ल्यान्डलाइनमै ब्रोडब्यान्ड इन्टरनेट र टेलिभिजन, फोन बहुउपयोगि बन्दै
काठमाडौं । कुराकानीका लागि मात्रै प्रयोग हुँदै आएको नेपाल टेलिकमको ल्यान्डलाइन फोनबाटै अब ब्रोडब्यान्ड इन्टरनेट प्रयोग पनि गर्न सकिने भएको छ। टेलिकमले पुरानो प्रविधिको पब्लिक स्विच्ड टेलिफोन नेटवर्क (पीएसटीएन) टेलिफोनको गुणस्तर अभिवृद्धि गर्ने योजनाअन्तर्गत पुराना उपकरणलाई इन्टरनेट प्रोटोकल (आईपी) प्रविधिले विस्थापित गर्न लागेको हो। यससँगै ल्यान्डलाइन फोनको तारबाटै इन्टरनेट ब्यान्डविथ पनि पठाउन सकिने व्यवस्था टेलिकमले गर्नेछ। टेलिकमले २५ वर्षअघिदेखि प्रयोगमा ल्याएको डिजिटल स्विचिङ उपकरणको ठाउँमा आईपी प्रविधिले प्रतिस्थापन गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउन लागेको हो। ल्यान्डलाइनमा टेलिफोनमा प्रयोग भइरहेको कपर तारलाई पनि फाइबरले विस्थापन गर्दैछौँ, टेलिकमका प्रवक्ता सोभन अधिकारीले भने। ब्रोडब्यान्ड इन्टरनेट प्रवाहका लागि फाइबर उपयुक्त मानिन्छ। टेलिकमको नयाँ योजनाअनुसार आईपी लाइनबाटै एडीएसएल इन्टरनेट प्रयोगकर्ताले पनि सहजै यसको प्रयोग गर्न सक्नेछन्। यसै योजनाअन्तर्गत टेलिकमले पहिलो पटक गत असार २३ गते ग्वार्कोस्थित ललितपुर एक्सचेञ्जमा पुराना स्विचिङ उपकरणलाई आईपीमा आधारित उपकरणले विस्थापन पनि गरिसकेको छ। टेलिकमले पहिलो चरणमा आगामी दुई महिनाभित्र एक लाख ३४ हजार पुराना स्विचिङ उपकरणलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ। त्यस्तै यसै आर्थिक वर्षभित्र चार लाख उपकरण आईपी प्रविधिमा रूपान्तरण गर्ने योजनामा रहेको टेलिकमले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर टेलिकमका ६ लाख ८० हजार पीएसटीएन ग्राहक रहेका छन्। आईपी प्रविधिमा रूपान्तरण भएपछि ग्राहकले आफ्नो आवश्यकताअनुसारको ब्यान्डविथमा इन्टरनेट प्रयोग गर्न सक्छन्, सहप्रवक्ता अधिकारीले भने। आईपीमा रूपान्तरण भएपछि विशेषगरी ल्यान्डलाइनको भ्वाइस र डाटाको गुणस्तरमा व्यापक सुधार आउने उनले जानकारी दिए। ल्यान्डलाइनबाटै टेलिभिजन लक्ष्यअनुसार टेलिकमले सबै आईपीमा रूपान्तरण भइसकेपछि ल्यान्डलाइन फोनबाटै अतिरिक्त सुविधा (भ्यालु एडेड सर्भिस) पनि ग्राहकलाई उपलब्ध गराउने जनाएको छ। समयअनुसार ल्यान्डलाइन फोनको उपयोगितालाई बढाउन नयाँ किसिमका सुविधा थप गर्न लागेको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्। उनका अनुसार ल्यान्डलाइनलाई नयाँ प्रविधिमा रूपान्तरण गरिसकेपछि इन्टरनेटमा आधारित टेलिभिजन (आईपी टीभी) को सुविधा ग्राहकले प्राप्त गर्न सक्नेछन्। अहिले पनि नेपालमा केही इन्टरनेट सेवा प्रदायकले आएपीटीभी सञ्चालनमा ल्याएका छन्। आईपी टेलिभिजन प्रयोगकर्ताले छुट्टै केवल अथवा डिजिटल च्यानल प्रसारकको सुविधा लिनुपर्दैन। त्यस्तै ग्राहकको मागअनुसारका भिडियो प्रसारण गर्न सकिने (भिडियो अन डिमान्ड) सुविधा पनि आईपीमा आधारित ल्यान्डलाइनबाट उपलब्ध गराइने उनले जानकारी दिइन्। वेबसाइटबाटै टेलिकमको डाटा प्याकेज नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि उपलब्ध गराएका डाटा प्याकेज कम्पनीको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ। टेलिकमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वेबसाइटमा जीएसएम वा सीडीएमका डाटा प्याकेज छनोट गरेर आफ्नो मोबाइल नम्बर र पीपीयूके नम्बर राख्नुपर्छ। यस्तो नम्बर १४१५ मा एसएमएस गरेर जानकारी लिन सकिने टेलिकमले जनाएको छ। वेबसाइटमा आवश्यक विवरण राखेर बाई डाटा प्याक क्लिक गरेपछि उक्त डाटा मोबाइलमा प्राप्त हुनेछ। गोरखापत्र दैनिकबाट ।
यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा, देशभर गम्भिर समस्या
काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ ।यसले गर्दा देशैभरका यातायात ब्यवस्था र्कालयहरुमा दैनिजसो समस्या आउने गरेको छ । फोकश वान नामक कम्पनीले एकाउन्टिङसम्बन्धी सबै जिममा लिए पनि उसले आफुले पाएको जिम्मेवारी पुरा नगर्दा यस्तो समस्या आएको हो । कारोबार दैनिकबाट ।
नेपाल-चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि शुरु हुने, तीव्रगतिको इन्टरनेट सेवा पुर्याउने
काठमाडौं । मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो । नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ भदौको पहिलो सातादेखि सञ्चालनमा आउन लागेको हो । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो । इन्टरनेट जोड्नका लागि नेपाल र चीनको सिमाना रसुवाको रसुवागढीसम्म नेपालले अप्टिकल फाइबर विस्तार गरिसकेको छ । “यताबाट रसुवागढीसम्म अप्टिकल फाइबर विस्तार भइसकेको छ, उता (चीन) बाट पनि सिमानासम्म आइसकेको थियो, एकपटक त जोडिसकेको थियो, एउटा परीक्षण पनि भइसकेको थियो, तर बीचमा समस्या आयो अब साउनको अन्तिम वा भदौको शुरुदेखि पुनः जोडिँदैछ” – नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने । सहप्रवक्ता अधिकारीका अनुसार चीनले जमिनमुनिबाट रसुवा सिमानासम्म अप्टिकल फाइबर विस्तार गर्दैगर्दा एक ठाउँमा फाइबर काटियो, त्यो काटिएको ठाउँमा हिउँ पर्यो र समस्या आयो, अब वैकल्पिक मार्गबाट पुनः छिट्टै जोडिँदै छ । चीनले करिब २० किमी वैकल्पिक बाटोबाट सिमानासम्म ल्याएर फाइबर जोड्दै छ । नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँचका लागि मित्रराष्ट्र चीनमार्फत ब्याण्डविथ कनेक्टिभिटीसम्बन्धी सम्झौता गरिएको निवर्तमान सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको कार्यकालमा सम्पादित मुख्य कार्यअन्तर्गत राखिएको छ । अहिले नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको छ । चीनसँग जोडिने इन्टरनेट पहिलोपटक हो । हङ्कङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट आएको हुँदा काटिन पनि सक्छ, सहप्रवक्ता अधिकारीले भने- “कहिलेकाहीँ विविध कारणले सेवा अवरुद्ध हुनसक्छ, त्यसैले जति धेरै ठाउँबाट इन्टरनेट जोडियो त्यति नै सेवा प्रवाह गर्न सजिलो हुने भएकाले चीनसँग सम्झौता गरिएको हो ।” सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एउटै स्थानबाट इन्टरनेट जोड्दा विभिन्न समस्या हुने भएकाले अर्को ठाउँ ९चीन० बाट पनि जोड्ने तयारी गरिएको बताए । प्रवक्ता ढकालले भने – “दुवै देशसँग नेपालको सम्बन्ध राम्रो छ, जहाँबाट ल्याए पनि किन्ने नै हो, अहिले चलिरहेको इन्टरनेटको अप्टिकल तारलाई भैरहवा, विराटनगर वा वीरगञ्जमा कहीँकतै काटिएको खण्डमा समस्या नहोस् भनेर नै सञ्चार मन्त्रालयको स्वीकृतिमा अहिले चीन सरकारसँगको सहकार्यमा इन्टरनेट ‘कनेक्सन’ गर्ने भनिएको हो ।” दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकारणले अप्टिकल फाइवर विस्तारलाई तीव्रता दिएको छ । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १ नं, २ नं र ३ नं प्रदेशका मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएअनुसार काम अघि बढेको टेलिकमको भनाइ छ । त्यसका लागि टेलिकमले रेडियो उपकरणको विज्ञापन निकालेर काम शुरु गरेको छ । त्यसबाहेक चाहिने अप्टिकल फाइवर, डप्टिङ, राउटरलगायत अन्य सामग्री जुटाउनुका साथै सर्भेको काम सकेर विज्ञापन गरिएको छ । टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइवर बिछ्याउनु पर्नेछ । त्यसका लागि दूरसञ्चार र टेलिकमबीच रु चार अर्ब ८८ करोडको सम्झौता भएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्ने निर्णय गरेको हो । नेपालमा पछिल्लोपटक इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ५३ लाख ८८ हजार पुगेको छ । गाउँगाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने प्राधिकरणको योजना छ । रासस