विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाल टेलिकमको डाटा शुल्क ३० प्रतिशतले घट्यो
काठमाडौं । नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको छ । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको प्रबक्ता राजेश जोशीले जानकारी दिए । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । तर यस्तो छुट ७ दिनका लागि मात्र दिएको टेलिकमले जनाएको छ । चैत्र २० देखि २६ गतेसम्म मात्र छुट भएको उसको भनाई छ । सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।
अरुलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने
काठमाडाैं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ताबनाउनकालागी यो अफर सार्बजनिक गरेको हो । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । ‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो।’- इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।