क्यान इन्फोटेक मेला चार लाखले अवलोकन गरे, रोबोट ब्याटल कम्पिटिसनमा सुरज पटवारी विजयी
काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन आइतबार मात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकनको व्यवस्था मिलाइएको थियो । त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको थियो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए । क्यान इन्फोटेक समापनपछि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताए । उनका अनुसार यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थिति रह्यो । ‘क्यान इन्फोटेक २०१९ को सफलता नै यसैमा निहित छ,’ उनले भने । मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्ड, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरालगायतमा अवलोकनकर्ताले विशेष रुचि देखाएका थिए । सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो । यसैबीच, क्यान इन्फोटेकमा बुधबारदेखि सुरु भई आइतबार सम्पन्न रोबोट ब्याटल कम्पिटिसनअन्तर्गत मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भएका छन् भने पवनदेव शर्मा उपविजेता बनेका छन् । त्यस्तै, कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा नै उपविजेता बन्न सफल भए । त्यसैगरी, अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसू, रविन पराजुली, सुशील श्रेष्ठ, सरोज गुराव विजयी भए भने सञ्जीव गोसाई, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाल र सागर खरेल उपविजेता बनेका छन् ।
अघि बढ्यो टेलिकमको फोरजी सेवा विस्तार, ६५ लाख जनतामा उच्च गतिको डाटा
काठमाडाैं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा देशभर विस्तार कार्यका लागि सम्झौता सम्पन्न भएको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क-यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । ¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा अन्य सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, सुबिधा यसरी लिन सकिन्छ
काठमाडौँ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असीमित कुराकानीको मजा लिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा(कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्नेछन् । यो भ्यालेनटाइन अफर यहि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुअरी महिना(माघ १८ देखि फागुन १६ गते) भर कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउने छन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।