नेपाली स्याट-१ आकाशमा छाडियो, स्वतन्त्र रुपमा पृथ्वीको कक्षमा परिक्रमा गर्ने
काठमाडौँ । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट-१ लाई सोमबार अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । डेढ महिनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूूउपग्रहले पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको हो । उक्त भूउपग्रहले पहिलो चरण भूटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनियर मिलनकुमार न्यौपानेले जानकारी दिए । “पृथ्वीको ४०० किलोमिटर माथि आइएसएसमा पाँच जना अन्तरिक्ष यात्री बसी उक्त भूउपग्रह आज आकाशमा छाडिएका हुन्”, न्यौपानेले भने, “अमेरिकाका दुई, रसियाका दुई र क्यानाडाका एक जना व्यक्तिलाई आइएसएसमा सो कामका लागि खटाइएको थियो ।” सो भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्वको रहनाका साथै यसमा छ वटा ब्याट्री जडित भएकाले सो सूर्यबाट चल्ने र फालेको परिधिभन्दा बाहिर भूउपग्रह गएमा बढी जोखिममा पर्ने सम्भावना हुने बताइएको छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । यसबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनियर रोशन पाण्डेले जानकारी दिए । सो अवसरमा हाल जापान भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जापानको क्युटेक र सो परियोजनामा कार्यरत जापानका सम्पूर्णलगायत नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । मन्त्री पोखरेलले भने, “नेपालको झण्डा र नाष्टको लोगो अङ्कित सो भूउपग्रहले नेपालको गरिमा बढाउँदै अघि बढेकोे छ ।” सो मन्त्रालयका सचिव कृष्णराज बिसीले नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय रहेको बताए । उनले भने, “जापानले भविष्यमा नेपाललाई विज्ञान र प्रविधिको अन्य क्षेत्रमा सहयोग गर्ने आशा बोकेको छु ।” नाष्टको कार्यालयमा नेपालका लागि जापानी राजदूत मटासमिची साइगोले ‘वर्ड–३’ परियोजनाका कारण नेपाल र जापानको सम्बन्धमा थप सुधार भएको जानकारी दिए । साइगोले भने, “सोमबार आकाशमा छाडिएको नेपाली स्याट–१ ले अन्य भूउपग्रह निर्र्माण गर्न हामीलाई प्रेरणा दिने विश्वास बोकेको छु ।” जापानमा संयुक्त रुपमा एकैपटक निर्माण गरिएको अन्य भूउपग्रहमध्ये श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘युवुसु’ नामकरण गरिएका छन् । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गर्न सहयोग गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । “यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्म हुनेछ”, ढुङ्गेलले भने, “नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।” सो भूउपग्रहले एकपटक पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले भने, “सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।” विश्वमा लगभग ४० हजार भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने कार्यक्रममा बताइएको छ । नेपालले पहिलोपटक प्रक्षेपण गरेको सो भूउपग्रहले नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको बताइएको छ । वास्तवमा भूउपग्रहले सबै काम गर्न सक्छ । तर यो भूउपग्रह न्यानो स्याटलाइट भएकाले वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययन र अनुसन्धानमा जोड पुग्ने नाष्टका प्रविधि सङ्काय प्रमुख ढकालले बताए । नाष्टले आफ्नै कार्यालयको स्रोता गण कक्षबाट सोमबार अपराह्न १२ः३० बजेपछि सो भूउपग्रहको प्रत्यक्ष प्रसारण गरेको थियो । जापानका तीन जना विज्ञ नाष्टको कार्यालयमा सो कामका लागि उपस्थित भएर सबैमा ऊर्जा भरेका थिए । रासस
शिक्षामन्त्री जाक्साको सम्मेलनमा
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी भएका छन्। शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी भएक नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । उनले भने, “नेपाली स्याट–१ बारे जानकारी लिन गत शनिबार उनीहरु जापान प्रस्थान गरेका थिए । सम्मेलन सकिएपछि आउँदो बुधबार उनीहरु नेपाल फर्कने भएका छन् । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महिनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले साेमबारदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । उनले भने, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसकेका छन् ।” साेमबार बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ । रासस
काभ्रेपलाञ्चोकको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेठ ३२ गते काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरेका छन् । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पु¥याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए । उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुर्याएर महत्वपूर्ण सहयात्री बनिरहेको पनि बताए । सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरुलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको बताए । नव शहरका रुपमा विकास भइरहेको सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पु¥याउने प्रयासको नमूना भएको पनि उल्लेख गरे । कार्यक्रममा एक्सचेञ्च रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरुको माग बमोजिम नेपाल टेलिकमले एक महिनामै १ सय २८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरे । काभ्रेको सदरमुकाम धुलिखेलबाट करिव २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको सो वस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महशुस गरेको स्थानीय वासिन्दा बिदुर बानियाँले बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले एक्सचेञ्जको तत्कालको क्षमता १ सय २८ लाइनको भए तापनि आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गर्न सकिने बताए । सो अवसरमा काठमाडौ क्षेत्रीय निर्देशनालयका निमित्त निर्देशक राजेश उप्रेतीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो ।