अब बैंकमा गएर पैसा डिपोजिट गर्ने दिन सकिए, स्मार्टकार्ड नेपालले ल्याउँदैछ दुई स्मार्ट प्रडक्ट

रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको साहरामा भर्चुलअ सर्भिसको विजनेसमा लागेका छन् । स्मार्ट कार्ड नेपालमार्फत अब केही सातामै उनी स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट बजारमा ल्याउँदैछन् । संखुवासभा खाँदबारी घर भएका उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र दुबईबाट आईटी विषयमा प्रोफेसनल कोर्ष अध्ययन गरे । सानैदेखि सुचना प्रविधिमा रुचि भएका उनै दियालीसँग अब बजारमा आउन लागेको प्रडक्ट ‘स्मार्ट कार्ड र स्मार्ट वालेट’मा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बिकास बहस  गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएकाे बिकास बहस  : नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित र सहज बनाउन सुचना प्रविधीको अवस्था कस्तो छ ? वित्तीय क्षेत्रलाई अगाडि बढाउनका लागि सुचना प्रविधिको भूमिका एकदमै महत्वपूर्ण छ । पछिल्लो समय सुचना प्रविधिबिना वित्तीय क्षेत्र अगाडि बढाउन सम्भव नहुने अवस्था आइसकेको छ । सबैको पहुँचमा सुचना प्रविधि पुग्नु जरुरी पनि छ । सबै ठाउँमा आईटी मात्र पुगेर हुँदैन आम जनमानसमा वित्तीय चेतना हुन पनि आवश्यक छ । जब मानिसमा आइटीको चेतना हुन्छ तव उसले प्रबिधियुक्त वित्तीय कारोबार गर्न थाल्छ । उसले आफ्नो आर्थिक कारोबारलाई सहज ढंगले अघि बढाउन सक्छ । मैले स्मार्ट कार्ड नेपाल स्थापना गर्नुपर्छ, वित्तीय र आइटी सेक्टरलाई मध्यस्त गर्ने प्रणालीका रुपमा स्मार्ट कार्ड नेपाललाई विकास गर्नुपर्छ भन्ने यो मानसिकता र अवधारणा कसरी बनाउनु भयो ? हामीले आजभन्दा पाँच वर्ष अगाडि स्मार्ट कार्ड नेपालको स्थापना गरेका हौं । अब केही हप्तामा नै हाम्रो प्रडक्ट बजारमा लिएर आउँदैछौं । यो प्रडक्ट नेपालमा मात्र नभएर विश्वमा नै नयाँ प्रडक्डका रुपमा लिएर आउँदैछौं । स्मार्ट कार्ड नेपाल एउटा कम्पनी हो । हामीले ल्याउने प्रडक्ट प्रिपेड स्क्य्राच कार्ड हो । त्यो एनसेल र एनटीसीको रिचार्ज कार्ड जस्तै हुन्छ । उक्त कार्ड हामीले विभिन्न फाइनानसियल ट्रान्जेक्सनका लागि प्रयोग गर्छौं । म वाणिज्य क्षेत्रको मान्छे नभएपनि आइटी क्षेत्रको मान्छे हुँ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सिमित मानिसहरुको पहुँचमा मात्र वित्तीय क्षेत्रको पहुँच छ । बैंकिङ कारोबार गर्ने मान्छेहरुको संख्या अत्यन्तै कम छ । यो आर्थिक स्थिती र जनचेतनाको कमिले हो । अर्को के छ भने मान्छेहरु सँग पैसा भएपनि उनीहरुले बैकिङ कारोबार नगरेको अवस्था छ । यसको मुख्य समस्या बैकिङ पहुँच नपुग्नु हो । उनीहरुमा कारोबारको चेतना नहुनु पनि अर्को समस्या हो । त्यसले गर्दा मैले के सोचे भने कसरी सवै सर्वसाधारण सम्म वित्तीय पहुँच पु¥याउन सकिन्छ भनेर अनुसन्धान गरेँ । त्यस्तो खालको काम सिर्जना गरें । त्यहि अवधारणालाई खेलाउँदै यो खालको प्रडक्ट बनायो भने नेपालमा राम्रो हुन्छ भन्ने सोचेँ । सबै मानिसहरु वित्तीय पहुँचमा आउन सक्छन् भन्ने सोचेँ । यो कन्सेप्ट मैले २०७० सालमा बनाएँ । कन्सेप्ट बनाएसँगै यसलाई कसरी बजारमा जाने कुन निकायले यसलाई मनिटरीङ गर्छ भन्ने कुनै थाहा थिएन । त्यसपछि हामी नेपाल राष्ट्र बैंक समक्ष गयौं । अहिले हामीले राष्ट्र बैंकबाट लाइसेन्स पनि लिइसकेका छौं । मैले यो स्मार्ट कार्ड कन्सेप्ट ल्याउनुको मुख्य कारण भनेको मान्छेले बैंक खातामा भएको पैसा जसरी पनि मोविलाइज गर्छ । खातामा पैसा जम्मा गरेपछि र एटिएमबाट पैसा झिक्छ । अहिले विश्वमा धेरै खर्च गर्ने विकल्पहरु मात्र छन् । अहिले जन्मेका सबै सेवाहरुले खर्च गर्ने बाटो मात्र देखाइरहेका छन् । तर हामी त्यो भन्दा फरक किसिमका छौं । हामी डिपोजिट गर भनेर उत्प्रेरणा जगाउँछौं । हाम्रो स्क्य्राच कार्ड भन्ने वित्तिकै डिपोजिट गर्ने हो । हाम्रो कम्पनीले कार्ड प्रडक्ट गर्छ । बैंकले त्यसलाई भेरिफाई गर्छ । हामी विभिन्न नेटवर्क द्वारा मार्केटमा पठाउँछौं । बजारमा ग्राहकले त्यो कार्ड खरिद गर्छ र नेपाल भरि रहेका बैंक तथा वित्तीय संस्थाको खातामा त्यो कार्ड मार्फत डिपोजिट गर्न सक्छ । उसले आफ्नो क्यास बराबरको कार्ड किन्छ । त्यो कार्डलाई स्क्य्राच गरेर मोबाइल एप्लिकेसन मार्फत आफ्नो कुन बैंक हो, बैंक छनोट गर्छ । आफ्नो खाता नम्बर र नाम र त्यो रिचार्ज कार्डमा भएको पिन नम्बर राख्छ । त्यो प्रक्रियाबाट उसले आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सक्छ । गाउँघरमा सानो सानो आर्थिक कारोबारका पैसाहरु धेरै हुन्छन । खल्तीमा पाँच सय, हजार भएपनि त्यो हराउँन वा खर्चहुन सक्छ । तर यो कार्ड भयो भने सानो अमाउन्ट पनि बैकिङ च्यानलमा आउने भयो । त्यो सहज हुन्छ । मान्छेहरुले चाहेको रकम जम्मा गर्न सक्ने भए । यो २४ सै घण्टा सुचारु हुन्छ । यसको लागि शनिबार भएपनि फरक पर्दैन । अझ शहर क्षेत्रमा पनि मानिसहरुले हिडेर बैंकसम्म पुग्नु प¥यो । गाडीमा जानु प¥यो जाम हुन्छ । बैंकमा गएर पनि भौचर भर्नु प¥यो । धेरै समय लगाएर मान्छेले पैसा जम्मा गर्ने पालो पाउँछ । यो सबै झमेलाबाट मुक्त गराउन अब स्मार्ट कार्डको आवश्यकता हामीले महसुस ग¥यौं । अब प्रयोगकर्ताले बैंक सम्म पुग्नु पर्दैन । आफ्नो खाता वा साथीको खातामा उक्त कार्ड मार्फत तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । विश्व एक ‘ग्लोवल भिलेज’का रुपमा विकास भइसकेको अवस्था छ । आमसर्वसाधारण पनि सुचना प्रविधिमा रम्न थालि सकेका छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने अझैं धेरै मानिस आईटीको पहुँचमा छैनन् । नेपाल जस्तो पुरै आइटीमा विकास नभएको देशमा तपाईले ल्याएको अवधारणा कतिको सम्भव छ जस्तो लाग्छ ? यो सम्भव