नेपालकाे २५ जिल्लामा टेलिकमको एफटीटीएच सेवा, मुलुकभर विस्तार गर्ने तयारी

काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । त्यसैगरी गोंगबु कार्यालय अन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेञ्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ । छाउनी कार्यालय अन्तर्गत कालिमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकाप अन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डा देखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, वागदरबार र टेकु तथा हात्तिगौडा अन्तर्गत बसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजिक, सुकेधारा र धुम्बाराही नजिक क्षेत्रमा यो सेवा उपलब्ध छ । बबरमहल कार्यालय अन्तर्गत अल्फा बिटा नजिक, बीआईसीसीको उत्तर, ह्वाइट हाउस नजिक र भेनस हस्पिटलको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी(गोठाटार) अन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोक नजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा यो सेवा उपलब्ध छ । ललितपुर जिल्लामा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटीटीएच सेवा वितरण भइरहेको छ । सैंबु अन्तर्गत संैबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालय अन्तर्गत बखुन्डोल नजिक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठैब कार्यालय अन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाईटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटीटीएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुर अन्तर्गत जितपुर र नगरकोट तथा ठिमी अन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजिकै, क्याबिनेट २५मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ । कास्कीको पोखरा तथा पार्दी क्षेत्रमा हल्लन चोक, जरेबर र लेक साइडमा यो सेवा लिन सकिन्छ । रुपन्देहीको भैरहवास्थित अन्चलपुर, मिलनचोक र एक्सचेन्ज चोक, मंगलापुरस्थित पारामाउन्ट चोक, नयाँ मिल एरिया, एनटी एक्सचेन्ज क्षेत्र र भक्तपुर चोक एरिया, बुटवलस्थित महेन्द्र चोक, ट्राफिक चोक र अमरपथ तथा सूर्यपुरामा यो सेवा उपलब्ध छ । काभ्रेको बनेपा कार्यालय नजिक यो सेवा उपलब्ध छ । त्यसैगरी दाङको घोराही, बागलुङको बागलुङ बजार, बाँकेको नेपालगन्जस्थित भृकुटीनगर, बसपार्क, कारकान्दो अन्तर्गत नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, धम्बोझी क्षेत्र, राँझा एयरपोर्ट, कोहलपुर र शिव मन्दिरमा यो सेवा उपलब्ध छ । चितवनको सौराहास्थित हात्तिचोक र बछौली चोक, भरतपुर क्षेत्र, टाँडी चोक, प्रहरी कार्यालय र दूरसञ्चार मोडमा यो सेवा उपलब्ध छ । मकवानपुरको हेटौंडास्थित वस्तीपुर, हेटौडा टेलिकम कार्यालय नजिकको क्षेत्र, बुद्धचोक, ओमभवन र चौकी टोल ओरालोमा यो सेवा उपलब्ध छ । मोरङको विराटनगरस्थित जलजला चोक, धनकुटाको त्रिवेणी चोक र हाइवे, धनुषाको जनकपुरस्थित शिवचोक, भानुचोक, महाविर चोक, मुरली चोक र प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । झापाको दमकस्थित नाइट बस स्टप र विर्तामोडस्थित