२५ अर्ब लगानी प्रयासमा सरकारी अवराेध, पुराना लगानीकर्ताकाे संरक्षण गर्न नयाँलाई निषेध
काठमाडौं । सरकारले दुरसंचारको क्षेत्रमा पुराना लगानीकर्ताको संरक्षण गर्न नयाँ लगानीकर्तालाई निषेधको बाटो रोजेको छ । सरकारले दुरसंचारको क्षेत्रमा कम्तिमा २५ अर्व रूपैयाँ लगानी गर्न तयार रहेको सीजी कम्युनिकेशन प्रा.लिलाई ढोका बन्द गरिदिएको छ । डिजिटल नेपाल बनाउने सरकारको नीतिलाई सहयोग गर्दै नयाँ प्रविधिमा आधारित दुरसञ्चारको सेवा दिने सीजी टेलिकमको प्रयासमा सरकारले सहयोग नगरेको सीजी कम्यूनिकेशनका प्रबन्ध निर्देशक निर्माण चौधरीले बताए । ‘सेवा सञ्चालन गर्न सरकारले हामीलाई अनुमति पत्र दिएमा दुई वर्षमा नेपालको कम्युनिकेशनको क्षेत्रमा ठूलो परिवर्तन आउने छ । उपभोक्ताले डाटा र भ्वाइस दुबै सेवा आधा सस्तो मूल्यमा पाउने छन्’ आइतबार आयोजित पत्रकारसम्मेलनमा उनले भने–‘पुराना कम्पनीले पुरानो प्रविधिमा आधारित पूर्वाधारमा ठूलो लगानी गरेका छन् । सायद सरकारले उनीहरुको लगानीको संरक्षण गर्न चाहेको होला । हामीलाई सरकारले अनुमति दिएको अवस्थामा हामी नयाँ प्रविधि भित्र्याउँछौं । त्यसको लागत पनि कम हुन्छ र उपभोक्ताले पनि सस्तो मूल्यमा सेवा लिन सक्छन् ।’ नेपाली उपभोक्तालाई फाइभजीको नेटवर्कमा लैजाने हाम्रो सपना पूरा गर्न सबैको सहयोग जरुरी रहेको उनले बताए । सीजी टेलिकम्यूनिकेसन्सले यूनिफाइड लाइसेन्स माग गरेको तर सरकारले लाइसेन्स नदिएको अवस्थमा चौधरीले सबै पक्षसँग सहयोगको अपिल गरेका हुन् । गत साता मात्र दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सीजी टेलिकम्यूनिकेसन्सको ‘लिमिटेड मोविलिटी सर्भिस’ सञ्चालन गर्न ७ जिल्लामा पाएको अनुमति पत्र खारेज गरेको थियो । त्यस्तै, सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सीजीले २० अर्ब रुपैयाँ तिरे यूनिफाइड लाइसेन्स पाउने बताएका थिए । त्यसपछि सरकारी पक्ष र सीजी टेलिकमबीच रहेका असमझदारीको पक्षहरु सार्वजनिक भइरहेका छन् । यूनिफाइड लाइसेन्स पाएको १० वर्षभित्र २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्ने नियम रहेकोले शुरुमा नै सरकारले २० अर्ब रुपैयाँ माग्न नमिल्ने चौधरी ग्रुपको भनाई छ । ‘मन्त्रीले सीजी टेलिकम्युनिकेसन्सले २० अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेपछि मात्र यूनिफाइड लाइसेन्स प्रदान गरिने छ भन्नु ऐन, नियम र कानुन सम्मत छैन’ चौधरी ग्रुपका प्रबक्ता मधुसूधन पौडेल भने । सीजी कम्यूनिकेसन्सले हालसम्म सरकारलाई ४४ करोड ९४ लाख ५७ हजार ७२३ रुपैयाँ राजश्व बुझाएको जनाएको छ । सरकारलाई बुझाउनु पर्ने बक्यौता कुनै बाँकी नरहेको जानकारी गराउँदै आफूहरुले यूनिफाइड लाइसेन्स नपाउनु पर्ने कारणबारे मन्त्रालय र प्राधिकरणलाई पटक पटक पत्राचार गरेको तर त्यसको कुनै जवाफ नपाएको प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । टकसेलसँग रणनीतिक साझेदारी करिब १ वर्ष अगाडी २६ फेब्रुअरी २०१९ मा बार्सिलोनामा आयोजित ‘वर्ड मोवाइल कंग्रेस”को अवसरमा सि.जी. कम्यूनिकेसन प्राली र टकसेलबीच प्राविधिक साझेदारीमा द्धिपक्षीय सहमतिमा हस्ताक्षर भएको थियो । साथै, २०१९ को मार्च २९ र ३० मा नेपालमा सम्पन्न भएको लगानी सम्मेलनमा सरकारका मन्त्रीहरुकै उपस्थितिमा टकसेलसँग रणनीतिक साझेदारीमा हस्ताक्षर भएको थियो । सरकारका उच्च अधिकारीहरुले आर्थिक सम्मृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने सरकारको नीति रहेको बारम्बार बताउँदै आएका छन् । तर एउटै कम्पनीले २५ अर्ब लगानी गर्छु भन्ने स्वदेशी लगानीकर्तालाई लाइसेन्स नदिदा अरु लगानीकर्ता पनि निरुत्साहिन हुने जानकारहरु बताउँछन् ।
टेलिकमकाे विभिन्न ८ सेवामा विशेष छुट, कुन कुनमा के के ?
काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ । डे डाटा प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ । नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ । सोसियल मिडिया प्याक सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ । युट्युब (स्ट्रिमिङ) डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । पोष्टपेड प्याक जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ । बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *१४१५* मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी सेवा खरिद गर्न सकिन्छ । (माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।)
नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सम्झौता
काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड रिचार्च टपअप गर्न सक्ने छन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ । कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्फत संसारको कुनै पनि कुनाबाट भिसा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराए । हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ । त्यस्तै, नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराएका छन् । नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० वर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो । यस नबिल बैंकको १ सय १२ शाखा १६० एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।