एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोकमा बिहीबार सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । उक्त सेन्टरको उद्घाटन एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले गरेका हुन् । संचालनमा आएको सो सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गते सम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने छन् । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।  

सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ । [pdf id=181286]

काभ्रे बहुमुखी क्याम्पसद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलले धनेश्वर महादेव प्राथमिक विद्यालय पनौती नगरपालिका–५ धनेश्वरलाई बुधबार ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । आर्थिक अभावकाबीच सञ्चालन भइरहेको विद्यालयलाई शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस प्रमुख केजी बैदारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई ६ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो विद्यालयले यसअघि कम्प्युटर अभावमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिँदै आइरहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले कम्प्युटर प्राप्त गरेपछि विद्यार्थीमा प्रयोगात्मक र व्यवहारिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए । “हामीले कक्षा २ का विद्यार्थीहरुलाई आर्थिक अभावकै बीचमा कम्प्युटर नभएर सैद्धान्तिक ज्ञान मात्रै दिँदै आएका थियौँ”, थापाले भने, “काभ्रे बहुमुखी क्याम्पसले हाम्रो समस्यालाई अध्यनजर गरेर छ थान कम्प्युटर दिएको छ, अब यसले विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्राप्त गर्नमा ठूलो सहयोग पुग्नेछ ।” विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि बन्द भएको र स्थानीयवासीको सक्रियतामा २०७६ वैशाखबाट पुनःसञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्म सञ्चालन गर्ने योजनाका साथ व्यवस्थापन समितिले नयाँ भवन निर्माणका साथै नयाँ कक्षा कोठाको लागि काम शुरु गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । सो विद्यालयलाई अहिले नगरपालिकाबाट एकजना दरबन्दी व्यवस्था गरिदिएको छ भने तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको छ । विद्यालयमा ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस