टेलिकमले परिवर्तन गर्यो रिङ व्याक टोन, दिन थाल्याे यस्ताे सन्देश
काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ । हाल नोबेल कोरोना भाइरस(कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट उक्त टोन परिवर्तन गरेको हो । सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् । यसैगरी कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकवर्गमा आह्वान गर्दछ । सो अनुसार कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गर्दछ । भुक्तानीका वैकल्पिक उपायहरु निम्न रहेका छन्ः (१) रिचार्ज कार्ड, (२) इलेक्ट्रोनिक भुक्तानी (एमपोस), (३) कम्पनीको वेबसाइट www.ntc.net.np तथा मोबाइल एप्लिकेसन, (४) ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बैंकिङ र (५) कुनैपनि बैंकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने । उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा/इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गर्दछ । मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा संभव भएसम्म सबै प्रयासहरु जारी राख्ने व्यहोरा पनि ग्राहकवर्गलाई अनुरोध गर्दछ ।
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो । शुक्रबार बिहान ११ः०० बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न जनाएको छ । अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो । अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुनेहुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै शुक्रबारका लागि पूर्ण बैठक तय गरको हो । शुक्रबारका लागि सम्पूर्ण मुद्दाको सुनुवाइ बन्द गर्ने भएको छ । रासस
टेलिकमले ल्यायो ‘एनटी सूचनाको संसार’ सेवा, ३२१०० नम्बर डायल गरी कोरोनाबारे निःशुल्क सुन्न सकिने
काठमाडौं । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । उक्त सेवामार्फत टेलिकमले कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो । उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ । नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।