अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने भएको छ । उक्त सेवाको लागि मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । साथै, साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक पाउने छन् । कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवालले अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताएका छन् । त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । साथै, साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्ने बताएका छन् । छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको आफ्नै मोबाइल एप्स, बिद्युत किन काटिँदैछ जानकारी पाइने

काठमाडौँ । तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी(एनइए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । प्राधिकरणले विकास गरेको उक्त एप्लिकेशनले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी सहजै दिनेछन् । हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ । एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्नेहुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको छ । यस्तै नो लाइट सेवाका नम्बरसमेत उपलब्ध भएको एप्लिकेशनमा उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्नेछन् । प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ । यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ । एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिनेछ । प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत उपलब्ध हुने गरी एप्लिकेशनमा उपलब्ध गराइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उपभोक्तालाई बढीभन्दा बढी सहज र सरलरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा थप सेवा थप्दै लैजाने योजनामा प्राधिकरण रहेको छ । सरल तरिकाबाट पनि उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिन सकिन्छ भन्ने ध्येयका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै प्राधिकरणले सोही एप्लिकेशनलाई थप परिमार्जन गरेर कति दिनमा लाइन काटिँदैछ भन्ने कुराको जानकारी समेत दिनेछ । यस्तै के कति परिमाणमा विद्युत् महसुल उठ्यो, कति दिनमा तिर्नुपर्छ भन्ने विषयको समेत जानकारी प्राप्त हुनेछ । त्यसैगरी प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत यथेष्ट जानकारी पाइने भएकाले सम्बन्धित कार्यालयको कार्य क्षमता तथा समस्या समाधानमा चालिएको कदमको बारेमा समेत सहजै सूचना प्राप्त हुनेछ । ग्राहकलाई सही र समयै जानकारी दिने लक्ष्यका साथ एप्लिकेशन सञ्चालनमा ल्याइएको बताउँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ‘सूचना प्रविधिको प्रयोग गरेर सहज सेवा प्रदान गर्न प्राधिकरण लागि परेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने सोचमा छौँ । रासस

नेपालकै सबैभन्दा ठुलो उद्यमशीलता सम्मेलन “नेक्स्ट ग्रोथ कन्क्लेभ २०१८” शनिबार हुँदै

काठमाडौं। नेपालमै व्यवसाय स्थापना गरी त्यसलाई विस्तार गर्न सोचमा रहेका उद्यमीहरुको सहयोगी हातको रुपमा रहेको ‘नेक्स्ट भेन्चर’ नेपालले तेस्रौ पटक नेपालकै सबैभन्दा ठुलो उधमसिलताको सम्मेलन ” नेक्स्ट ग्रोथ कन्क्लेभ-२०१८ ” यही डिसेम्बर २२ मा सोल्टी होटलमा आयोजना गर्दैछ । कार्यक्रम बिहान् ९ बजे देखी साँझ ६ बजे सम्म हुनेछ। नेक्स्ट ग्रोथ कन्क्लेभ सबैभन्दा महत्वपूर्ण सुरुवात, साना व्यवसाय, उधमी, लगानीकर्ता, मिडिया तथा अन्य कर्पोरेट कार्यकारी र ग्लोबल स्पिकरहरुको भेला हो। २०१६ मा सुरुवात गरिएको यस कार्यक्रमले २ बर्ष पार गरिसक्दा १५०० जना भन्दा बढी सहभागीहरु, ३३ ग्लोबल स्पिकर, ५५ कम्पनीहरुको उपस्थितीमा ३३ जना नयाँ उधमीहरुले आफ्नो व्यवसाय लन्च गरेका थिए। मिडियाको लागि मिडियाकक्ष र सम्भावित लगानीकर्ता र लगानी गर्ने कम्पनीहरुको लागि “इन्भेष्टर कक्ष” कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको छ जुन मिडिया प्रतिनिधिहरुलाई विशेष ध्यान दिएर बनाइरको छ। कार्यक्रमलाई अझै राम्रो बनाउने उदेश्यको साथ यस बर्ष कम्पनीले १२ ग्लोबल स्पिकरहरू ल्याई कम्तीमा पनि स्टार्टअप भ्यालीमा २४ वटा स्टार्टअप कम्पनीहरू र ४० भन्दा बढी लगानीकर्ताहरु “लगानीकर्ता लाउन्जमा” राख्ने भएको छ। कम्पनीको अनुसार उद्यमी, स्टार्टअप कम्पनीहरू, कार्यकारीहरू, मिडिया, लगानीकर्ताहरु र अन्य सरोकारवालाहरु सँगसँगै ल्याइने सम्भवत: यो पहिलो कार्यक्रम हुनेछ।