नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा विस्तार

काठमाडौँ । भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि १३ मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । सो अनुसार अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् । हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ । केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । नेपाल टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरि ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छः मन्त्री बाँस्कोटा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।” गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिएका हुन् । मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै विकासका दुई आयाम भौत्तिक र मानवीय विकास हो भनेका छन् । त्यसैगरी, निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण हुने जानकारी पनि दिए । उनले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने जानकारी दिए । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिएका हुन् । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए ।उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने पनि बताएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढङ्गले सत्य, तथ्यमा आधारित भएर आवाज विहीनका आवाज बन्नुपर्नेमा जोड दिएका हुन् । गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसङ्ग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग हो भनेका छन् । उनले आउने फागुन ७ गते कोहलपुरबाट पनि गोरखापत्र प्रकाशन हुने जानकारी दिएका छन् । गोरखापत्र ११९ वर्षपछि विराटनगरबाट प्रकाशन हुने पत्रिका प्रदेश नंं. १ र २ का लागि हुने भनिएको छ भने मुलुकका विविध संस्कृतिले भरिएको हाम्रो मुलुकका ३८ जातजातिका भाषा गोरखापत्र पत्रिकामा छाप्ने गरिएको छ । नेपाली भाषा, संस्कृति, साहित्य र कलाको दस्तावेज गोरखापत्रले मुना, युवामञ्च, मधुपर्क, द राईजिङ नेपाल छाप्ने गरेको छ । रासस

पत्रकारद्वय भण्डारी र अधिकारी राष्ट्रिय विज्ञान पुरस्कारबाट सम्मानित

काठमाडौं । यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई दान गरिएको छ । पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनही रु १५ हजार पुरस्कार सहित सम्मान गरेको हो । पुरस्कृत भण्डारी एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न छन् । उनका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन ‘वैज्ञानिक जगत्’ नामक जर्लनमा प्रकाशित हुनाका साथै विभिन्न अनलाइन तथा पत्रपत्रिकामा पनि एक हजारभन्दा बढी लेख प्रकाशित भएका छन् । त्यसैगरी, पत्रकार अधिकारी पनि विगत १४ वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका छन् । उनका विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक लेख र रचना प्रकाशित छन् । यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तन र सामाजिक आर्थिक रुपान्तरण’ तय गरिएको छ । रासस