मुक्ति चोक र बस स्टपको पश्चिम क्षेत्रमा यो सेवा लिन सकिन्छ । त्यसैगरी कैलालीको धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । कन्चनपुरको महेन्द्रनगरस्थित बजार लाइन तथा म्याग्दीको बेनी बजार र बेनी एक्सचेन्ज तथा नवलपरासीको बर्दघाटस्थित बाढीपीडित क्षेत्र र क्याविनेट २ क्षेत्रमा यो सेवा उपलब्ध छ । पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध छ । सिन्धुपाल्चोकको तातोपानी ड्राइपोर्ट एरिया, सोलुखुम्बुको लुक्लास्थित चौरीखर्क, सुर्खेतको बजार नजिक १९ क्याबिनेट र वीरेन्द्र चोकमा यो सुविधा उपलब्ध छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीब्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्राण्डिङ गरेको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । हालसम्म कम्पनीका यस सेवाका ग्राहक संख्या १५ हजार ८ सय रहेको छ ।

कार्डबाट हुने सबै बैंकिङ् कारोबार सुरक्षित हुने, एनआईसी एशियाले ल्याउँदै छ नयाँ स्वीच प्रविधि

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । उक्त स्वीच प्रविधि प्रयोगमा ल्याउन बैंकले एसटुएम (सोसाइटी माघ्रेबिनी डी मोनिटिक्यू लि.) मोरक्कोसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने इकमर्श कारोबार सहज रुपमा गर्न सकिने छ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रविधियुक्त पथमा लम्किएकी सुकीर्ति, जसले ल्याउँदैछिन् नेपालमा ‘पार्क इजी’ सिस्टम

काठमाडौं । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ अथवा भनौं जब मान्छेमा केही गर्ने इच्छाशक्ति हुन्छ न उसलाई कसैले रोक्न सक्छ नत छेक्ननै । उसको काम सफल होस् वा असफल तर उसको काम गर्ने दृढ चाहनाले भने उसलाई निरन्तर काममा उत्प्रेरित गर्छ । उसले आफ्नो काम गर्ने पाटो र बाटो पृथक रोज्छ पनि ।  त्यस्तै केही पृथक केही नयाँ र प्रविधियुक्त काम गर्न रुचाउने महिला उद्यमी हुन् काठमाडौं थापाथलीकी सुकीर्ति शर्मा । समाजमा बसेर केही पृथक काम गर्ने चाहना सुकीर्तिको सानै उमेर देखिको हो । वि.सं.२०४२ साल जन्मिएकी उनी सानैदेखि घरकी प्यारी थिइन् । हुने विरुवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि नै कक्षाकोठामा जेहेनदार विद्यार्थी भनेर चिनिन्थिन् । बुवा पाइलट भएकै कारण उनलाई पनि पाइलट बन्ने इच्छा नभएको होइन । तर, उनको पेन्टिङ तथा ड्रइङप्रतिको रुचीले उनलाई अर्कै बाटोतर्फ मोड्यो । उनका बुवा आफ्नै काममा व्यस्त हुन्थे तर , त्यहि माहोलमा पनि उनको पढाइ गज्जवको थियो । उनले वि.स २०५८ सालमा राम्रै अंकका साथ एसएलसी पनि पास गरिन् । घरमा छोरीले राम्रै अंकका साथ एसएलसी परिक्षा उत्तीण गरेसँगै खुसियाली छायो ।  आइएस्सी विश्व निकेतनमा बढ्न शुरु गरेसँगै घरमा विवाहको कुरा चल्न थालेको थियो । ‘म सानैदेखि ड्रइङमा रुचि राख्थेँ’ उनी भन्छन्, मलाई इञ्जिनियर पढ्ने उत्कर्ष जागी सकेको थियो ।’ सुकीर्तिले दुईवर्षे आइएस्सी पनि राम्रै अंकका साथ पास गरिन् । उनलाई अब १८ वर्ष लाग्यो । घरमा उनको विवाहको कुरा चल्न थाल्यो । बुबा र आमाले विवाहको गर्न ल्याउनु भएसँगै सो कुरा टार्न नसकि विवाह गरिन् । १८ वर्षको उमेरमा विवाह कलिलो उमेर । भर्खर १८ वर्ष पुगेकी सुकीर्तिलाई विवाहको प्रस्ताव आयो । अवस्था अनुसारको व्यवस्थामा रमेको समाजको अगाडि उनले त्यो प्रस्तावलाई नकार्न सकिनन् । पाइलट पढेका उनका बुवाले त्यही समाजका अगाडि छोरीको ढिलो विवाह गर्छु भन्ने शाहस निकाल्न सकेनन् । ‘उमेरले परिपक्क थिएनँ, आमाले विवाह गर्नुपर्छ भन्नुभयो, विवाह गरेँ ।’ उनको सहमतिसँगै २०६० सालमा उनको श्रवण खनालसँग विवाह भयो । विवाह गरेपछि पढ्नु हुन्न भन्ने मानसिकता आम मानिसहरुमा व्याप्त थियो त्यति बेला । त्यो उनको जीवनमा पनि लागु भयो । उनले विवाह गरेसँगै अध्ययन पनि रोकियो । ‘विवाह भएको एक वर्षपछि अब त केही गर्नु पर्छ भन्ने कुरा महशुस भयो’, उनले भनिन्, त्यसपछि म काठमाडौं इन्जिनियरिङ्ग कलेजमा सिभिल इन्जिनियरिङ्ग पढ्न शुरु गरेँ,घरका अन्यले कुनै मतलब गरेनन् तर श्रीमानको सल्लाह बमोजिम अध्ययनमा निरन्तरता दिएँ ।’ एउटा घर सुन्दर र सम्वृद्ध बनाउनका लागि महिलाको हात अपरिहार्य हुन्छ भन्ने भनाई आम जगतले गुनगुनाउँदै आएको छ । हो त्यस्तै, सुकीर्तिले पनि आफ्नो अध्ययन सँसगै घरको काम र जिम्मेवारी कहिल्यै भुलिनन् । निर्माण व्यवसायको यात्रा सुकीर्तिका श्रीमानको पृष्ठभूमी निर्माण व्यवसाय क्षेत्रको रहेको थियो । घरका अन्य सदस्यहरु निर्माण क्षेत्रमै काम गर्ने भएकै कारण उनले पनि काममा सघाउन सुरु गरिन् । बिहान कलेज सकेर दिउँसो निर्माण क्षेत्रमा हेर्न जाने उनको दैनिकी पनि सुरु भयो । इञ्जिनियरीङ पढ्दै गरेकी उनले काममा जाने मौका पाएसँगै केही सहजता पनि भयो । उनलाई आफ्नो पढाइको साथसाथै प्रयोगात्मक रुपमा आफुलाई स्थापित गर्न सहज वातावरण सिर्जना भयो । निर्माण क्षेत्रमा लामाे समयदेखि व्यवसाय गर्दै आएका उनका ससुराबुबा माधव खनाललाई समेत उनले सहयोग गर्न थालिन् । हाल एमके निर्माण सेवाले काम गर्दै आएको पनि ४० वर्ष भइसकेको छ । समयलाई व्यवस्थापन गर्दै प्रयोगात्मक कामका रुपमा काम गर्दै गएको उनी बताउँछिन् । जब उनको इन्जिनियरिङ्ग पनि सकियो, पढाइ सकेको तीन महिनापछि उनले इन्जिनियरिङ्ग परामर्शदाताको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकमा काम शुरु गरिन् । जागिरभन्दा पनि आफैले केही व्यवसाय गरेर काम दिने उनको चाहना सानैदेखिको थियाे । ‘साथीहरु विदेशमा सेटल थिए’ उनले भनिन्, मलाई विदेश जाने रहर कहिल्यै जागेन, बरु आफ्नै केही व्यवसाय स्थापना गरेर त्यसैमा काम गर्ने योजना बनाएँ’। त्यससँगै उनले ३४ वर्षको उमेरमा एउटा कम्पनी स्थापना गरेकाे उनी बताउँछिन् । आफ्नै वि बिल्ड कम्पनी स्थापना उनले २०७४ सालमा वि बिल्ड कम्पनी स्थापना गरिन् । कम्पनी स्थापना गरेसँगै उनले विभिन्न भवनहरुको डिजाइनिङ र पुर्ननिर्माणको काम पनि सुरु गरिन् । नेपालको अधिकांश सरकारी तथा नीजि क्षेत्रमा कामको क्षमता भन्दा पनि आफ्नो मान्छेलाई राख्ने प्रवृतिका कारण पनि आफ्नै निर्माण कम्पनी राख्ने योजना बनाएको उनी बताउँछिन् । काम गर्दै जाँदा उनले धेरै अनुभवहरु बटुलिन् । धेरै व्यवसायीहरुसँग उनको घुलमिल भयो । निर्माणको क्षेत्रमा उनले धेरै