पूर्वाधार निर्माणमा टेलिकमः ६६ जिल्लामा फोरजी पुग्यो, २ हजार आधुनिक टावर थप्दै

काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । सेवा विस्तारका लागि आवश्यक पर्ने आधुनिक टावर निर्माणलाई उच्च प्राथमिकतामा राखेको टेलिकमको भनाइ छ । टेलिकमले ४ हजार आधुनिक र हलुका टावर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यही प्रक्रिया अनुसार अहिलेसम्म २ हजार टावर निर्माण गरिसकिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘सेवा विस्तारको लागि ४ हजार वटा आधुनिक र हलुका टावर निर्माणको योजना छ, यसमध्ये २ हजार टावर निर्माण भइसक्यो, थप २ हजार बनाइसक्न काम गरिरहेका छौं,’ सहप्रवक्ता भण्डारीले विकासन्युजसँग भने । एउटा टावर बिस्तार गर्दा (ग्राउण्ड बेस्ड टावर) जडान गर्न करीब ६० लाख रुपैयाँ लाग्ने टेलिकमले जानकारी दिएको छ । ग्राउन्ड बेस्ड टावर बनाउनु नपरेको अवस्थामा भने केही सस्तो हुने गर्छ । शहरी क्षेत्रमा घर भाडामा लिएर त्यस्ता घरको छतमा (रुफटप) टावर बनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा भने एन्टेना, माइक्रो वेब राख्नु पर्ने तथा लामो दूरीमा समेत कभर गर्नु पर्ने भएकाले टावर जडानको रकम हेरफेर हुने गर्छ । टेलिकमले रेडियोनेटवर्क प्लानिङ अनुसार काम गर्दै आएको छ । शहरी क्षेत्रमा अग्ला घर निर्माण भइ रहेकाले सोही अनुसार ठूला टावरहरु जडान गर्न थालिएको छ । यस्तै, फोरजी बिस्तार, मध्य पहाडी लोकमार्गमा फाइबर राख्ने काम आफ्नो मुख्य काम रहेको टेलिकमको भनाई छ । टेलिकमले आगामी दिनमा आफ्नो पहुँच बाहिर रहेका ग्राहकहरुलाई समेत समेटदै अघि बढेको बताएको छ । चालु आर्थिक वर्षको सुरुमै नै फोरजी सेवा बिस्तार गर्ने लक्ष्य टेलिकमको थियो । सो सेवा बिस्तार तीव्र गतिमा अघि बढेको टेलिकमको भनाइ छ । हाल टेलिकमको फोरजी सेवा देशका विभिन्न ६६ जिल्लामा पुगेको छ ।

मेडिसिटी अस्पतालमा पिआईसियू सञ्चालनमा, बालबालिकाको उपचारमा थप टेवा पुग्ने

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पिआइसियुुको बुधबार उद्घाटन गरिएको छ । सातै दिन २४सै घण्टा सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको उद्घाटन अस्पतालका चिकित्सकहरुले गरेका हुन् । अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार पिआईसियुको धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराएका छन् । बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले जनाएका छन् । माघ ८ गते बुधबारबाट शुभारम्भ भएको पिआइसियुुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ ल्याएको छ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट संचालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्नेछन् । नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १ सयमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्नेछन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउने छन् । यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् । पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २ सय ९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्नेछन् । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १ हजार ४ सय ७० मा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित रु २ हजार ८ सय ८८ मा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् । पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।