डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? यसरी लिन सकिन्छ सस्ताेमा अनलिमिटेड डाटा
काठमाडाैं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ । यसका लागि सिधै *1415*8# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ । एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3# मा र ७ रातका लागि लिन *1415*3#2 मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।
इसेवाबाट अब जुनसुकै बैंकमा रकम पठाउँदा पैसा नलाग्ने
काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ । इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
वित्तीय कारोबार गर्न मिल्ने कनेक्ट आईपीएस ईपेमेन्ट अब सित्तैमा
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागी मिनाहा गरेको छ । संस्थाले बैंक वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ उक्त सेवा सुविधा दिने भएको हो । मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस इपेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ । बैंक वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज तरिकाले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ । कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख रूपैयाँ र मोबाईल एप्सबाट १ लाख रूपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।