नेपाल टेलिकमको ‘स्प्रिङ अफर’, कति रुपैयाँमा कस्तो प्याक ?
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा २०७५ चैत ३० गते देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर ल्याइएको जनाइएको छ । स्प्रिङ अफरका प्याकेज यस्ता छन् : १. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा दश मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको छ । ३. डे डाटा प्याक डे डाटा प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने छ । ४. १ जीबी पर डे डाटा प्याक यस प्याक अन्तर्गत ४५ रुपैयाँमा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै २५० रुपैयाँमा ७ दिनका लागि ७ जीबी र ८५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । ५. नाइट डाटा प्याक नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि ९ रुपैयाँमा १२५ एमबी र ७ रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । ६. अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातका लागि १५ रुपैयाँमा र ७ रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याक अन्तर्गतको डाटा राती ११ बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ । ७. सोसियल मिडिया प्याक सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा १ दिन, ३० रुपैयाँमा १५० एमबी डाटा ३ दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुनेछ । ८. डाटा स्ट्रिमिङ प्याक डाटा स्ट्रिमिङ प्याक अन्तर्गत १२ रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपैयाँमा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपैयाँमा ९०० एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुने छ । ९. अल टाइम भ्वाइस प्याक अल टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँ देखि ५०० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत १४ मिनेट देखि ११०० मिनेट सम्मका भ्वाइस प्याक खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिन देखि ४२ दिन सम्म हुनेछ । भ्वाइस प्याकको रुपमा एक दिनका लागि १२ रुपैयाँको १४ मिनेट, ३ दिनका लागि ३० रुपैयाँको ४० मिनेट, ७ दिनका लागि ६० रुपैयाँको ७५ मिनेट, २८ दिनका लागि २४० रुपैयाँको ४९० मिनेट र ४२ दिनका लागि ५०० रुपैयाँको ११०० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा १ दिनका लागि ४० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि १९० मिनेटको इकोनोमी प्याक समेत उपलब्ध गराइएको छ । १०. नाइट टाइम भ्वाइस प्याक नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा १ रातका लागि ६० मिनेट, १५ रुपैयाँमा ३ रातका लागि १७० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३४० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । सो प्याक अन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र कल गर्न सकिने छ । ११. अनलिमिटेड नाइट भ्वाइस प्याक यस प्याक अन्तर्गत १२ रुपैयाँमा १ रातभर कम्पनीकै नेटवर्क भित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राती १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ । १२. डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । १३. एसएमएस प्याक एसएमएस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस उपलब्ध गराइने छ । त्यसैगरी १५ रुपैयाँमा ७ दिनसम्म ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म ३०० वटा एसएमएस गर्न सकिने छ । १४. एप डाउनलोड गर्दा निःशुल्क डाटा कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराइने छ । साथै पहिले देखि नै विन्टर अफरका रुपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सीयूजी प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
नयाँ वर्षमा टेलिकमको अफरः ‘२ सय रुपैयाँमा ३ जीबी टाडा, २ सय मिनेट भ्वाइस कल’
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर-२०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ सम्म खरिद गर्न सकिने छ ।प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
पब्जि खेलमाथी सरकारले लगायो प्रतिबन्ध
काठमाडौं । सरकारले पब्जि खेलमाथी प्रतिबन्ध लगाएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले पब्जि खेलमाथी बिहिबारदेखि नै लागु हुने गरि प्रतिबन्ध लगाएको प्रवक्ता मिन प्रसाद आर्यालले विकासन्युजलाई जानकारी दिए । प्राधिकरणले आजै सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जिमाथी प्रतिबन्ध लगाउन निर्देशन दिईसकेको छ । पब्जि खेलका कारण युवा तथा बालबालिकाहरुमा हिंसात्मक सोँच बढेकाले प्रतिबन्ध लगाईएको प्रवक्ता अर्यालले जानकारी दिए । प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार महानगररिय अपराध महाशाखाले पब्जिमाथी प्रतिबन्ध लगाउन पत्राचार गरेको थियो । त्यसकै आधारमा प्रतिबन्ध लगाईएको उनले जानकारी दिए । यस अघि भारत बिभिन्न राज्यहरुमा पब्जिमाथी प्रतिबन्ध लगाइएको थियो ।