पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरेका हुन् । मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पुर्याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे । वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो । मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । उनले भने- अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफैं जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने, ‘रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।’ असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उनले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेको छ । सो युनियनका वाग्मती प्रदेशका अध्यक्ष अच्युतकुमार ओझाले ट्रेड युनियन अधिकारको रक्षाका लागि आफूहरुले शान्तिपूर्ण खबरदारी गरेको बताए । रासस

सीजी कम्युनिकेसनको लिमिडेड मोविलिटीकाे अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सीजी कम्युनिकेशन (तत्कालिन एसटीएम संञ्चार) लाई दिएको अनुमतिपत्र रद्द गरेको छ । प्राधिकरणले ७ जिल्लामा सेवा संचालन गर्न सीजीलाई दिएको लिमिटेड (सर्भिस बेस्ड अन वायरलेस कम्युनिकेसन) मोबिलिटीको अनुमतिपत्र नियम अनुसार नविकरण नभएको भन्दै रद्द गरिएको जानकारी दिएको छ । सीजी कम्युनिकेशनले नवीकरण दस्तुरसहित निवेदन पेश नगरेका कारण अनुमतिपत्र रद्द गरिएको प्राधिकरणको भनाइ छ । सीजी कम्युनिकेसनले बाग्लुङ्ग, पाल्पा, कन्चनपुर, डडेलधुरा बैतडी, बर्दिया र दैलेखमा मोविलिटी सेवा प्रदान गर्ने गरी अनमतिपत्र पाएको थियो । कम्पनीलाई १९ माघ २०६६ मा दिएको अनुमतिपत्र प्राधिकरणले १९ माघ २०७६ देखि लागू हुने गरी रद्द गरिएको प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

एनसेल साढे ३१ अर्ब नोक्सानीमा, सरकारलाई पनि अर्बाै‌ कर नाेक्सान

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल नोक्सानीमा गएको छ । एनसेलले गत आर्थिक वर्ष २०७५/७६ मा ३१ अर्ब ५१ करोड ९४ लाख ३ हजार ३ सय ८२ रुपैयाँ खुद नोक्सानी भएको वित्तीय विवरण कर कार्यालयमा बुझाएको छ । एनसेलको कूल आम्दानी पनि घटेको छ । गत वर्ष एनसेलले ५५ अर्ब २८ करोड ३९ लाख ३३ हजार ९६ रुपैयाँ कूल आम्दानी गरेको छ । अघिल्लो वर्ष  २०७४/७५ एनसेलको कूल आम्दानी ५९ अर्ब ६९ करोड २६ लाख ९१ हजार ९ सय १७ रुपैयाँ थियो । कम्पनीको प्रत्येक्ष खर्च पनि घटेको छ । ठूला करदाता कार्यालय स्रोतका अनुसार गत आर्थिक वर्ष एनसेलले १३ अर्ब ५४ करोड ५१ लाख ८७ हजार ४ सय १७ रुपैयाँ प्रत्येक्ष खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ७६ करोड ४८ लाख ३२ हजार २३ रुपैयाँ प्रत्येक्ष खर्च गरेको थियो । कम्पनीको कर तिर्नुअघिको संचालन नाफा करिब ५ अर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा एनसेलले कर तिर्नुअघि २० अर्ब ३५ करोड ७ लाख ९३ हजार २ सय २१ रुपैयाँ संचालन नाफा गरेको छ । अघिल्लो वर्ष एनसेलको कर तिर्नुअघिको संचालन नाफा २५ अर्ब १९ करोड ६७ लाख ५२ हजार ५ सय ३७ रुपैयाँ थियो । गत वर्ष कर तिरेपछिको एनसेलको नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो नाफा २४ अर्ब ६३ करोड २२ लाख ६६ हजार ४ सय २८ रुपैयाँ थियो । आर्थिक वर्ष २०७५/७६ काे नियमित काराेबारबाट करपछिकाे नाफा नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ भएपनि पुरानाे कर दाहित्वमा तानिएपछि एनसेल ३१ अर्ब ५१ करोड नाेक्सानमा गएकाे हाे । पुरानाे कर दाहित्वबाफत गत आर्थिक बर्ष ५१ अर्ब रुपैयाँभन्दा बढी आयकर तिर्नु परेका कारण कम्पनी नोक्सानीमा देखिएको हो । कम्पनीले गत आर्थिक वर्ष नेपाल सरकारलाई ५१ अर्ब ५१ करोड ४६ लाख २५ हजार ३ सय ५८ रुपैयाँ कर तिरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी ६ अर्ब ६० करोड ९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ कर तिरेको थियो । पुरानाे कर दाहित्व नाफाबाट तिर्ने एनसेलकाे नीतिले सरकारलाई पनि अर्बाै नाेक्सान हुने करका जानकारहरू बताउँछन् ।