‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण
काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं र पोखराबाट स्मार्टसेलको फोरजी सेवा सुरु, एक सेकेण्डमा एक पैसामा कल सुविधा
काठमाडौं । स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको सेवा फोरजी सुरु गर्ने भएको छ । अर्को महिनादेखि व्यवसायीकरुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको स्मार्ट सेलले भोलीदेखि परिक्षणका लागि सफ्ट लञ्च गर्नेछ । नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै स्मार्टसेल ग्राहकले भोलि आइतबारबाट काठमाडौं उपत्यकाभित्र र पोखरामा यो सेवा लिन सक्नेछन् । ३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठुलो दुर सञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । ३ करोड सेयर पूँजी रहेको स्मार्टसेलको वार्षिक कारोबार ५० करोड रुपैयाँ रहेको छ । ‘फोरजीका लागि प्राविधिक तयारी पुरा भएको छ, यद्यपी प्राविधिक पक्ष भएकाले हामी यसलाई थप कहि समय परिक्षणका रुपमा सञ्चालनमा ल्याउछौं,’ स्मार्टसेलका प्रमुख प्रशासकीय अधिकृत सजीनराज भण्डारीले भने । केही समयपछि नेपालगञ्ज, चितवन र विरगञ्जमा पनि फोरजी पुर्याउने योजना सहित नेटवर्क परिक्षण गरिरहेको स्मार्टसेलले जानकारी दिएको छ । पाँच महिनाअघि स्मार्टसेलले फोरजीको इजाजत (लाइसेन्स) प्राप्त गरेको थियो । कम्पनीका अनुसार फोर जी सञ्चालनका लागि १० मेगाहर्ज प्रयोग गरिएको छ, जसले नेपालमा अहिलेसम्मकै तिव्रगती ७० मेगाहर्ज प्रति सेकेण्डसम्मको फोरजी दिनेछ । अफर पनि स्मार्टसेलका ग्राहकले प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निशुल्क कल गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् । स्मार्टसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ७ दिनमा ५०० एमबी डाटा ८५ रुपैयाँमा प्रदान गर्ने जनाएको छ । साथै १ दिनका लागि ७५ एमबी डाटा १५ रुपैयाँमा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
तिहार तथा छठको अवसरमा टेलिकमले दियो ८ सेवामा विशेष छुट, कुन कुनमा के के दियो?
काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट दिएको छ । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५० रुपैयाँ, १०० रुपैयाँ, २०० रुपैयाँ, ५०० रुपैयाँ र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी, १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । यो अफर २०७४ कात्तिक १ देखि ३ गतेसम्म रहने छ । २. युट्युब डाटा प्याक: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने कम्पनीले जनाएको छ । ३. कम्बो प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ४. भ्वाइस प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ५. पीएसटीएन/सीडीएमए फिक्स्ड फोनमा बोनस: पीएसटीएन/सीडीएमए फिक्स्ड फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडीएसएल/एफटीटीएच/वाईम्याक्स अफर: कात्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भोलुम बेसड एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप गरिएको छ । त्यसैगरी सोही अवधिमा एफटीटीएच/वाईम्याक्स अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिने व्यवस्था गरिएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ । कम्पनीले यस अघि दशैंको अवसरमा असोज ५ देखि १९ गतेसम्म पनि यस्तै प्रकारका विभिन्न अफर उपलब्ध गराएको थियो ।