बढ्दाे साइबर अपराधलाई न्यूनीकरण गर्न सचेतना अभियानलाई राखियाे प्राथमिकतामा
चिप्लेढुङ्गा । सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक अपराध बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसको न्यूनीकरणका लागि साइबर अपराधसम्बन्धी सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखेको छ । समुदाय साझेदारी अभियानअन्तर्गत १२ वटा विषयलाई प्राथमिकतमा राखेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले साइबर अपराधलाई दोस्रो नम्बरको प्राथमिकतामा राखेको हो । लागुऔषध पहिलो र साइबर अपराधलाई दोस्रो नम्बरमा राखेर अभियानलाई तीव्रता दिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए। यसैगरी, सडक सुरक्षा एवं सवारी सचेतना, लैङ्गिक सचेतना, मानव बेचबिखनलगायत १२ विषयलाई प्राथमिकतामा राखेर अभियान नै सञ्चालन गरिएको उनले बताएका छन् । प्रहरी प्रमुख कार्कीले महिनामा झण्डै ४५/५० वटा उजुरी जिप्रकामा आउने गरेको छ । तीमध्ये अधिकांश लागुऔषध र साइबर अपराधसँग सम्बन्धित रहेको जानकारी दिए। उनले भने, “अधिकांश फेसबुक म्यासेन्जरबाट गालीगलौज, डर धम्की, सेक्सुयल ह्यारासमेण्ट, राम्रो सम्बन्ध रहँदा गोप्य च्याट सम्बन्ध बिग्रिएपछि बाहिर ल्याइदिने भन्दै गरिने ब्लाकमेलिङ गर्ने गरेकोलगायत विषयमा उजुरी आउने गरेको छ ।” नेपालमा काठमाडौँबाहेक अन्यत्र साइबर अपराध सम्बन्धीे मुद्दा दर्ता गर्न नमिल्ने र साइबर अपराध जाँच्ने डिजिटल फरेन्सिक पनि नभएकाले यससम्बन्धी मुद्दा काठमाडौँ अदालतमा मात्र दर्ता गरिने बताइएको छ । कास्कीमा आएका उजुरीलाई गहिरो अनुसन्धान र पर्याप्त प्रमाणलाई हेरेर मुद्दा चलाइने पनि उनले बताए । प्रहरी प्रमुख कार्कीका अनुसार आव २०७६/७७ मा आधा दर्जन मुद्दा यहाँबाट काठमाडौँ अदालतमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले अभियानलाई प्रभावकारी बनाउन समुदायको साझेदारीमा हरेक वडा, टोल, पालिका, महानगर, जिल्लामा समिति बनाएर सचेतना अभियान सञ्चालन गरिएको बताए । प्रत्येक महिना ३० भन्दाबढी स्कूल कलेजमा यो अभियान सञ्चालन गर्दै आएको र अहिलेसम्म ७ सय भन्दा बढी कक्षामा यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । अभियानका कारण आम नागरिक सचेत भएपछि पछिल्लो समयमा यस सम्बन्धी उजुरी दिनेको सङ्ख्या पनि बढ्दै गएको उनले जानकारी दिए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसको उपयोगभन्दा दुरुपयोग हुँदै गएको सन्दर्भमा स्कूल कलेजका विद्यार्थीलाई यसबाट कसरी जोगिनेका साथै यसको दुरुपयोग गर्दा हुने कानूनी सजायको बारेमा कार्यक्रम गर्दै आएको बताए। भट्टराईले सेवा केन्द्रको आफ्नो क्षेत्राअधिकारभित्र पर्ने स्कूलमा यो अभियानका कार्यक्रम गरिएको जानकारी दिए । रासस
अब टेलिकमको डाटा प्रतिएमबी ५ पैसामै चलाउन सकिने
काठमाडाैं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहितका हुन् । लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट*1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।
अमेजन र फ्ल्पिकार्डलाई छोड्दै एप्पल कम्पनी, अब भारतमा आफैले अनलाइनबाटै बिक्री गर्ने
काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो । कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन बिक्री र अर्को वर्ष आधिकारीक रिटेल स्टोरको स्थापना गर्ने रणनीति लिएकाे छ । सन् २०२१ मा मोबाइल फोन निर्माता एप्पलले आफ्ना उत्पादनहरुको प्रत्यक्ष बिक्रीका लागि आधिकारीक बिक्री केन्द्रको स्थापना गर्न लागेकाे हाे । प्रसिद्ध अमेरिकी मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री निर्माता यस कम्पनीले हालै सेयरधनीहरुसँगको वार्षिक बैठकको क्रममा सो निर्णय सार्वजनिक गरेको हो । भौतिक बिक्री केन्द्रको स्थापना हुनु अघि नै कम्पनीले यसै वर्षको अगष्ट-सेप्टेम्बरदेखि भारतमा अनलाईनमार्फत आफैले बिक्री शुरु गर्ने कम्पनीका सीइओ टिम क्रुकले बताएका छन् । ‘स्थानीय साझेदारसँग साझेदारी नगरी हामी आफैले सामाग्री बिक्री गर्ने हो भने सोका लागि हामीलाई भारतीय सरकारको विशेष स्वीकृति चाहिन्छ,’ सीइओ क्रुकले बैठकमा भने, ‘तर म चाहन्न कि हाम्रो ब्राण्ड कोहि अरुले बेचोस्, न त हामी कसैको राम्रो साझेदार नै बन्न सक्छाैं ।’ अनलाइन बिक्रीको सुरुवात उद्घाटन गर्ने र सोहि बेला आधिकारीक बिक्री केन्द्र स्थापनाको लागि भारतीय सरकारसँग विशेष अनुमति लिने उदेश्यका साथ आउँदो जुलाइदेखि सेप्टेम्बरसम्मको अवधीमा क्रुकले भारतको भ्रमण गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ‘भारत बजारमा रहेका सम्भावना र अवसरहरुबारे म पूर्णरुपमा विश्वस्त छु’, क्रुकको भनाइलाई ऐजेन्सीहरुले उदृद गर्दै भनेका छन्, ‘यहाँको बजारको चलायमानता र भारतीय जनसंख्याको उपभोगको ढाँचा अन्यको भन्दा बिल्कुलै फरक छ ।’ यसै वर्षको दोश्रो छ महिनाभित्र संसारको दोश्रो ठूलो मोबाइल फोन बजार भारतमा पहिलो रिटेल स्टोर खोल्ने योजना बनाएता पनि स्टोर स्थापनाका लागि आवश्यक सामाग्रीको आपूर्तिमा व्यवधान आएको भन्दै सो उद्देश्य अर्को वर्षमात्रै हासिल हुने कम्पनीले केहि समय अघि बताएको थियो । कम्पनीले मुम्बइस्थित म्याक्सिटी मलको तीन तल्ला भाडामा लिइसकेको जसमध्ये पहिलो तल्लामा अनुभव केन्द्र (एक्सपेरियन्स सेण्टर), दोश्रो तल्लामा खुद्रा बिक्री केन्द्र र तेश्रो तल्लामा सेवा केन्द्र राख्ने योजना भएको ऐजेन्सीहरुले उल्लेख गरेका छन । बीबीसीको एक रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपअघि देखि नै चीनमा एप्पलका उत्पादनहरुको बिक्री घटिरहेकाले कम्पनीले भारतजस्तो वैकल्पिक उदयीमान बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाउने रणनीति लिएको छ । त्यसो त कोरोना भाइरसको प्रकोपको कारण आफ्नो विश्वब्यापी व्यापारमा ठुलो धक्का लाग्ने र चालू त्रैमासिकको कुल कमाइको प्रक्षेपण हासिल नहुने एप्पलले स्पष्ट पारिसकेको छ । चीनस्थित उसका विभिन्न सामाग्रीहरुको पाटपूर्जा तथा सहायता हिस्साको उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा एप्पलको विश्वब्यापी आपूर्ति चक्र प्रभावित बनेको छ । २०१९ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रेमासिकमा एप्पलले भारत र ब्राजिलमा दुई अंकको बृद्धि हासिल गरेको थियो । सो अवधिमा भारतमा मात्रै करिब नौ लाख २५ हजारवटा आइफोनको बिक्री भएको थियो । कम्पनीले भारतबाट हुने आफ्ना सामाग्रीहरुको उत्पादनलाई पनि वृद्धि गरेको छ । भारत र छिमेकी बजारको मागलाई सम्बोधन गर्न र आफ्नो उत्पादनको उपलब्धतालाई सहज बनाउन एप्पलले गत वर्षदेखि भारतबाट उत्पादन थालेको छ । आक्रामक मूल्य र सुदृढ वितरण प्रणाली लगायतका रणनीतिको कारण एप्पलका उत्पादनहरुले भारतीय बजारमा ठूलो हिस्सा लिने विश्वास गरिएको छ ।