‘खल्ती’ र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने
काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै वस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन् । दुवै संस्थाबीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजतिक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए । ‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताउँछन् । ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए । ‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित
काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचन आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उनले बताए । नेपाल टेलिकममा ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर छ । माघ ०७६ मा नै फाेरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको दुई लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरी लागू गर्नुपर्ने माग उनीहरूको छ ।
बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप सञ्चालनमा
काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ । यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिने सेफनेटले जनाएको छ । यसको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउदै सरोकारवालाहरुको राय संकलन गर्न रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते (जुलाई १८, २०२० तारिख) देखि सञ्चालन हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको रघुवंशीले बताए । भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते(२० जुलाई) शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग वियमा बालबालिकासँग छलफल हुनेछ । कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । तेस्रो सेसन साउन ८ गते बिहिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुर्व्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ । चौथौ सेसन साउन १० गते शनिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवाको नजरमा साइबर बुलिङ र हेट स्पीच विषयमा छलफल हुनेछ । यसैगरी पाचांै सेसन साउन १२ गते सोमबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुर्व्यवहार र शोषन सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ । छैठौ सेसन साउन १५ गते बुधबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिका विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिनेछ । कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ । कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकिकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ । यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्वन्धित निकायमा गर्नपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ । कार्यक्रममा डिजिटल संवाद र लिभिङ विथ आइसिटीको सहकार्य र सहयोग रहेको छ ।