छ । विश्वको ट्रेण्ड हेर्ने हो नेपालका मानिसहरु मनोरञ्जन र सुचना प्रविधि ग्रहण गर्ने कुरामा अगाडि नै छन् । पछिल्लो समय नेपालीहरु आइटीमा छिट्टै नै अगाडि बढेको अवस्था छ । नेपालमा उत्पादन नभएपनि उपभोगका रुपमा अगाडि छन् । त्यसले गर्दा यो समय भनेको एकदम राम्रो हो । नेपालमा सत–प्रतिशत आइटी विकास गर्न पाँच दश वर्ष लाग्छ त्यसका लागि ग्रामिण क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नु प¥यो । सरकारी र प्राइभेट क्षेत्रबाट पहल गर्नु प¥यो । त्यसले गर्दा अझै समय लाग्छ । अहिले सुरु ग¥यो भने त्यो समयसम्मका लागि एकदमै राम्रो हुन्छ । ग्रामिण तथा बिकट क्षेत्रमा आइटीको पहुँच पनि हुँदैन त्यसैले विशेषगरि त्यस्ता ठाउँका लागि हामीले यो स्मार्ट कार्ड प्रविधि फोकस गरेका छौं । अहिले हामी आन्तरिक अभ्यासमा छाैं । तपाईले अब केही हप्तामै स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट लन्च गर्दैछौं भन्नुभयो । यो स्मार्ट कार्ड र स्मार्ट वालेट भनेको के हो ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ? स्मार्ट कार्ड र स्मार्ट वालेट हाम्रा दुईटा प्रडक्ट हुन् । स्मार्ट कार्ड भनेको प्रि–पेड स्क्य्राच कार्ड हो जुन मोबाइलको रिचार्ज कार्ड जस्तै हो । हामी त्यो रिचार्ज कार्डबाट बैंक खातामा पैसा जम्मा गर्न सक्छौं । मोबाइलको रिचार्ज कार्ड झैं हुने स्मार्ट रिचार्ज पेपरबेसमा रहेको छ । एउटै कार्डबाट विविध वित्तीय कारोबार गर्न मिल्ने रिचार्ज कार्ड बनाइएको छ । रिचार्ज कार्ड १ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार मूल्यमा रहेका छन् । स्मार्ट रिचार्ज कार्डहरु कम्पनीका डिस्ट्रिब्युटरमार्फत सहजै पाउने व्यवस्था रहेको छ । अब स्मार्ट वालेट भनेको डिजिटल पेमेण्ट गेटवे हो । हाम्रो आफ्नै स्मार्ट कार्डबाट फण्ड लोड गर्ने र स्मार्ट वालेट मार्फत मल्टिपल पेमेन्ट गर्न सकिन्छ । वालेटमा पैसा राख्ने हाम्रो आफ्नै रिचार्ज कार्ड हुन्छ । त्यसले गर्दा यो पनि एउटा सहज माध्यम बन्न सक्छ । स्मार्ट कार्डबाटै डोमिस्टिक रेमिटेन्स गर्न सकिन्छ । जस्तै काठमाडौंबाट पोखराको मान्छेलाई दश हजार पैसा पठाउनु प¥यो भने हामी रेमिटेन्स एजेन्सी कहाँ गइरहनु पर्दैन । पसलबाट १० हजार बराबरको रिचार्ज कार्ड किनेर त्यही रिचार्ज कार्डको पिन हामी पोखराको साथीलाई पठाउन सक्छौं । अनि उसले त्यो नम्बर लगेर स्मार्ट कार्डको डिलर वा कार्डसँग सम्बन्धित बैंकहरुको मा गएर पैसा झिक्न सक्छ । आईटीमा पूर्ण कन्भर्ट नभइसकेको नेपाल जस्तो देशमा तपाईले ल्याएका सेवा विस्तार गर्न के कतिको चुनौती देख्नुहुन्छ ? चुनौती त धेरै छन् । सर्वप्रथम त मानिसहरुलाई यो सम्बिन्ध बुझाउन गाह्रो छ । कसैले पनि झट्टै विश्वास गर्दैनन् । मैले यो कम्पनी स्थापना गर्ने समयमा पनि त्यस्ता समस्याहरु झेलि सकेका छु । सुरुमा त स्मार्ट कार्डबाट