प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ । “नेपालका ७५३ वटै स्थानीय तह, सामुदायिक विद्यालय, सार्वजनिक अस्पताललगायत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा समेत ग्रामीण दूरसञ्चार कोषलाई उयोग गरी गुणस्तरीय टेलिफोन पुर्याउन समितिले निर्देशन दिए पनि उच्च गतिमा काम हुन नसकेपछि आज पुनः निर्देशन दिइएको छ”, समितिका सभापति रवीन्द्र अधिकारीले भने । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उद्देश्यले १, २ र ३ गरी तीन वटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको एक वर्ष भइसकेको छ । तर टेलिकमले सोचेअनुसारको काम गर्न नसकेको समितिको ठहर छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर विस्तारमा ढिलाइ भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकिएको र मुलुकका विभिन्न स्थानमा देखिएको टेलिकमको नेटवर्कको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्जाङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ । टेलिकमको कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ छ । त्यसैगरी टेलिकमको डाटा/इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । रासस
बिजुलीको बिल भुक्तानी अब एनएमबि बैंकको मोबाइल बैंकिङबाट
काठमाडौं । एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपाल विद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवा शुरु गरेको छ । अब एनएमबि बैंकका ग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम, एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन् । साथै, यस बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने बैंकका सिइओ सुनिल केसीले बताएका छन् । यस बैंकले लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधी प्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउँदै लगेको छ ।
दशैंको अवसरमा टेलिकमले दियाे ८ सेवामा विशेष छुट, हेरौँ कुन कुनमा केके दियो ?
काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उपलब्ध गराएको विशेष छुट निम्न प्रकारका छन् । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म ५०, १००, २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ । २. युट्युब डाटा प्याकेज: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ३. कम्बो प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने कम्पनीले जनाएको छ । ४. भ्वाइस प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ५.पोष्टपेड सेवामा बोनस: सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडिएसएल/एफटिटिएच/वाइम्याक्स अफर: असोज ११ गतेदेखि असोज १८ भित्र अनलिमिटेड र भोलुम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी असोज ११ देखि १८ गते भित्र एफटिटिएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिन कम्पनीले जनाएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने टेलिकमले जनाएको छ ।