२०७७ सालः डिजिटल बैंकिङ अबको आधार

काठमाडौं । एउटा प्रशंगबाट शुरु गरौं । तान्जेनियाका महिलाहरु शल्यक्रियाको लागि अस्पताल जाँदा यात्रा गरिरहेको बसलाई टिकट देखाउनु अर्थात पैसा दिनुको सट्टा एउटा मेसेज देखाउँछन् । यस्तै, पाकिस्तानका बैंकहरु पनि खाली देखिन्छन् । यसको मतलव उनीहरु पैसाको कारोबार नगर्ने भन्ने होइन । उनीहरुसँग बैंकमा गएर लाइन लाग्ने समय छैन । उनीहरु त घरमै बसेर अर्थात काम गरिरहेकै समयमा मोबाइल बैंकिङको भरपुर फाइदा लिइरहेका हुन्छन् । यस्तै, अमेरिकामा ८० प्रतिशत स्मार्टफोन मालिकहरूले विगत छ महिनामा अनलाइनबाटै सामान खरीदको लागि आफ्नो उपकरण (मोबाइल) प्रयोग गरे । सन् २०१९ मा तिनीहरूको बैंक ब्यालेन्स जाँच गर्न तीन चौथाईभन्दा धेरै अमेरिकीहरूले मोबाइलको प्रयोग गरेकाे पाइयाे । यी डिजिटल बैंकिङ प्रयोग गर्ने केही प्रतिनिधि देशहरु मात्र हुन् । घरमै बसेर डिजिटल बैंकिङको भरपुर प्रयोग गर्नेहरूकाे संख्या संसारभर धेरै ठूलाे छ । अनि हामी नेपाली ? सिक्दैछौं । बानी पार्दैछाैं । डिजिटल बैंकिङ शाखा आधारित बैंकिङ मोडेलका साथ सन् १९९०को दशकमा शुरु भयो । त्यो समयदेखि विश्वमा यसको प्रयोग र प्रभाव निकै बढेको छ । त्यो समयदेखि विश्वभर नै नयाँ बैंकहरूले डिजिटल बैंकिङको प्रयोगलाई वृद्धि गर्दै गए । डिजिटल बैंकिंङ प्रणाली देशमा आर्थिक गतिविधिहरुको प्रवर्द्धनको लागि आवश्यक छ । वस्तु तथा उत्पादन खरीद गर्न चाहने ग्राहक र उत्पादक जो वस्तुलाई बिक्री गर्छन् । उनीहरुका लागि पनि डिजिटल बैंकिङ कोसेढुङ्गा सावित हुन पुग्यो र सक्छ पनि । बैंकिंङ क्षेत्रको मुख्य उद्धेश्य भनेको आफ्ना ग्राहकलाई प्रभावकारी ढंगले बैंकिङ सेवा दिनु हो । अहिलेको सन्दर्भमा डिजिटल बैंकिंङ त्यसको एक मात्र आधार र विकल्प हो । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय आफ्ना ग्राहकलाई कसरी सेवा दिने ? कुन खालको सेवा दिने भन्नेतर्फ बढी चनाखाे हुन थालेका छन् । त्यो चासो बढ्नु स्वभाविक हो । बजार हो । बजारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नै पर्छ । प्रतिस्पर्धाका लागि भिजन र मिसन चाहिँन्छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पनि अहिले आफ्ना ग्राहकलाई सन्तुष्ट पार्न सक्ने एक मात्र आधार डिजिटिल बैंकिंङमा विशेष जाेड दिइरहेका छन् । डिजिटल बैंकिङबाट सेवाग्राहीले घरमै बसेर वा जुनसकै ठाउँबाट पनि आफ्नो बैंक खाताको कारोबार गर्न सक्छन् । नेपालमा डिजिटल बैंकिङको अभ्यास त्यति लामो छैन । तर, समय, माग र आफ्नो सेवा सुविधाका लागि पनि सर्वसाधारणाले यसप्रति चासो राख्न थालेका छन् । हिजोका दिनहरु जस्तो घण्टौं लाईनमा लागेर दुई हजार रुपैयाँ बैंकबाट झिँक्ने दिन अहिले छैन । यसलाई मध्येनजर गर्दै नेपाली बैंकहरुले पनि डिजिटल बैंकिङका लागि आवश्यक तयारी र पूर्वाधारहरु पनि तयार गरिरहेका छन् । डिजिटल बैंकिंङ प्रयोगको सबैभन्दा ठूलो चुनौती भनेको आम नागरिकलाई यसप्रति बानी बसाल्नु हो । त्यसका लागि अहिले नेपाली बैंकहरु अभ्यासरत छन् । माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ विभागका नायब प्रमुख विनय रेग्मी अहिले नेपाली बैंकहरु सेवाग्राहीलाई डिजिटल बैंकिंङ प्रयोग गर्न सिकाइरहेको बताउँछन् । सबैभन्दा महत्वपूर्ण पाटो ग्राहकले डिजिटल बैंकिंङ प्रयोग गर्न जान्नु भएकाले बैंकहरुले सबैभन्दा बढी ध्यान यसमा केन्द्रित गरेको उनको भनाइ छ । आकर्षण बढ्दो खासगरी ३ वर्षयता बैंकिङ प्रविधिका ग्राहक ह्वात्तै बढेका छन् । २०७३ चैत्र मसान्तसम्म मोबाइल बैंकिङका ग्राहक २४ लाखमात्रै थिए । अहिले १ करोड नजिक पुगेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको मात्रै तथ्यांक हेर्ने हो भने पनि बैंकिङ प्रविधिमा सर्वसाधारणको आकर्षण निकै बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिले डिजिटल बैंकिङबिना ग्राहकलाई छिटो तथा छरितो सेवा सम्भव नभएको बताए । राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्नका लागि विभिन्न रणनीतिहरु बनाइरहेको उनको भनाइ छ । डिजिटल बैंकिङप्रति सर्वसाधारणको चासो, यसको प्रयोग र कारोबार बढ्दै गएको भट्टले बताए । ‘यो समयमा डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने महत्वपूर्ण समय हो, भारतमा पनि अहिले डिजिटल पेमेन्टमा राम्रो आर्कषण बढेको छ, हामी पनि त्यसलाई आत्मसाथ गरी अगाडि बढिरहेका छौं, यसको अन्य विकल्प छैन,’ उनले भने । आव ०७५/७६ को असार मसान्तसम्म मोबाइल बैंकिङका प्रयोगकर्ता ८३ लाख ४७ हजार १ सय ८७ थिए । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङका ग्राहक ९८ लाखभन्दा बढी पुगिगसकेका छन् । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङमा ९ लाख ६९ हजार, एटीएम ३६ हजार ६२, डेविट काडर्का प्रयोगकर्ता ७२ लाख १५ हजार र क्रेडिटकार्डका प्रयोगकर्ताको संख्या एक लाख ४६ हजार पुगेको छ । मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्तासँगै डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या पनि वृद्धि भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यी विभिन्न सेवा तथा सुविधाहरु दिनका लागि विभिन्न रणनीतिहरु पनि अपनाई रहेका छन् । डिजिटल बैंकिङकाे विकल्प छैन राष्ट्र बैंकले समय–समयमा डिजिटल बैंकिङ तथा प्रविधिको प्रयोग बढाउन बैंकहरूलाई निर्देशन दिँदै आएको छ । प्रविधिको प्रयोगबाट छिटो र सस्तोमा धेरै काम गर्न सकिने भएकाले पनि यसको प्रयोग बढाउन केन्द्रीय बैंकले निर्देशन दिइरहेको हो । यद्यपि राष्ट्र बैंककाे निर्देशनकाे परिपालना र विश्वसनियतामा केही समस्या देखिएका पनि छन् । नेपालका लागि यो नयाँ अभ्यास भएपनि कतिपय बैंकहरुले भने डिजिटल बैंकिङलाई एक अवसरका रुपमा सदुपयोग गरिरहेका छन् । यसको प्रत्यक्ष लाभ ग्राहकले लिइरहेका छन् । अझै पनि बैंकिङ प्रविधि विश्वसनीय बन्न सकिरहेका छैनन् । बेला–बेलामा बैंकिङ क्षेत्रमा हुने गरेका ह्याकिङ तथा चोरीका घटनाले सर्वसाधारणमा आतंक सिर्जना हुने गरेको छ । तर, यसमा प्रवक्ता भट्ट भने जहाँ अवसर त्यहाँ चुनौती पनि हुने भएकोले त्यो जोखिम कम गर्नका लागि विभिन्न उपायहरुको अवलम्बन र प्रयास भइरहेको बताउँछन् । डिजिटल