १५ करोड रुपैया रहेको छ । गत आवमा कम्पनीले जम्मा नौ करोड ५९ लाख मात्रै कारोबार गरेको देखिन्छ । कम्पनीको ग्राहक संख्या पनि पाँच लाख ९८ हजार ८ सय ३६ मात्रै रहेको छ । युटिएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया तथा टाटा कम्युनिकेसनको समान २६ दशमलब ६६ प्रतिशत र नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर छ । ‘निरन्तर घाटामा रहेको र पुर्व सम्झौता अनुसार सेवा प्रवाह नगरेको तथा प्राबिधिक क्षमता समेत न्युन रहेको कम्पनीलाई राज्य कोषको त्यति मोटो रकम दिने कुराबारे छानविन हुन्छ’, समितिका ती कर्मचारीले भने ।

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’, एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम

काठमाडौं । देशकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानियवासीलाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो । एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो । टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए  । बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् । “राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रीड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्य लिई संचालन गरिएको यो प्रोजेक्टले अन्र्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधै कटिवद्घ रहेको छ भन्ने प्रमाण हो,” एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्स्ले भने । यो परियोजनामा एनसेल तथा स्थानिय लघुग्रीड संचालक घाम पावर नेपाल प्रा.लिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रशारण लाइन नपुगेका खोटाङ्ग तथा उदयपुर जिल्लाका समुदायहरुमा उर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । यसले स्थानिय तहमा नयाँ अवसरहरुको सिर्जना गरेको छ । यो आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरुमाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रीडहरुसँग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएकाले स्थानिय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको सिर्जना भएको छ । भरपर्दो मोबाइल सेवा तथा उर्जा आपुर्तिका कारण साना तथा मझौला उद्योगहरु जस्तै ईलेक्ट्रिक ग्राइन्ङिङ्ग मिल, कम्प्युटर सेन्टरहरु, रेस्टुरेन्ट र पेट्रोल पम्पहरु खुलेका छन् र स्थानिय स्तरमा नै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरुले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मटितेलका बत्तिहहरुले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबाट मुक्ति मिलेको छ । समाजमा विभिन्न योगदान पुर्याए वापत एनसेल गत वर्ष पनि अन्र्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स्’ विधामा जिएसएमएबाट  ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।

३ महिनामा फेसबुकको नाफा ३ अर्ब डलर, सेवा सुधार्न ३ हजार कर्मचारी थप्ने घोषणा

क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ। फेसबुकले भनेको छ , ‘प्रत्येक महिना सक्रिय फेसबुक प्रयोग गर्नेहरुको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ।’ यी मध्ये १ अर्ब ३० करोड व्यक्ति प्रत्येक दिन फेसबुकमा आउने गरेको उसको दाबी छ। सन् २०१७ को पहिलो ३ महिनामा फेसबुकको नाफा बढेर ३ अर्ब डलर पुगेको छ। यो गत वर्षकोभन्दा ७६ प्रतिशत वृद्धि हो। फेसबुकले विज्ञापनबाट हुने आम्दानी घट्ने प्रक्षेपण गरेको छ। फेसबुक पछिल्लो समय सामाजिक अपराधका कारण विवादित बनिरहँदा उसले विज्ञापनबाट गर्दै आएको कमाइ घट्ने अनुमान गरेको हो। बुधबार फेसबुक संस्थापक एवं सिइओ मार्क जुकेरबर्गले आपत्तिजनक एवं हिंसाका सामग्री रोक्न कडाइ गर्ने घोषणा गरे। उनले कन्टेन्ट मोडरेट गर्न ३ हजार कर्मचारी भर्ना गर्ने जानकारी दिए।