इक्यान र क्यानबीच भेटवार्ता, सहकार्यमा सम्बन्ध विस्तार गरिने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान) का पदाधिकारीहरुबीच भेटवार्ता सम्पन्न भएको छ । इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिति र क्यानका अध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो । भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानबीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्नका लागि प्रस्ताव गरेका थिए । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सूचना सञ्चार तथा प्रविधिको महत्वबारे चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रको विकासका लागि आईसिटीको भूमिका महत्वपूर्ण हुने बताए । क्यानले लामो समयदेखि सूचना सञ्चार र प्रविधिको क्षेत्रमा गरेको कामका प्रसंशा गर्दै आगामी दिनमा मुलुकमा आईसिटी साक्षरता बढाउनका लागि भूमिका खेल्नुपर्ने बताएका थिए । शैक्षिक परामर्शको संघ इक्यान र क्यान मिलेर दुबै संस्थाको हितका लागि सहकार्य गरी अगाडि बढ्नुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिए । क्यान सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुका महासंघ हो भने इक्यान शैक्षिक परामर्श व्यवसायी संघहरुको सबैभन्दा पुरानो र ठूलो संघ हो । भेटमा इक्यानका तर्फबाट अध्यक्ष पाण्डेसहित उपाध्यक्षहरु देविदास भट्टराई र कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु भवनाथ हुमागाई, आशिक कार्की र पुष्पराज भट्टराई थिए ।

नेपाल टेलिकमको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको र एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए । उनले गएको १ वर्ष नेपाल टेलिकमको लागि निकै महत्वपूर्ण र चुनौतिपूर्ण रहेकाे बताए । उनले हालसम्म देशका २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान भै ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकिएको बताए । उनले नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक महिनाको मीस रिपाेर्ट अनुसार कम्पनीको बजार हिस्सा भ्वाइस सेवा तर्फ ५५ पुगेको बताए ।

विरोध गर्ने कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश: बेलुका भोज खान त आउनुहुन्छ हाेला नि ! उतै हेरौंला

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा गफ भएको भन्दै विरोध जनाएका कारण उनी कर्मचारीप्रति आक्रोशित बनेका हुन् । ‘मैले फोरजीको कुरा गर्दा मन्त्रीले फोस्रो कुरा गर्यो भन्थे, तर अहिले करिब फोरजीको काम सकिएको छ, सबै दंग छन,’उनले भने । उनले विरोध गरिरहेका कर्मचारीलाई व्यङ्य गर्दै बेलुकामा भोजमा आउनु हुन्छ, उतै हेरौंला भन्ने कटाक्ष गरे । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै उनले रचनात्मक सुझावहरु ग्रहण गरिने तर राजनीतिका लागि राजनीति सह्य हुन नसक्ने सुनाए । कर्मचारीप्रति आक्रोशित हुँदै उनले सबैलाई अनुशासित हुन सुझाव दिए । अनुशासन र नियममा रहनुस्, अन्यथा यसको हिसाब किताब राखिनेछ, चुनौती सम्झिए चुनौती सम्झिनुस् म पराजित गर्छु’, उनले भने । असन्तुष्ट कर्मचारीलाई उनले के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो भन्ने प्रश्न गरे । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृद्धि विकासलाई प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमै आफ्ना मागसहितको प्ले कार्ड देखाएर विरोध जनाएका छन् । यस्तै कार्यक्रममा उनले टेलिकमलाई गोरखकाली टायर र टिम्बर कर्पाेरेसन जस्तो घाटामा जान नदिने बताएका छन् । ‘सरकारले हात हालेको सबै क्षेत्र घाटामा नै जान्छ भन्ने हुँदैन, सरकारले टेलिकमलाई कान्छो छोराछोरी सरह माया गरेको छ, यतिखेर यसको नाफा हुन्छ,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।