अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स, १० वर्ष नपुगी नवीकरण गर्नु नपर्ने

काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन-२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उनले भने, “मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।” चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ । सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । रासस

नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार सिम निःशुल्क वितरण

काठमाडौं । दूर संचार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको रोजाई बढ्दै गएको हो । नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ भने फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदाएक पनि हो ।

डोटी जिल्लाभरि फोरजी सेवा विस्तार, सम्पूर्ण तयारी अन्तिम चरणमा

डाेटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा केही हप्ता पहिले फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले पछिल्लो समय जिल्लाभरिमा विस्तार गर्न लागेको हो । फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमको राजपुर कार्यालयले जिल्लाका विभिन्न स्थानमा राखिएका टेलिकमका बिटिएस टावरमा फोरजी सेवाका उपकरण जडानको कामलाई तीव्रता दिएको छ । जिल्लाभरिमा फोरजी सेवा विस्तारका लागि टेलिकमले बिटिएस टावर जडान गर्न थालेको छ । यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिकाका विभिन्न स्थानमा पहिलो चरणमा फोरजी एर्लटी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार उक्त गाउँपालिकाको रावतकट्टे, सिलिङ्गीबाग, भाडी, गड्सेरा, खतेडालगायतका ठाउँमा एकैसाथ उक्त सेवा सुचारु गरिएको हो । टेलिकमले यसअघि बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा सञ्चालन गरे पनि पछिल्लो समय जिल्लामा सबै स्थानीयतहमा यो सेवा विस्तार गरिरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । उनले भने, ‘हामीले जिल्लाका शहरी क्षेत्रसँगै स्थानीय तहमा पनि फोरजी सेवा विस्तार गरिरहेका छौँ, क्रमिक रुपमा जिल्लाभरिमै फोरजी सेवा विस्तार हुनेछ ।’ टेलिकमले पहिलो चरणमा जिल्लाको जोरायल गाउँपालिकाको प्रमुख स्थानमा फोरजी सेवा शुरु गरेपछि अहिले त्यहाँका स्थानीयवासी निकै खुशी भएको स्थानीयवासी तथा युवा नेता चित्रराज भट्टले बताए । उनले भने, ‘टेलिकमले फोरजी सेवा सञ्चालन गरेर राम्रो काम गरेको छ, फोरजी सेवा विस्तार भएपछि स्थानीयलाई विभिन्न सन्देशमूलक समाचार पढ्न र हेर्न सजलो भएको छ ।’ अन्य इन्टरनेटभन्दा फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले अनुमान गरेको छ । यो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक इन्द्रबहादुर कठायतले बताएका छन् । जिल्लाका अन्य मुख्य शहर पिपल्ला, राजपुर, सिलगढी, कुल्पातेमा टेलिकमले दशैँ अगाडि फोरजी सेवा विस्तार गरे पनि जोरायलमा भने अहिले आएर आफ्नो फोरजी सेवा विस्तार गरेको हो । त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा फोरजी सेवा विस्तारको लागि तयारी गरिरहेको जनाएको छ । सुदूरपश्चिममा अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडान हुने कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए । अन्य इन्टरनेट सेवाभन्दा फोरजी सेवा छिटो र छरितो भएकाले यसको सेवा शुल्कमा केही वृद्धि हुनसक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । गाउँपालिकामा फोरजी सेवा विस्तार भएपछि अहिले गाउँपालिकामा भएका सूचनालगायतका समाचारमूलक खबर आदानप्रदान गर्नमा निकै सहुलियत भएको जोरायल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृच तेजबहादुर खत्रीले बताए ।रासस