टेलिकमद्वारा मुख्य शहरमा फोरजी सेवा शुरु
डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताएका छन् । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ । सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताए । त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिए । रासस
एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’, अन्य नेटवर्कमा पनि सुलभ दरमा कल
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्रअन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेलप्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर संचालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रतिमिनेट रु १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट रु १.९९ लाग्दछ । यो अल नेट भ्वाइस प्याक कात्तिक २६ गतेदेखि संचालनमा आएको कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक रु २० (कर सहित रु २५.५४) मा लिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने जनाइएको छ ।
नेपाल टेलिकमको बल्क एसएमएस सेवाः एकै पटक धेरै जनालाई सन्देश पठाउन उपयोगी
काठमाडौँ । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएस सुबिधा उपलब्ध गराएको जनाएको छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिससेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ । यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ । ग्राहक स्वयम्ले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ-संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।