जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने
काठमाडौं । जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ । विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो । उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए । त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी नियुक्त
काठमाडौं । रेडियो कान्तिपुरको स्टेशन म्यानेजरमा संचारकर्मी दिनेश डिसी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरी डिसीलाई उक्त पदमा नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागि स्थान खाली भएको थियो । स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आबद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् । केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत थिए । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत छन् । कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए । रेडियोको दुनियाँमा कान्तिपुरलाई पहिलो स्थानमा अडाइराखेका डिसीले दर्शकको चाहना र प्रविधिको गुणस्तरमा सम्झौता नगर्ने डिसीको भनाई छ ।
वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता
काठमाडौं । वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाइँ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा रहेको थियो । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ । कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्ट आईपीएस र विभिन्न बैंकिङ च्यानलहरुबाट यी भुक्तानीहरु गर्न सक्नेछन् । प्रारम्भिक रुपमा प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ति बुझाउनुपर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन । साथै, पछिल्लो तहमा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परीक्षण शुल्क, कम्पनी नवीकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाइन मार्फत भुक्तानी गर्न सकिने छ ।