बैंकमा पैसा जम्मा गर्न सकिन्छ र भन्ने कसैले पनि विश्वास गरेनन् । जब मैले काम गर्दै गएँ । सिस्टमहरु बनाएँ । टेस्ट गरेर देखाएँ । बल्ल उनीहरुले विश्वास गरेर यो लेवल सम्म पुगेका छौं । अब अहिलेको समयमा त्यस्तो गाह्रो छैन । हामी सजिलै सँग काम गर्न सक्छौं । तपाई सोसाइटी डेभलपमेण्ट फाउण्डेसनको पनि संस्थापक हुनुहुन्छ । त्यो किन स्थापना गरियो ? त्यसको कार्यहरु के-के हुन् ? यो पनि नेपालको फरक किसिमको र एक नयाँ संस्था हो । यो एउटा गैर नाफामुलक कम्पनी हो । हामी कम्पनी रजिष्ट्रारमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध छौं त्यासैगरी आन्तरकि राजश्व कार्यालयमा पनि आवद्ध छौं । यो एउटा अनलाईन क्राउड फण्डिङ कम्पनी हो । मान्छेहरुलाई विभिन्न कार्यका लागि फण्डको आवश्यक हुन्छ । त्यो फण्ड मान्छेले कसरी जुटाउँछ त्यो एकदमै गाह्रो छ । विश्वमा क्राउडफण्डिङको अभ्यास धेरै पहिले देखिको हो । नेपालमा अहिले सम्म एक पनि क्राउडफण्डिङ प्लटफर्म छैन । यसको जरुरत नेपालमा पनि छ । त्यही भएर नेपालमा पनि हामीले यसको आवश्यकता महशुस गरेर गत साल स्थापना ग¥यौं । यसले मान्छेहरुलाई के समस्या छ । के कामका लागि पैसा चाहिएको हो । त्यसको बारेमा विस्तृत प्रजेक्ट प्रपोजल चाहिन्छ । त्यसको समाधानको बाटो के हुन्छ भनेर फोकस गरेर एउटा मुख्य प्रपोजल तयार बनाउनु पर्ने हुन्छ । त्यो प्रपोजल उनीहरुले हाम्रो अनलाइन प्लाटफर्ममा सबमिट गर्नुपर्ने हुन्छ । त्यो भइसकेपछि त्यो प्रोजेक्ट कतिको उचित छ भनेर हामीले भेरिफाई गर्छौं । त्यसपछि हामी त्यसलाई अनलाईन प्लेटफर्ममा लाइभ गर्छौं । त्यसपछि विश्वभरि रहेको डोनरहरुले उक्त प्रोजेक्टमा डोनेसन गर्छन् । त्यो सबै रकम पार्दर्शि हुन्छ । अहिले हामी त्यसको क्षेत्रमा काम गर्दै आएको छौं । तपाई जस्ता धेरै युवाहरू स्वदेशमै केही गर्न चाहन्छन् । त्यस्ता युवाहरुलाई तपाई कस्तो सल्लाह सुझाव दिनुहुन्छ । युवाहरु कसरी आत्मनिर्भर बन्न सक्छन् ? मेरो पनि आफ्नै संघर्षका पाटाहरु छन् । म आफैले पनि विदेशमा धेरै कुराहरु भोगेको छु । हामी नेपालीहरु जति विदेश गएर दु.ख गर्छौं । विदेश गएपछि मान्छेले दायाँबायाँ गर्नै पाउँदैन । ऊ काम गर्नै मात्र व्यस्त हुन्छ । नेपालमा पनि त्यसरी काम गर्नु प¥यो । कसैले पनि उसलाई अनुशासन सिकाउने हईन । उसले आफैले त्यो किसिमको वातावरण सिर्जना गर्न सक्नु प¥यो । अठोट लिएर काम गर्नु पर्छ । दोधारे भयो भने कहिल्यै पनि काम हुँदैन । एउटै लक्ष्य लिएर काम गर्नु प¥यो । निरन्तर काममा लागि रहनु प¥यो । तब मात्र मान्छेले लक्ष्य भेटाउन सक्छ । गरे नेपालमै प्रसस्त सम्भावनाहरु छन । