नेपाल टेलिकमले ल्यायो पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर

काठमाडौँ । नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको हो । यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिन्छ । त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन् । यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ । यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ । यसैगरी संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित (जति पनि) कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयूजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ । त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ । त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ । यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । उपरोक्त सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरुलाई उपलब्ध हुनेछ । यसैगरी कम्पनीको भ्वाइस सेवा सहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । १५ एमबिपिएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ । त्यसैगरी २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ । एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको छ । छुटहरु ९० दिनसम्मका लागि लागू गरिएको छ साथै यसअघि स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका अन्य छुटहरुलाई निरन्तरता दिइएको नेपाल टेलिकमले जनाएको छ ।

साउन १ देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढ्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले साउन १ गतेदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत मूल्य बढाउने भएका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायकहरूका उपत्यकासहित देशका प्रमुख सहरमा ८ लाख बढी ग्राहक छन् । अघिल्लो वर्ष थपिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता हुने अपेक्षा थियो, इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले भने- ‘अब पनि मूल्य समायोजन गरेर बस्न सक्दैनौं, हामी वित्तीय रूपमा नाजुक अवस्थामा छौं ।’ उनले साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य बढाउने तयारी भएको बताए । अघिल्लो वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने उनले बताए । ‘अघिल्लो वर्ष भएको घाटा पनि उठ्ने गरी भाउ बढाउने तयारी छ,’ उनले भने । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएका थिए । दूरसञ्चार सेवा दस्तुर शीर्षकको यो शुल्क यो चालु आर्थिक वर्षअघि भ्वाइस सेवामा मात्रै लाग्थ्यो । मन्त्रालय र सेवा प्रदायकबीच गत साउन १० गते दूरसञ्चार सेवा शुल्क उपभोक्ताबाट नउठाउने सहमति भएको थियो । आर्थिक ऐनमा यस्ता शुल्क ग्राहकबाट सेवा प्रदायकले उठाएर राजस्व कार्यालयलाई प्रत्येक महिना बुझाउनुपर्ने व्यवस्था छ ।  

प्राकृतिक विपद् सम्बन्धी पूर्व जानकारीः टेलिकमले मोबाइलमा पठाउँछ सन्देश

काठमाडौँ । बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी दिन मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको हो । हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको जनाएको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।