सोर्स कोड दिन बाध्य बनाउँदा एनआरएनको निर्वाचनमा मेसिन चलेन: राम-लक्ष्मण
काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचनमा मतदान गर्ने मेसिनले काम नगर्नुमा आयोजक नै दोषी भएको प्राविधिक काम गर्दै आएको युवा बैंज्ञानिकद्वय राम लक्ष्मण रिसालले बताएको छन् । ‘जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड चाहियो नत्र निर्वाचन हुन नदिने भनी एक पक्षले प्राविधिक टोली पठायो । पहिल्यै ढिलो भइसकेको सेड्युलको झण्डै १ घण्टा त्यसैमा बिताउनु पर्यो । प्राविधिक टोलिलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौं’ मेसिनले काम नगरेको विषय प्रष्टपार्न राम लक्ष्मणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुले विगतमा पनि २ पटकसम्म एनआरएनको निर्वाचनमा आफूहरुले तयार गरेको भोटिङ मेशिन प्रयोग भएको र नेपालमा ५० भन्दा बढी निर्वाचनमा यस्तो प्रविधि प्रयोग भएको उनीहरुले बताएका छन् । ‘मतदाता नामावली देखिनै ढिलो भएको प्रकृयाले उम्मेद्वारको नामावली प्रकाशनमा अत्यन्तै ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवाव त्यत्तिकै रहेको र जसरी पनि आश्विन २९ गते नै निर्वाचन गराउन पर्ने भन्ने कुराले हामी लगायत हाम्रा प्राविधिक समूह अत्याधिक तनावमा थियौं’ ज्यादा तनावमा काम गर्नु परेको विषयलाई उनीहरुले जोड दिएका छन् । ‘मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम् ८ घण्टा ( जसमा नामावली चढाउने, परिक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भन्ने प्रष्टै लेखेका थियौं । तर हामीले ३ घण्टा पनि समय पाएनौं । यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने वाध्यताले गर्दा न त निर्वाचन बाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि’ उनीहरुले भनेका छन्–‘उम्मेद्वारकोनाम तस्विर राखिनसक्दै बाहिरको भिड थामिनसक्नु भयो र परीक्षणविनै मतदान शुरु गर्नु पर्ने वाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौ ।’
टेलिकमको नयाँ अफर : १० रुपैंयामा १०० मिनेट कल, ८० एमबी डाटा
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ । साथै, पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ । त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।
युनाइटेड फाइनान्स र एस्.वी. सोलुसन्सबीच कर्जा अटोमेसन र डिजिटाजेसनसम्बन्धी सम्झौता
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा.लि.का अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन् । अब बैंकले सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । यसरी, युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् । त्यसैगरी, एस् वी. सोलुसन्स् प्रा.लि.ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।