सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विहीबार सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । “आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमतिप्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने कुनै पनि कार्य गर्न नरोक्नु, रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा र अवरोध नगर्नु, नगराउनु”, आदेशमा भनिएको छ । त्यसैगरी आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने खरीद, जडान तथा सो सम्बन्धमा आवश्यकपर्ने थप लगानीका लागि निवेदक (सिजी टेलिकम)लाई आवश्यकताअनुसार अनुमति दिनु दिलाउनुसमेत भनिएको छ । आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यकपर्ने अन्य सेवाप्रदायकसरह समान हक स्थापित गर्नसमेत आवश्यक फ्रिक्वेन्सी वितरण गर्नसमेत अदालतले आदेशमा उल्लेख गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा नभएको उल्लेख गर्दै सेवा सञ्चालन गर्ने अनुमति दिएको थिएन ।
अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने
काठमाडौं । अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने भएको छ । उक्त सेवाको लागि मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । साथै, साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक पाउने छन् । कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवालले अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताएका छन् । त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । साथै, साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्ने बताएका छन् । छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको आफ्नै मोबाइल एप्स, बिद्युत किन काटिँदैछ जानकारी पाइने
काठमाडौँ । तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी(एनइए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । प्राधिकरणले विकास गरेको उक्त एप्लिकेशनले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी सहजै दिनेछन् । हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ । एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्नेहुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको छ । यस्तै नो लाइट सेवाका नम्बरसमेत उपलब्ध भएको एप्लिकेशनमा उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्नेछन् । प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ । यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ । एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिनेछ । प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत उपलब्ध हुने गरी एप्लिकेशनमा उपलब्ध गराइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उपभोक्तालाई बढीभन्दा बढी सहज र सरलरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा थप सेवा थप्दै लैजाने योजनामा प्राधिकरण रहेको छ । सरल तरिकाबाट पनि उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिन सकिन्छ भन्ने ध्येयका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै प्राधिकरणले सोही एप्लिकेशनलाई थप परिमार्जन गरेर कति दिनमा लाइन काटिँदैछ भन्ने कुराको जानकारी समेत दिनेछ । यस्तै के कति परिमाणमा विद्युत् महसुल उठ्यो, कति दिनमा तिर्नुपर्छ भन्ने विषयको समेत जानकारी प्राप्त हुनेछ । त्यसैगरी प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत यथेष्ट जानकारी पाइने भएकाले सम्बन्धित कार्यालयको कार्य क्षमता तथा समस्या समाधानमा चालिएको कदमको बारेमा समेत सहजै सूचना प्राप्त हुनेछ । ग्राहकलाई सही र समयै जानकारी दिने लक्ष्यका साथ एप्लिकेशन सञ्चालनमा ल्याइएको बताउँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ‘सूचना प्रविधिको प्रयोग गरेर सहज सेवा प्रदान गर्न प्राधिकरण लागि परेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने सोचमा छौँ । रासस