सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ । [pdf id=181286]

काभ्रे बहुमुखी क्याम्पसद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलले धनेश्वर महादेव प्राथमिक विद्यालय पनौती नगरपालिका–५ धनेश्वरलाई बुधबार ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । आर्थिक अभावकाबीच सञ्चालन भइरहेको विद्यालयलाई शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस प्रमुख केजी बैदारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई ६ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो विद्यालयले यसअघि कम्प्युटर अभावमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिँदै आइरहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले कम्प्युटर प्राप्त गरेपछि विद्यार्थीमा प्रयोगात्मक र व्यवहारिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए । “हामीले कक्षा २ का विद्यार्थीहरुलाई आर्थिक अभावकै बीचमा कम्प्युटर नभएर सैद्धान्तिक ज्ञान मात्रै दिँदै आएका थियौँ”, थापाले भने, “काभ्रे बहुमुखी क्याम्पसले हाम्रो समस्यालाई अध्यनजर गरेर छ थान कम्प्युटर दिएको छ, अब यसले विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्राप्त गर्नमा ठूलो सहयोग पुग्नेछ ।” विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि बन्द भएको र स्थानीयवासीको सक्रियतामा २०७६ वैशाखबाट पुनःसञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्म सञ्चालन गर्ने योजनाका साथ व्यवस्थापन समितिले नयाँ भवन निर्माणका साथै नयाँ कक्षा कोठाको लागि काम शुरु गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । सो विद्यालयलाई अहिले नगरपालिकाबाट एकजना दरबन्दी व्यवस्था गरिदिएको छ भने तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको छ । विद्यालयमा ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस

अब मेसिनबाटै चेक डिपोजिट हुने, सिद्धार्थ बैंकले ल्यायो आधुनिक सुविधा

काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने छ । यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्धारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्तरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । बैंकले देशभर १७२ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।