अब खल्तीबाटै खानेपानीको बिल तिर्न सकिने, सात वटै प्रदेशमा पुग्यो यस्तो सुविधा

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो । अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ । अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा उपभोक्ताको खानेपानी बिल तिर्न काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुनेछ । खानेपानीको बिल भुक्तानी सेवा विस्तारका बारेमा बोल्दै खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदासले भने ‘खल्तीको टिम आफ्नो स्थापनाको सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवनशैली सहज बनाउनका लागि अनवरत रुपमा क्रियाशील छ । यसरी सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । अहिले हामी ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौँ । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसीबसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । हामी यस लक्ष्य पूरा नहुन्जेलसम्म प्रयत्नशील भएर लागि पर्नेछौँ ।’ अहिले गाउँगाउँमा तीब्र गतिको ब्रोडब्यान्ड तथा थ्रीजी र फोरजी इन्टरनेट पुगेको छ । स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार देशका झन्डै ७२ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा करीब १ करोड मानिसले मोबाईल बैंकिङ र १० लाखले इन्टरनेट बैंकिङ सेवा सुचारु गरेका छन् । यस्तो अवस्थामा खल्तीले विस्तार गरेको खानेपानी बिल भुक्तानी सेवाले धेरै महत्व राख्ने देखिन्छ । सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । खल्तीको वेबसाईट खल्ती डटकमबाट खल्ती एप डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

एनसेलले ल्यायो नयाँ अफर, फागुन १५ गतेदेखि लागू हुने, कसरी लिने सुविधा ?

काठमाडौं । एनसेलले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।  कम्पनीले यही बिहीबार (फागुन १५) देखि लागु हुने गरी उक्त अफर ल्याएकाे हाे । यो अफर अन्तर्गत ग्राहकले १०० रूपैयाँ र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एष्ट्रिक१७१०६ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् । यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले १०० रूपैयाँ रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् । यसैगरी ग्राहकहरुले १ हजार रूपैयाँ रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एष्ट्रिक१७१०६एष्ट्रिक१ह्यास् डायल गरी आफुले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्नेछन् ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले हस्ताक्षर गरेका हुन् । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए । समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुने छन् ।