दशैँ अघिनै सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, तयारी अन्तिम चरणमा

काठमाडौ । नेपाल टेलिकमले देशका सातैवटा प्रदेशका विभिन्न शहरहरुमा फोर जी सेवा बिस्तार गर्ने अन्तिम तयारी गरेको छ । हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा संचालन गर्दै आएकोमा टेलिकमले यसलाई देशभरका प्रमुख शहरहरुमा बिस्तार गर्न लागेको हो । एनटीसीले सो सेवा दशैँ अघि नै शुरु गर्ने गरी तयारी गरिरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । टेलिकमले यसअघि नै फोर जी सेवा बिस्तार गर्ने योजना बनाएको भएपनि सार्वजनिक खरिद ऐनमा रहेको टेण्डर प्रक्रिया सम्बन्धी व्यवस्थाले सो कार्यमा ढिलाई हुँदै आएको थियो । उच्च गतिको इन्टरनेट र भ्वाइस कलको सुविधा रहेको उक्त सेवा बिस्तारका लागि विराटनगर, विर्तामोड, ईटहरी, जनकपुर, पोखरा, बाग्लुङ्ग, पाल्पा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँमा समेत एफटीटीएच नेटवर्क निर्माणको काम सकिएको टेलिकमले जनाएको छ । टेलिकमले हाल काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको फोर जी सेवामा इन्टरनेट मात्रै रहेकाले अब भने भ्वाइस कल सेवा समेत उपलब्ध गराउने तयारी गरेको छ । के हो फोर जी ? फोर जी उच्च गतिको ब्रोर्डव्याण्ड नेटवर्क प्रविधि हो । सो प्रविधिमा यस अघिको टु जी वा थ्री जीको भन्दा १० गुणा छिटो इन्टरनेट चल्छ । फो जी सेवा बिस्तार भएपनि टु जी र थ्री जी सेवा समेत एथावत रहने टेलिकमले जनाएको छ । फोर जी सेवा प्राप्त गर्न भने ग्राहकले नयाँ सिम लिनु पर्ने र फोर जी नेटवर्क सर्पोट गर्नुपर्ने मोवाईल हुनुपर्छ । ठूला भवनहरुले फोर जीको नेटवर्क सिग्नललाई अवरोध नगर्ने टेलिकमले जानकारी दिएको छ । सोही कारण फोर जी ग्राहकहरुको रोजाइमा पर्ने टेलिकमको बुझाई रहेको छ ।

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा विस्तार

काठमाडौँ । भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि १३ मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । सो अनुसार अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् । हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ । केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । नेपाल टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरि ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छः मन्त्री बाँस्कोटा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।” गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिएका हुन् । मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै विकासका दुई आयाम भौत्तिक र मानवीय विकास हो भनेका छन् । त्यसैगरी, निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण हुने जानकारी पनि दिए । उनले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने जानकारी दिए । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिएका हुन् । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए ।उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने पनि बताएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढङ्गले सत्य, तथ्यमा आधारित भएर आवाज विहीनका आवाज बन्नुपर्नेमा जोड दिएका हुन् । गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसङ्ग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग हो भनेका छन् । उनले आउने फागुन ७ गते कोहलपुरबाट पनि गोरखापत्र प्रकाशन हुने जानकारी दिएका छन् । गोरखापत्र ११९ वर्षपछि विराटनगरबाट प्रकाशन हुने पत्रिका प्रदेश नंं. १ र २ का लागि हुने भनिएको छ भने मुलुकका विविध संस्कृतिले भरिएको हाम्रो मुलुकका ३८ जातजातिका भाषा गोरखापत्र पत्रिकामा छाप्ने गरिएको छ । नेपाली भाषा, संस्कृति, साहित्य र कलाको दस्तावेज गोरखापत्रले मुना, युवामञ्च, मधुपर्क, द राईजिङ नेपाल छाप्ने गरेको छ । रासस