बल्ल बले ट्राफिक लाईट, १२ ठाउँका लाइट मर्मत गर्न साढे ९७ लाख खर्चियो
काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका लाइटहरुले काम गर्न थालेका हुन् । २०५७ सालमा जापान सरकारले जडान गरिदिएको ट्राफिक लाइट बिग्रिएपछि काम गर्न छोडेको थियो । जापान सरकारले लाइट जडान गरेको १० वर्ष चलेपछि बन्द भएका थिए । २०६८ सालदेखि ट्राफिक लाइट बन्द थिए । बन्द भएका लाइट नेपाल सरकारले मर्मत गर्न उत्सुकता देखाएको थिएन । तर, हाल ती सबै ठाउँमा लाइटहरु मर्मत गर्ने काम थालिएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मूख्य कारण पाइएपछि धमाधम बनाइकाे हाे । सडक विभागका सुचना अधिकारी शिबहरी सापकोटाले विभागले धमाधम रुपमा लाइटको मर्मत कार्य गरिरहेकाे बताए । ‘गत वर्ष लाइट मर्मत गर्ने ठेक्का प्रक्रियाकाे कार्य सम्पन्न गरेर यो वर्षदेखि लाइट मर्मत गर्न शुरु गरिएको हो, त्यतिखेर डेढ करोड रुपैयाँको अनुमान आएपनि २७ प्रतिशत बिगोमा ठेक्का लगाएर काम शुरु गरिएको हो,’ उनले भने । १२ वटा ठाउँको ट्राफिक लाइट मर्मत गर्न ९७ लाख ५० हजार रुपैयाँको ठेक्का दिएको उनले बताए । लाइटको अवस्था हरेर त्यसको लागत लाग्ने उनकाे भनाइ छ । ११ ठाउँकाे बत्ती बलेपनि एक ठाउँमा अझै बलेकाे छैन । कुन कुन ठाउँमा बले ट्राफिक लाइट ? हाल काठमाडौं उपत्यकाको ११ ठाउँमा ट्राफिक लाइट बलेका छन् । उपत्यकाको पुतली सडक, पद्मोदयमोड, सिँहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तिनकुने (बानेश्वर तर्फ), तिनकुने (एयरपोर्ट तर्फ), मुनिभैरव, ठिमी चोक र महापाल चोकका ट्राफिक लाइटहरु काम गरिरहेका छन् । यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । यस्तै, केशरमहल, संग्रहालय दक्षिण गेट, माईतीघर, थापाथली, कालिमाटी, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, कौशलटार, सल्लाघारी र नारायण गोपाल चोकका लाइटहरुले काम गर्न सकेका छैनन् । उपत्यकामा दिनानुदिन सवारी साधनको चाप बढ्दो छ । यही बढ्दो चापलाई नियन्त्रण गर्न र उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन विभागले लाइट मर्मतको काम थालेको हो । ट्राफिक लाइट मर्मतको ठेक्का यार्सा टेक्नोलोजीले पाएको छ । यस्तै, काठमाडौं महानगरपालिको लगानीमा महाराजगन्ज चोक र शिक्षण अस्पताल अगाडि जेब्राक्रसमा पैदल यात्रुका लागि लाइट व्यवस्थापन गरिएको छ । साताभित्र थापाथली, कालिमाटी र मित्रपार्कमा पनि लाइट बनाइसक्ने बताइएको छ । इन्टरनेटको माध्यमबाट कुन चोकमा कुन लाइट कति समय थपघट गर्ने भन्ने चलाउन सकिन्छ । ‘कति मिनेटपछि लाइट रिभर्स हुने अर्थात् काउन्टिङ डिस्प्ले बनाउने भन्ने अब ट्राफिक प्रहरी कक्षबाटै गर्न सकिने भएकाे छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदम बहादुर बिष्टले भने । उनले उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको बताए । यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ । उनका अनुसार, चोक चोकमा ट्राफिक लाइटको अभावमा प्रत्येक चोकमा चारदेखि छ जना ट्राफिक प्रहरी खटाउनु परेको छ । यी सबै स्थानमा ट्राफिक लाइट हुने हो भने जनशक्ति पनि कम लाग्छ र ट्राफिक व्यवस्थापन पनि प्रविधिमा आधारित भएर चल्ने उनकाे भनाइ छ । ‘ट्राफिक लाइट जडान भए पछि सम्पूर्ण ट्राफिक व्यवस्थापन सिस्टममा चल्छ, सडकमा सवारीको चाप र जामको समस्या आफैँ समाधान हुन्छ, ट्राफिक नै उभिएर ट्राफिक व्यवस्थापन गर्दा एकातिर पाँच मिनेट रोक्न सक्छ र अर्कोतिर आठ मिनेट रोक्न सक्छ । यसले गर्दा पनि जाममा परेका सर्वसाधारण रुष्ट हुन सक्छन्,’ उनले भने । यो प्रविधि नेपाली इन्जिनियरहरुले नै विकास गरेका हुन् । बिग्रेको अवस्थामा उनीहरुले नै मर्मत गर्ने सहमति भएको छ ।
सेलपे सेवाको कारोबार सीमा थप, मासिक पाँच लाख रुपैयाँ
काठमाडौं । सेलपे सेवाले आफ्नो मासिक काराबारको सीमा रकम थपेको छ । बैंकलले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो कारोवारको सीमा रकम अधावधिक गरेको हो । यससँगै ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण गर्दा मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन् । त्यस्तै, नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो ।
अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी, सबै उपकरण जलेर नष्ट
दमाैली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ । बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस