इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्छ, अनावश्यक खपत नगरौंः एनटीए

काठमाडौं । इन्टरनेट सेवामा ग्राहकहरुको माग बढेको कारण इन्टरनेटको गति कम भएको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जनाएको छ । सरकारले घोषण गरेको लकडाउनको कारण धेरैले इन्टरनेट प्रयोग गर्दा गति कम भएको र अत्याधिक प्रयोगका कारण कुनैपनि बेला सेवा अवरुद्ध हुनसक्ने भएकाले अनावश्यक काममा इन्टरनेटको प्रयोग नगर्न एनटीएले प्रयोगकर्तालाई सुझाएको छ । अहिले इन्टरनेटको गतिलाई असर पार्ने अन्य केही कारण नभई प्रयोगकर्ताहरुबाट माग ह्वात्तै बढेका कारण इन्टरनेटको गतिमा असर पुगेको एनटीएका सूचना अधिकारी सन्दिप अधिकारी बताउँछन् । ‘माग बढेकै कारण इन्टरनेटको गतिमा असर पुगेको हो, केही समयपछि यो समस्या आफै हटेर जान्छ तर तत्कालका लागि भने अनावश्यक प्रयोग गर्नु हुँदैन’, एनटीएका सूचना अधिकारी सन्दिप अधिकारीले विकासन्युजसँग भने । तत्काल समस्या समाधान हुँदैन अनावश्यक हाई स्ट्रिमीङ्ग भिडियो नहेर्न तथा गेम नखेल्न एनटीएले सुझाएको छ । तत्कालका लागि व्याण्डविथको कमी भएकाले माग अनुसारको आपूर्ति गर्न गाह्रो भएको हो । अहिले कोरोना भाइसरको कारण सरकारले लकडाउन गरिरहेको अवस्थामा घरबाटै इन्टरनेट चलाउनेहरु बढेको एनटीएले बताएको छ । लकडाउनभन्दा बाहेकको अवस्थामा अन्य काममा व्यस्त हुने प्रयोगकर्ताहरु अहिले इन्टरनेट प्रयोगमा व्यस्त छन् । घरभित्र रहदा विभिन्न प्रकृतिका काममा इन्टरनेट चलाईने भएपनि एनटीएले आवश्यकतामा मात्रै चलाउँन अनुरोध गरेको छ । व्याण्डविथ नै कमी भएको र अत्याधिक प्रयोगकर्ता भएको कारण इन्टरनेटको गति कम भएकोले यसलाई बढाउने विकल्प नभएको एनटीएको भनाइ छ । नेट स्लो भए उपाए छैन तत्कालका लागि नयाँ व्याण्डविथ राख्न सम्भव नभएको कारण देखाउँदै इन्टरनेट सेवा भन्ने बित्तीकै बलियो बनाउँन नसकिने एनटीएको तर्क छ । सेवा लिदै आएका ग्राहकहरुको हकमा सकेसम्म कुनै किसिमका अप्ठेरो आउँन नदिने अधिकारी बताउँछन् । विगत केही महिनादेखि विश्वमा देखिएको कोरोना भाइरसका कारण विश्वव्यापीमा रुपमा इन्टरनेट प्रयोग बढेको र नेपालमा पनि यही अवस्था रहेकोले कुनै पनि बेला सेवा नै अवरुद्ध हुन सक्ने एनटीएले जनाएको छ । सोही कारण प्रयोगकर्ताले सो कुरालाई बुझेर महत्वपूर्ण काममा मात्र इन्टरनेट प्रयोग गर्न अनुरोध गरेको छ । अहिले सेवा प्रदायकको दोष छैन एनटीएले अहिले अन्य बेला जस्तो नभई विशेष समय भएकोले सबैले आफ्नो तर्फबाट सहयोगी भुमिकामा काम गर्न आवश्यक रहेको बताएको छ । विभिन्न सन्दर्भमा सेवा प्रदायकहरुलाई गुणस्तरको माग गर्दै आएपनि अहिले भने माग अनुसारको सेवा प्रदान गर्न सेवा प्रदायकहरु लागिपरेको एनटीएको दाबी छ । सबैजनाले मनोरञ्जन लगायतका गतिविधिका लागि इन्टरनेट प्रयोग गर्ने हो भने तत्कालको लागि धान्न गाह्रो हुन्छ । सोही कारण आफूले पाएको सेवाको सही सदुपयोग गर्नुपर्ने एनटीएको अनुरोध छ ।

कोरोनाको बारेमा गलत सूचना रोक्न डब्लुएचओ र राकुटेन भाइबरबीच सम्झौता

काठमाडौं । कोरोना भाइरस( कोभिड-१९) को बारेमा प्रवाह हुने गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरबीच सम्झौता भएको छ । यी दुई संस्थाले गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका हुन्, जुन बहु-भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु हो । सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ । ‘लेटेस्ट न्यूज’ (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा ‘प्रोटेक्ट योरसेल्फ’, ‘मास्क युजेज’ ‘ट्राभल रिकम्मेन्डेसन्स’ तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तरक्रियात्मक ‘मिथ्स’ क्वीज रहेका छन् । यसैगरी च्याटबटमा रहेको ‘डोनेट नाउ’ बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड-१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् । ‘विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।’ डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने । ‘हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई संकटास्पद अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचना विरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । राकुटेन भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।’ राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले बताएका छन् । यो च्याटबट निःशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपँक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्न तथा उनीहरुको मनोबल उकास्न साथसाथै लक डाउनको समयमा समग्र विश्वलाई उत्प्रेरणा प्रदान गर्न र सकारात्मक भावहरु संचार गर्न खास रुपमा तयार पारिएको स्टिकर प्याक पनि प्रस्तुत गर्ने भएको छ । यो प्याक भाइबरको स्टिकर मार्केटबाट डाउनलोड गर्ने जोकोहीले च्याटबटमा छिटो र सजिलै पहुँच प्राप्त गर्नेछ । बट यो लिन्क https://vb.me/c6e9fa मार्फत् पनि प्राप्त गर्न सकिन्छ ।

मोबाइलमा रिचार्ज गरी कसरी लिने रिचार्ज बराबरको बोनस रकम ?

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन गत बुधबारदेखि रिर्चाज बराबरकै बोनस सुविधा दिन सुरु गरेको थियो । तर धेरैले गुनासोे गरिरहेका छन् मैले रिर्चाज गर्दा मेरो फोनमा बोनस आएन भनेर । के गर्ने बोनस लिन नेपाल टेलिकमका अनुसार १ सयको रिचार्ज गर्दा १ सय नै बोनस आउँछ ।अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार रूपैयाँ नै बोनस पाइने छ । जतिको रिर्चाज गर्यो त्यति नै बोनस आउँछ । तर बोनस बापत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । रिचार्ज गरेलगत्तै माेवाइलमा दुइ वटा म्यासेज आउँछ । पहिलाे म्यासेजमा रिचार्ज गरेकाे रकम क्रेडिट भएकाे देखाउँछ । अर्थात तपाइकाे रिचार्ज सफल भयाे । सँगै रिचार्ज बराबरकाे रकम बाेनस बापत तपाइले पाउनु भयाे भन्ने सन्देश आउँछ । बाेनस बापत प्राप्त रकम कति खर्च भयाे र कति बाँकी छ भनेर जान्न विधि उल्लेख गरिएकाे हुन्छ । त्यसबारे जान्नकाे लागि  *१४१५*५५# डायल गर्नुपर्नेछ । त्यस्तै, एफआर टाइप गरी १४१५मा एसएमएस गरेर पनि बाँकी बाेनस रकमबारे जानकारी लिन सकिन्छ । यसरी एसएमएस गर्दा बाेनस रकम कति बाँकी छ र कहिले सकिदै छ भन्ने जानकारी प्राप्त हुन्छ । साथै तपाइले भ्वाइस वा डाटा प्याक सेवा लिनु भएकाे छ भने उक्त सेवामा खपत गर्न बाँकी सेवाहरू उल्लेख गरिएकाे हुन्छ । सबै सन्देशहरू अग्रेजी भाषामा आउने भएकाेले सर्बसाधारण नेपाली उपभाेक्तालाई बुझ्न भने गाह्राे हुनसक्छ । नेपाल टेलिकमका अनुसार ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ । बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बाेनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।