सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक
काठमाडौं । थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताएका छन् । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिने बताएका छन् । विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिने भएको छ । सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो । रासस
नेपाल टेलिकमले ल्यायो नयाँ एप, गुगल प्ले र एप्पल स्टोरबाट सेवा लिन सकिने
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमले जानकारी दिएको छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने भएको छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने भएको छ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सक्ने साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन जानकारी दिएको छ ।
ट्राफिककाे सिसिटिभी क्यामराले समात्याे २० हजार जना सवारी चालक, चालकलाई घरमा चिठी पठाएर कारवाही
काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ । विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताए । “उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही सङ्ख्या बढाएका हौँ”, उनले भने । साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ । चालकलाई घरमा चिठी पठाएर कारवाही महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ । विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४/७५ मा ५५१ र आव २०७५/७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो । महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ । आव २०७४/७५ मा एक हजार २५३ र आव २०७५/७६ मा ७०५ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउछन् । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ । ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ ।