चीनको ‘बिआरआई’ परियाेजनाबाट नेपालले लाभ लिन्छः अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन । यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ । हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ ।” चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । उनले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गरेका छन् । बिआरआईबारे नेपालका सबै दलको समान मत रहनु समृद्धिका लागि सकारात्मक सङ्केत भएको भन्दै उनले नेपालको गुणात्मक र चौतर्फी राष्ट्रिय विकास र बिआरआईका सन्दर्भमा आफू प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि चीन र भारतको भ्रमणका क्रममा दुवै देशबाट नेपालले सहकार्यको लाभ लिनुपर्ने र त्रिदेशीय साझेदारीको रणनीति तयार गर्नुपर्नेमा जोड दिएको स्मरण गराएका छन् । अध्यक्ष दाहालको भनाइ थियो, “एक्काइसौँ शताब्दीमा चेतना, सूचना प्रविधि र भौतिक क्षेत्रमा भएको विकासको चापले नयाँ ढङ्गले प्रभावित गरेको छ । यसमा तालमेल मिलाउनुपर्छ । सरकार, पार्टी, बुद्धिजीवी र आम जनता मिलेर सामना गर्न सक्दा गुणात्मक ढङ्गले राष्ट्रको चौतर्फी विकास हुन्छ । संवेग र आवेगले होइन विवेकले नेतृत्व गरोस्, जनताका हितमा विकास निर्माण हुन सकोस् । यसमा सबै दल एक ठाउँमा उभिनुपर्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताए । उनले तिनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बिआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको अवगत गराएका छन् । यसका केही मूलभूत मान्यताले यो साझेदारीमा विश्वको ध्यान आकर्षित गरेको र यो मानवहितका लागि भएको बताए । यसमा कुनै पनि देशको सार्वभौमिकताका आधारमा हुने छनोटको योजनालाई सहयोग हुने र लगानीका लागि कुनै बाध्यकारी ढाँचा नभएकाले नेपालले आफ्ना योजनाको छनोट गरेर कार्यान्वयनको ढाँचाका लागि तयारी गरिरहेको उनले जानकारी दिएका छन् । मन्त्री ज्ञवालीले सीमापार हिमालयन परियोजनाअन्तर्गत अरनिको राजमार्ग, किमाथाङ्का नाका, स्याँब्रुबेँसी करिडोर, ट्रान्समिशन लाइन विस्तार, हवाई सेवाको सम्झौता आदि कामको तयारी भइरहेको जानकारी दिएका छन् । नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बिआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका छन् । सङ्गठनका अध्यक्ष डा. दिनेश देवकोटाले सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा बुद्धिजीवीले आफ्नो स्थानबाट साथ दिने जनाउँदै गोष्ठीबाट प्राप्त सुझाव सरकार र पार्टी नेतृत्वलाई बुझाइने जानकारी दिएका हुन् । रासस
भायनेटको नयाँ अफर ‘दशैँ तिहार टीभीको उपहार’
काठमाडौं । भायनेट कम्युनिकेसन्सले भदौ २६ गतेदेखि दशैँ र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशैँ तिहार टीभीको उपहार” नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टीभीकोसाथ स्काईवर्थको ३२ र ४० इन्च टीभी भारी छुटमा प्राप्त गर्न सक्ने छन् । इन्टरनेट र टीभीको ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काईवर्थ एलईडी टीभी घरमै लैजान सकिने छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टीभी सेवा सुचारु गरेको छ ।
महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ सम्पन्न
काठमाडौं । महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघ/संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल इन्फरमेसनको महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले डिजिटल इन्फरमेसनको महत्व दिनानुदिन बढ्दै गएको बताउँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पारेका छन् । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल इन्फरमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बासकोटाले विश्वव्यापिकरणको रुपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल इन्फरमेसन मार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराएका हुन् । सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले किनोट स्पीकरको रुपमा आफ्ना विचार व्यक्त गरेकी छन् । आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्सफरमेसन गर्न निति/नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरी सरकार एवं निजी सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् । संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक सा“स्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिएकी हुन् । सम्मेलनको अर्को सत्र डिजिटल नेपाल भिया डिजिटल ट्रान्सफरमेसन विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरेका छन् । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए । सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा विस्तृत छलफल गरिएको थियो ।