एप निर्माण गर्दै दूर सञ्चार प्राधिकरण, फोन गर्दा नसुनिए रिपोर्ट गर्न पाइने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले ग्राहकलाई फोन गर्दा सन्तुष्टी मिले नमिलेको जानकारी प्राप्त गर्ने एप्लिकेशन निर्माण गर्ने भएको छ । एप निर्माण भएपछि मोबाइल तथा टेलिफोन सेवाग्राहीले आफूले गरेको कलबाट सन्तुष्टी नमिले सहजै रिपोर्ट गर्न पाउने छन् । प्राधिकरणले आफूले गर्ने कलबाट कति सन्तुष्ट लिए भन्ने कुराको जानकारी ग्राहकबाटै प्राप्त गर्ने तयारी स्वरुप यो एप निर्माण योजना अघि बढाएको हो । अहिले फोन गर्दा आमग्राहकहरू फोन काटिएर, नबुझिएर र नेटवर्क बिजी भएका कारण फोन नलागेर हैरान हुने गरेका छन् । नेटवर्कमा सुधार गर्न प्राधिकरणले यस्तो मोबाइल एप्लिकेशन निमार्ण गर्न यो योजना अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुर्षोत्तम खनालले जानकारी दिए । समग्रमा नेटवर्क सुधारको लागि उक्त एप निर्माण गर्न लागिएको उनले बताए । अबको ४–५ महिनासम्म उक्त एप तयार भइसक्छ, उनले भने– ‘एक मिनेटमा कति जनाको कल काटिन्छ वा सुनिदैन त्यो ग्राहकलाई थाहा हुँदैन ।’ ग्राहकलाई त आफ्नो फोन काटिएको मात्रै थाहा हुन्छ र उसले तुरुन्त फोन थिचिहाल्छ । यद्यपि यसको वारेमा सेवा प्रदायकलाई भने थाहा हुन्छ । यसको वारेमा सहजै सेवाग्राहीले समेत थाहा पाउने बनाउन एप निर्माण कार्य अघि बढाइएको हो । फोनबाट ग्राहकलाई सन्तुष्ट मिले नमिलेको सन्तुष्टी नाप्ने एप्लिकेशन तयार भएपछि ग्राहकले आफुले गरेको कलमा कुनै समस्या आए वा अन्य अनुभव गरेमा यस विषयमा सिधै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिन सक्ने छन् । आफ्ना ग्राहकलाई सेवा दिन प्राधिकरणले छुट्टै एप्लिकेशन निर्माण प्रक्रियामा लागेको हो । प्राधिकरणले कलको क्वालिटीको जानकारी ग्राहकबाटै लिने तयारी गरेको हो । सेवाग्राहीले आफ्नो मोबाइलमा उक्त एप्लिकेशन डाउनलोड गरेर उक्त एपले गुणस्तरको विषयमा आवश्यक सूचना संकलन गर्नेछ । प्राधिकरणसँग रहेका उपकरणबाट यस्तो जानकारी संकलन गर्न सकिन्छ, त्यो एपले नै स्वतः संकलन गर्नेछ । एपमा गुणस्तरको विषयमा जस्तै प्रश्न सोधिने छ । उत्तर इन्ट्री गरेपछि एपले आफै रेटिङ गर्ने छ ।

अब बन्ने भयो जाजरकोटका सबै टावर, तोकिएको मितिमा सम्पन्न हुने

जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमका सबै टावर निर्माण हुने भएको छ । उक्त टावर तोकिएको मितिमा भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको हो । सात वटा स्थानीय तहका सरकार प्रमुख, जाजरकोट (क)का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, प्रहरी नायब उपरीक्षक श्याम खत्री, सशस्त्र प्रहरी बलका डिएसपी योग्य बस्नेतको रोहवरमा आइतबार साँझ लिखित सहमति गरिएको हो । जुनीचाँदे गाउँपालिकाको मजकोट, बारेकोट गाउँपालिकाको सक्ला र नायकवाडा, कुशे गाउँपालिकाको पैंक, शिवालय गाउँपालिकाको शेरी र नलगाड नगरपालिकाको डाडागाउँमा टेलिफोन टावर निर्माण गर्नका लागि भारतीय कम्पनीले चरम लापर्वाही गरेको भन्दै विरोध हुँदै आएको थियो । पटकपटक निर्माण गर्छु भनी लिखित कागजसम्म गरेको भारतीय कम्पनीले तोकिएको मिति धेरै पटक गुजारेको भन्दै यहाँका जनप्रतिनिधिले आक्रोस व्यक्त गर्दा घम्साघम्सीसमेत भएको थियो । टेलिकमसँगको सम्झौता, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहसँग गरेको लिखित प्रतिबद्धता र स्थानीय जनप्रतिनिधिको निरन्तरको ताकेताको चरम बेवास्ता गरेपछि नेपाल टेलिकमको नेपालगञ्ज कार्यालयका प्राविधिक प्रमुख शिवराज खनाल र कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द पुजारी अर्का प्रतिनिधि भोजराज बढुप्रति चर्को आक्रोस र असन्तुष्टि पोख्दै सम्झौताअनुसार तुरुन्त काम सक्न अल्टिमेटम दिइएको थियो । प्रदेशसभा सदस्य सिंहको पहल र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समन्वयमा बसेको बैठकले कम्पनीलाई मजकोट, शेरी र नायकवाडामा मङ्सिर मसान्तभित्र र पैंक, सक्ला र डाँडागाउँमा माघ मसान्तभित्र टावर निर्माणको सबै काम सक्न अन्तिम अल्टिमेटम दिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । रासस

हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा, फाइब-जी पूर्वाधार विस्तार गर्न तयार

बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर, कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।” दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । रासस/एएफपी