क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० गतेसम्म हुने
काठमाडौँ । कम्प्युटर एशोसियशन नेपाल महासंघ(क्यान महासंघ) को आयोजनामा माघ १५ देखि २० गतेसम्म क्यान इन्फोटेक २०१९ हुने भएको छ । क्यान महासंघले आज पत्रकार सम्मेलन मार्फत क्यान इन्फोटेक आयोजना सम्बन्धी जानकारी गराएको हो । काठमाडौँको भृकुटी मण्डपमा माघ १५ देखि २० गतेसम्म ६ दिन हुने मेलालाई सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोशियशन विथ इ–सेवा नाम दिइएको छ । नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको आयोजकले बताए । मेलामा प्रत्येक ३–३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ । सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कूल १७५ वटा स्टल रहने छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र बिधार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट हुने क्यान महासंघका महासचिव रञ्जीतकुमार पोदारले बताए ।
टेलिकमका प्रबन्ध निर्देशकले सम्हाले कार्यभार, यस्ता रहेछन् सुधारका योजना
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । अधिकारीलाई सरकारले पुस १९ गते ३ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे । उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान पनि गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने स्पष्ट पनि पारेका छन् । उनले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए । त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनले तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरे । उनले २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत हुन् ।
एप्पलले एकै दिनमा ७५ अर्ब डलर गुमायाे, व्यापार युद्ध मुख्य कारण
काठमाडाैं । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएकाे छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्। सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो। अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ। वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन। एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ। पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे। कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो। बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, “अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।” एप्पल अब चौथो ठूलो कम्पनी चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको जानकारी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो। अमेरिकाले चिनियाँ सामानमा कर वृद्धिसहित प्रतिराेधात्मक कदम चालेपछि चीनका उपभाेक्ताले अमेरिकी सामान नकारात्मक सूचिमा राखेका छन् केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो। तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके। अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्। तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ। अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ। त्यसैले डेव ली भन्छन्, “यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ।” बीबीसीमा अाधारित