अब बन्ने भयो जाजरकोटका सबै टावर, तोकिएको मितिमा सम्पन्न हुने
जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमका सबै टावर निर्माण हुने भएको छ । उक्त टावर तोकिएको मितिमा भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको हो । सात वटा स्थानीय तहका सरकार प्रमुख, जाजरकोट (क)का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, प्रहरी नायब उपरीक्षक श्याम खत्री, सशस्त्र प्रहरी बलका डिएसपी योग्य बस्नेतको रोहवरमा आइतबार साँझ लिखित सहमति गरिएको हो । जुनीचाँदे गाउँपालिकाको मजकोट, बारेकोट गाउँपालिकाको सक्ला र नायकवाडा, कुशे गाउँपालिकाको पैंक, शिवालय गाउँपालिकाको शेरी र नलगाड नगरपालिकाको डाडागाउँमा टेलिफोन टावर निर्माण गर्नका लागि भारतीय कम्पनीले चरम लापर्वाही गरेको भन्दै विरोध हुँदै आएको थियो । पटकपटक निर्माण गर्छु भनी लिखित कागजसम्म गरेको भारतीय कम्पनीले तोकिएको मिति धेरै पटक गुजारेको भन्दै यहाँका जनप्रतिनिधिले आक्रोस व्यक्त गर्दा घम्साघम्सीसमेत भएको थियो । टेलिकमसँगको सम्झौता, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहसँग गरेको लिखित प्रतिबद्धता र स्थानीय जनप्रतिनिधिको निरन्तरको ताकेताको चरम बेवास्ता गरेपछि नेपाल टेलिकमको नेपालगञ्ज कार्यालयका प्राविधिक प्रमुख शिवराज खनाल र कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द पुजारी अर्का प्रतिनिधि भोजराज बढुप्रति चर्को आक्रोस र असन्तुष्टि पोख्दै सम्झौताअनुसार तुरुन्त काम सक्न अल्टिमेटम दिइएको थियो । प्रदेशसभा सदस्य सिंहको पहल र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समन्वयमा बसेको बैठकले कम्पनीलाई मजकोट, शेरी र नायकवाडामा मङ्सिर मसान्तभित्र र पैंक, सक्ला र डाँडागाउँमा माघ मसान्तभित्र टावर निर्माणको सबै काम सक्न अन्तिम अल्टिमेटम दिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । रासस
हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा, फाइब-जी पूर्वाधार विस्तार गर्न तयार
बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर, कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।” दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । रासस/एएफपी
दुई सातादेखि सञ्चारविहीन डोल्पा, टावरको सामान बाटोमै अलपत्र
डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । त्यहाँका नागरिक घण्टौं उकालोका बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन् । मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्छन् मुड्केचुलाका स्थानीय । चिनियाँ कम्पनी डिस्याटले सम्झौता अवधि सकिएको भन्दै स्याटलाइट बन्द गरिदिएपछि मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको हो । टावरको सामान बाटोमै अलपत्र गाउँपालिकामा टावर निर्माण गर्ने भनेर ल्याएको सामानबीच बाटोमै अलपत्र परेको छ । मोबाइल टावरका विभिन्न सामग्री रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ । सामान खिया लाग्न थाले पनि त्यहाँबाट उठाउन कसैको ध्यान गएको छैन । टावरको सामग्री ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि बीचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिएका छन् । उनका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी बेवास्ता गरेकाले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए । मुड्केचुलावासीले टेलिफोन टावर नहुँदा भोग्नुपरेको समस्या चाँडै हल हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही बताउँछन् । मुड्केचुलावासीले सञ्चार सास्ती खेप्नुपरेको बताउँदै छिट्टै ठेकेदारको खोजी गरेर टावर निर्माणमा लागिपर्ने प्रदेशसभा सांसद वीरबहादुर शाहीले प्रतिबद्धता जनाएका छन् । “मोबाइल टावर नभएकै कारण एक ठाउँबाट अर्को ठाउँमा सूचना आदानप्रदान गर्न मान्छे कुदाउनुपर्ने अवस्था छ, जति अग्ला डाँडाकाँडा र रुख चढे पनि राम्रोसँग फोनले काम गर्दैन”, पूर्णबहादुर शाहीले गुनासो गरे । सिङ्गो गाउँपालिका नै सञ्चारविहीन हुँदासमेत स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले केही गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । गाउँपालिकाले अन्य विकासभन्दा सञ्चार सेवाको विकासमा जोड दिन स्थानीयले आग्रह गरेका छन् । फोन सम्पर्क नभएरै बिरामी कुनै अप्रिय घटना घटिहालेमा मृत्यु कुर्नबाहेकको अरु कुनै विकल्प नभएको स्थानीय बमबहादुर बुढाले दुखेसो पोखे । रासस