ज्ञान र जानकारी हासिल गरिन् । नियमित रुपमा उक्त वी बिल्ड कम्पनीमा करिब एक सय जनाको संख्यामा श्रमिक रहेका छन् भने ५ जना इन्जिनियरले काम गर्दै आएका छन् । ‘वि बिल्ड’ ले भवन निर्माणको काम गर्दै आएको छ । हाल सुकीर्ति नयाँ प्रविधियुक्त पार्किङ सेवा काठमाडाैंमा स्थापित गर्ने तयारीमा छिन् । अब सुकीर्तिको कम्पनी वि बिल्डमार्फत नेपालमा पनि बहुतले पार्किङ (पार्किङ इजी) बनाउने भएको छ । ‘अब काठमाडौंमा पार्किङ व्यवस्थित हुनेछ’, मेरो प्रयासले देशले नयाँ पार्किङको सेवा लिनेछ ।’ के हो पार्क इजी ? सरल तरिकाले पार्किङ गर्न सकिने प्रविधियुक्त प्रणाली नै पार्क इजी हो । पार्क इजी सिमित ठाउँमा धेरै गाडी अटाउने गरी तलातलाको निर्माण गरिएको हुन्छ । स्टिलबाट बन्ने यस्तो पार्किङ एउटा लटमा दुईवटा मात्र गाडी अटाउने क्षेत्रफलमा तलातला गरी १२, १६ वा २० वटा सम्म पार्क गर्न सकिने संरचना तयार गरिन्छ । यो विश्वमा प्रख्यात पार्किङ प्रणाली हो । यस्ता स्टिल संरचनाको आयु ५० वर्ष भन्दा पनि बढी हुने उनी बताउँछिन् । चिनियाँ कम्पनी लुथाइडासँग मिलेर उनले यो प्रविधि नेपालमा भित्र्याउन लागेकी हुन् । लुइडा त्यहि कम्पनी हो जसले लामो समयदेखि मेक्सीको इरान, थाइल्याण्ड, सिंगापुर, साउदी अरेबिया, जिब्राल्टार, रुस, पोल्याण्ड, कोरिया, चीनमा बहुतले पार्किङ प्रणाली विकास गर्दै आएको छ । उनी आफै नै जमिन लिजमा लिएर पार्किङ सिस्टम निर्माणको तयारी गरिरहेकी छन् । पार्किङमा एउटा गाडी अट्ने युनिट तयार पार्न १० हजार डलर लागत लाग्ने उनी बताउँछिन् । सुरुमा यो प्रणाली खर्चिलो भएपनि दिर्घकालिन रुपमा नाफामूलक हुन्छ । उनले हाललाई १२ देखि १६ तला सम्मको भर्टिकल पार्किङ बनाउने स्वीकृति पाएकी छिन् । महिला उद्यमीका लागि निर्माण क्षेत्रमा चुनौती समाजमा छोरीले केहि गर्नै सक्दैनन् घरको कामका लागि मात्र हो भन्ने मानसिकता भएकाहरुका लागि सुकीर्ति एक उदाहरण बनेकी छन् । सफलताको पछाडि तितो यर्थाथता लुकिरहेको हुन्छ । यो त्यहि यर्थाथ जिन्दगीलाई पार गर्दै आज एक सफल निर्माण व्यवसायीको रुपमा उनी स्थापित भएकी छन् । कार्यक्षेत्रमा केटीले पनि याे काम गर्न सक्छन् र भन्ने जस्ता कुरा आउनुका साथै सम्मप्रति ठेस पुराउने प्रवृत्ति रहेकाे छ । हरेक क्षेत्रला ठूलो निर्णय गर्दा जानकारी नदिने, आफ्नो दक्षताप्रति तल्लो स्तरका व्यक्तिले प्रश्न उठाउने जस्ता कार्यहरु हुने गर्दछन् । खास त निर्माण सम्बन्ध सम्झौता गर्नलाई पनि हिचकिचाउने खालको संस्कार अधिकं मात्रा रहेको छ । यतिमात्र नभई महिला उद्यमीको कार्यशैलीप्रति महिलाले नै खुट्टा तान्ने प्रवृति रहेको छ । अझै महिला उद्यमीको कुरा गर्दै गर्दा दशकौंसम्म हेपिनु पर्ने अवस्था रहेको हुँदा महिलाले एकआपसमा सम्मान गरेर अगाडी बढ्दा उत्तम उनको बुझाइ छ । सार्क चेम्बरमा केन्द्रिय सदस्यका रुपमा सक्रिय शर्मा पछिल्लो समय नेपाल महिला उद्यमी महासंघमा पनि आवद्ध छिन् । देशमा आफ्नो लगनशिलता प्रस्तुत गरी आगामी दिनमा भवन निर्माणदेखि व्यवस्थित पार्किङ्गका लागि एवंम महिलाका हक अधिकार र कामप्रति समानता ल्याउने उनको प्रयास जारीे छ ।