ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, कसरी खोल्ने ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल विशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको हो । यस व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ । हालसम्म बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
सिटिजन्स बैंक र दोहा बैंकबीच विप्रेषण सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको दोहामा सम्पन्न उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले हस्ताक्षर गरेका हुन् । यस सम्झौता बमोजिम विभिन्न देशबाट दोहा बैंकको विप्रेषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको पैसा सरल र सहज रूपमा सिटिजन्स बैंकको जुनसुकै शाखाबाट लिन सकिने बैंकले जनाएको छ । कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौताले हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंकसँग मिलेर थप काम गर्न इक्छुक रहेको बताए । उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रेषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । हाल सिटिजन्स बैंकले ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।
अति दुर्गम १० स्थानमा टेलिकमकाे एनटीस्याट सेवा सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरुमा केही हप्ता अघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको थियो । ती मध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गते देखि सेवा सञ्चालनमा ल्याए पश्चात् १० वटै स्थानमा सेवा उपलब्ध भएको छ । यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् । उल्लिखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो । टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउने छन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने कम्पनीले जनाएको छ ।