एनसेलले थप्यो झण्डै ५०० थ्रिजी टावर, टावरको संख्या २,२१५ पुग्याे

काठमाडौं । एनसेलले एक वर्षको अबधिमा झण्डै ५०० टावर थप गरी आफ्नो थ्रिजी सेवा विस्तार गरेको छ । यसका साथै कम्पनीको कुल थ्रिजी मोवाइल टावरको संख्या २,२१५ पुगेको एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ । आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (जनवरी देखि जुन) को प्रतिवेदन अनुसार, एनसेलले जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधिमा थप ४८० वटा थ्रिजी टावर संचालनमा ल्याएको छ । एनसेलले थ्रिजी सेवा सात वर्ष अगाडी संचालनमा ल्याएको थियो र गत वर्ष जुन सम्ममा १,७३५ टावर जडान गरी सेवा प्रदान गरी रहेको थियो । कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पुर्वाधारले ग्राहकको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । पछिल्लो समयमा एनसेलले फोरजीलाई शहर र थ्रिजीलाई ग्रामिण र दुर्गम स्थानहरुमा व्यापक रुपमा विस्तार गर्ने बताउदै आएको छ । सरकारले प्रविधि तटस्थताको अनुमति दिए पछि एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी सन् २०१८ को अन्त्य सम्ममा देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउने बताएको छ । एनसेलले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार, कम्पनीको थ्रिजी सेवा ३० प्रतिशत भन्दा बढि जनताको पहुँचमा पुगिसकेको छ । आफुले पाएको प्रविधि तटस्थताको अनुमति अन्र्तगत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी इन्टरनेट सेवाको लाभ प्रदान गर्ने र यी लक्ष्यहरु प्राप्तिका लागि आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्धता जाहेर गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, एनसेलको कुल इन्टरनेट प्रयोगकर्ताको संख्या गत आर्थिक वर्षको अन्त्य सम्ममा ७४ लाख ७ हजार पुगेको छ । पछिल्लो केही वर्ष यता मोवाइलको प्रयोगकर्ता बढे सँगै, वायरलेस अर्थात मोवाइल इन्टरनेट सेवाको माग र खपत उल्लेख्य रुपमा बढेको छ । एनसेलका अनुसार, थ्रिजी सेवाको विस्तार पश्चात दुर दराजमा रहेको १,००० भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुग्नेछ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् जसले गर्दा देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान पुग्न गई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव देखिने आशा लिइएको छ । विश्व बैंकले गरको एक अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

टेलिकमको जिएसएम सेवा बाजुराको बाधु र बिच्छामा, ४ हजार घरधुरी लाभान्वित हुने

काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामि कार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी-रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । त्यसैगरी, बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् । बाजुराको सदरमुकाम मार्तडीबाट बाधु र बिच्छासम्म बिटिएसका सामान पु¥याउनका लागि कठिन भौगोलिक बनावटका कारण केही भागमा ट्रयाक्टर र भरियाको प्रयोग गरिएको थियो । सदरमुकाम मार्तडीबाट बाधु पुग्न करिब दुई दिन र बिच्छा पुग्न करिब चार दिन लाग्छ । सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई/तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको हो । आगामी केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ । हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप यी दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।

‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण

काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।