टेलिकमको नयाँ अफर : १० रुपैंयामा १०० मिनेट कल, ८० एमबी डाटा
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ । साथै, पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ । त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।
युनाइटेड फाइनान्स र एस्.वी. सोलुसन्सबीच कर्जा अटोमेसन र डिजिटाजेसनसम्बन्धी सम्झौता
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा.लि.का अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन् । अब बैंकले सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । यसरी, युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् । त्यसैगरी, एस् वी. सोलुसन्स् प्रा.लि.ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।
संकटबाट गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशतले वृद्धि
शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो । संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ । कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।