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दो छ । यता सरकारले युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेको छ । युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न के गर्नु पर्ला जस्तो लाग्छ ? व्यक्तिले आफुले मात्र केही गर्छु भनेर हुँदैन । त्यसका लागि काम गर्ने वातावरण सिर्जना हुनु प¥यो । सरकारी क्षेत्रबाट पनि एक किसिमको सहानुभुति हुनु प¥यो । सरकारी क्षेत्रबाट प्रदान हुने विभिन्न सेवाहरु सरकारले दिलाउनु पर्ने हुन्छ । कतिपय अवस्थामा सरकारी निकायबाटै पाउनु पर्ने अनुदान, सहुलियतपूर्ण कर्जाका कुराहरुमा वास्तविक पाउनु पर्ने युवाहरुले पाएका हुँदैनन् । योजना आउँछ तर त्यो योजना युवाहरु सम्म आइपुग्दा तुही सकेको हुन्छ । त्यसले गर्दा पनि यो समस्या परिरहेको अवस्था छ । नपाउने मान्छेले पाएर अपचलन पनि भएको अवस्था छ । आगामी योजनाहरु के–के छन् ? सर्वप्रथम त मैले यि दुई ड्रिम प्रोजेक्ट सफल पार्नु पर्नेछ । यो राम्रो सँग चलाउनु छ । यो सफल भएपछि वित्तीय क्षेत्रमा नै एउटा ड्रिम प्रोजेक्ट छ । त्यसपछि म त्यसको काम गर्न थाल्छु ।

नेपाल टेलिकमले ल्यायो गिफ्ट प्याकेज, कसरी पाउन सकिन्छ ?

काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार , सम्बन्ध सदाबहार‘ गिफ्ट प्याकेज ल्याएको छ । ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने गरी सो सुविधा ल्याएको हो । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्न सर्वप्रथम नेपाल टेलिकमका ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ । यही एपमार्फत आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनेले एप खोली गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, रु.३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु.६० मा ७ दिनको १९० एमबी र रु.१०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । यसैगरी, यही एपको गिफ्ट प्याकेजमा गई भ्वाइस क्लिक गरी रु.२५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा रु.१ सय मात्र लाग्दछ । जम्मा रु.२४० मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ । साथै रु. ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उनीहरुकै मोबाइल व्यालेन्सबाट रकम काटिन्छ ।

टेलिकमद्वारा डोटीमा फोरजी सिमकार्ड निःशुल्क वितरण

डोटी । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्क रूपमा अति द्रुतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो । सो कार्यालयले सूचना प्रकाशित गरी मंगलकारदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् । फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने जनाएको छ । सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्क रूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताएका छन् । उनले भने, “सबैले फोरजी सेवा लिन पाऊन् भन्ने उद्देश्यले पहिलो चरणमा निःशुल्क रुपमा सिम वितरण गर्न थालेका छौँ ।” यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ । रासस