अब नेपालमा पनि चट्याङको जोखिम कम हुने अन्तर्राष्ट्रियस्तरको टेलिफोनका टावर
काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विश्व बजारमा चलेको हलुका टावर जडान गर्न लगाउने निर्णय गरेको हो । अहिले नेपालमा राख्दै आएको टावर बढी तौलको हुनका साथै चट्याङको जोखिम पनि बढी छ । अब राखिने टावर कम तौलको हुनाका साथै चट्याङको जोखिम पनि न्यून हुने एटीएका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका टावरहरू राख्नुको मुख्य उदेश्य दूर–सञ्चार बजारलाई थप व्यवस्थित बनाउनु हो,’ उनले भने ‘अब नेपालमा भएकाभन्दा भिन्न डिजाइन र नयाँ प्रविधिमा आधारित टावरहरू जडान गर्ने तयारी हामीले गरेका हौं ।’ टावरमा विभिन्न प्रकाश(रेडिएसन)हरूले असर पर्ने गर्दछ । नयाँ प्रविधिको टावरमा घाम तथा अन्य प्रकाशले असर पार्न सक्दैन । नेपालली दूर–सञ्चार बजारमा हाल चलनचल्तीमा रहेका रुफटप टावरहरुको मूल्य करिब ५ लाख रुपैयाँ पर्छ । साथै, अन्य ठूला टावरहरूको भने ९० लाख रुपैयाँभन्दा बढी पर्ने गरेको छ । नयाँ प्रविधिको टावरको मूल्य हाल प्रयोग भइरहेकोभन्दा केही महँङ्गाे भएपनि यो लामो समयसम्म टिक्नुका साथै सेवा विस्तारमा समेत सजहता हुने एनटीएले बताएको छ । हाल नेपालमा करिब ७ हजार ९ सय टावर रहेका छन् । यीमध्ये सबैभन्दा बढी टावर एनसेलको रहेको छ भने अर्को बढी टावर नेपाल टेलिकमको रहेको छ । एनसेलको ३ हजार ५ सय र नेपाल टेलिकमको ३ हजार ४ सय टावर रहेका छन् । सो मध्ये स्मार्ट टेलिकमको ५ सय ९१ टावर रहेका छन् भने नेपाल स्याटेलाइटको २ सय ४ र यूटीएलको १ सय ८७ टावर रहेका छन् । भूृकम्पपछि दूर–सञ्चारका टावर राखिएका घर तथा नजिकै रहेका घर तथा सर्वसाधारणलाई एक किसिमको डर पैदा भएको छ । कतै टावरले हानी पुर्याउने त होइन भन्ने त्रास सर्वसाधारणमा फैलिएको छ । आगामी दिनमा यस्ता प्राकृतिक विपतबाट सर्वसाधारणलाई भयरहित वातावरणमा राख्न एनटीएले यो प्रयास थालेको हो । अब टावर राख्दा गाउँ वा बस्ती भन्दा केही पर राख्ने योजना एनटीएले बनाउने छ ।
डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने
काठमाडौं । डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरी ५ दिन पुर्याएकाे छ । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ । यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन । यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्या हुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वित हुनेछन् । उक्त सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ । डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्था हो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल दैनिक रुपमा ५८ सय भन्दा बढी ग्राहकहरुले यो क्रेडिट सेवाको उपभोग गरिरहेका छन् ।
अब रारामा पनि टेलिकमको फोरजी सेवा, स्थानीयलाई व्यवसाय प्रबर्द्धन गर्न सजिलाे हुने
काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो (०७६ मंसिर १९) देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ । त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ । राजा महेन्द्रद्धारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।