बैंकिङमा चुनौती र जोखिम हुने बित्तिकै यसबाट कोही भाग्न नहुने उनको तर्क छ । बैंकिङ प्रविधिको जतिसक्दो उपभोग गर्नुपर्ने भन्दै उनले बैंकहरूले प्रविधिमा लगानी थप बढाउनु पर्ने आवश्यकता औंल्याए । बैंकहरू पनि प्रविधिको प्रयोग बढाउनु पर्नेमै जोड दिन्छन् । प्रविधिमा नेपालमा मात्रै नभएर विश्वभर नै चुनौती रहे पनि यसबाट कोही डराउन नहुने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछाने बताउँछन् । ‘प्रविधिमा केही चुनौती त हुन्छ नै, यो नेपालमा मात्रै होइन विश्वभर नै हुन्छ, विगतका घटनाबाट पाठ सिकेर मजबुत बन्ने हो, डराउने हाेइन,’ उनले भने । राष्ट्र बैंकका प्रवक्ता भट्ट पनि डिजिटल बैंकिङ बारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर जोखिमरहित बनाउनेमा जोड दिन्छन् । ‘विभिन्न समयमा भएका अध्ययन अनुसन्धानलाई आधार मानेर हामीले संयन्त्र बनाइरहेका छौं, यसको छुट्टै विभाग पनि बनाएर हामी काम गरिरहेका छौं,’ उनले भने । नेपाली बैंकहरुले डिजिटल बैंकिङको विस्तार तथा प्रवद्र्धनका लागि भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको बताउँदै उनले यसको प्रयोगले व्यक्ति मात्र होइन, देश नै लाभान्वित हुने बताए । लकडाउन एक अवसर डिजिटल बैंकिङ प्रयोग तथा सिक्नका लागि लकडाउन एक किसिमको अवसर भएको बैंकर्सको धारणा छ । अहिले धेरै बैंकहरुले लकडाउनलाई एक अवसरका रुपमा लिएर आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सिकाई रहेका छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सबै मानिसहरु घरभित्रै छन् । दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सपिङ गर्ने काम मानिसहरु घरबाटै गर्न थालेका छन् । तर, धेरै ग्राहकमा डिजिटल बैंकिङ सम्बन्धि ज्ञान नहुँदा बैंकहरुको ध्यान सेवा सिकाउनेतर्फ छ । उनीहरु मोबाइल बैंकिङ प्रवद्र्धन गर्नको लागि रणनीतिक रुपमा लागिरहेका छन् । डिजिटल बैंकिङ सम्बन्धि सचेतना गर्नको लागि बैंकहरुले विभिन्न च्यानलहरुकाे प्रयोग पनि गरिरहेका छन् । रेग्मीले मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने कुराहरुलाई लिएर विभिन्न माध्यममार्फत सम्पर्क भइरहेको बताए । मोबाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र साे एपलाई चलाउन प्रेरित गर्नको लागि आफुहरुले कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेर काम गरिरहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले यो लकडाउनको समय सदुपयोग गरेर डिजिटल बैंकिङ सेवालाई विस्तार गरिरहेका छन् । प्रवक्ता भट्टले पनि यो समय मात्र नभएर यो वर्ष नै डिजिटल बैंकिङमा जानका लागि महत्वपूर्ण हुन सक्ने बताए । ‘यो अवस्थामा घरमै बसेर सपिङ गर्न सकियो, आफ्नै मोबाइलबाट व्यालेन्स टपअप गर्न सकियो भने भोलिको दिनमा ठूलो रकमको कारोबार पनि मोबाइल बैंकिङ मार्फत गर्न सकिन्छ,’ उनले भने । लकडाउनको समयमा सामान होम डेलिभरी गर्ने, अनलाइन कारोबार गर्ने व्यापार पनि बढ्न सक्ने उनको बुझाई छ । पेमेन्ट आधुनिक बनाउन नेशनल पेमेन्ट गेटवे राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवालाई सहज अर्थात आधुनिक बनाउनका लागि नेशनल पेमेन्ट गेटवे सिस्टमको अध्ययनमा जुटेको छ । प्रवक्ता भट्टले देशको पेमेन्ट प्रणालीलाई आधुनिक तथा सहज बनाउनका लागि राष्ट्र बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरु नेशनल पेमेन्ट गेटवेको अध्ययनमा जुटेको बताए । ‘विभिन्न वालेटहरुको संख्या पनि बढिरहेको छ, बैंकहरुले पनि यसलाई प्राथमिकताका साथ काम गरिहेका छन्,  हामी क्यास बोकेर सामान किन्न जाने समयबाट छुट्कारा पाउँदैछाैं, अब सहज वाताववरण बन्दैछ , असुरक्षा महसुस हुँदैन,’ उनले भने । अहिले सबैमा डिजिटल बैंकिङलाई विस्तार गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह भएको बताउँदै उनले अहिले भइरहेको नीतिगत व्यवस्थाहरु अत्यन्तै महत्वपूर्ण भएकोले त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए । ‘नेपालमा ५ वर्ष अगाडि पेमेन्टका विषयमा यति धेरै बहस हुँदैनथ्यो, तर, अहिले याे विषयमा धेरै चासो बढेको छ,’ उनले भने । डिजिटल बैंकिङका लागि यो वर्ष कोसेढुङ्गा सावित हुन सक्छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले यसको प्रवद्र्धनमा जुट्नु पर्ने उनको धारणा छ ।

लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?

एक्कासौ शताब्दीमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म बजारमा पाउन थाल्यो । आवश्यकताअनुसार १६ जिबी ३२ जिबी पनि पर्सनल कम्प्युटरको मागमा आउन थाल्यो । गेमिंग सिस्टम अनि सर्भरमा र्यामको प्रयोग धेरै नै हुन्छ, आवश्यकता अनुसार कस्टमाइजेसन गरेर ब्रान्डेड वा एसेम्बल्ड सिस्टम किन्न पनि पाइन्छ, साथै ल्यापटप नयाँ किन्दासमेत र्याम थपेर अनि हार्ड डिस्क ड्राइभको सट्टामा सोलिड इस्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ । प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्डडिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुदै गएको छ । आज कम्प्युटरले धेरैनै क्षेत्रलाइ ठुलो सहयोग गरेको छ । कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निक्कैनै द्रुत गतिले प्रोसेस गर्दछन । र्याम कम वा धेरै चाहिने हो भन्ने कुरा येहि डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ । एक स्तरमा चली रहेको सुचना प्रबिधिको प्रयोगलाई कोरोना भाइरस माहामारीको लक् डाउनले यसै प्रबिधिलाइ अनेक तरिकाले प्रयोग गर्न सकियो । यो फेशबुक, इन्सटाग्राम, टिकटक वा भनौ सोसल मिडियामा मात्र सिमित नरही वा व्यक्तिगत च्याट, भिडियो कलिंग, व्हाट्सयाप, भाइबर, इमो वा इस्काईप देखि अलग्गै पनि संसार छ भनेर प्रस्तुत गर्न थाल्यो । गुगलको ह्यांगआउट (गुगल मिट), माइक्रोसफ्टको टिम (इस्काईप), भिडियो कन्फ्रेंशकलिंग कल गर्ने जुमका युजरहरु रातारात बढ्न थाले । वर्कफ्रम होम : सुरु सुरमा नेपालमा खासै प्रयोग नभएपनि सन् २०२० को मार्च महिना देखि वर्क फ्रम होमले निक्कै नै प्राथमिकता पायो । वर्क फ्रम होम कुनै नयाँ शब्द भने अवश्य थिएन । नेपालमै पनि केहि संस्थाहरुले यसलाई शुरु देखि नै अङ्गीकार गर्दै लागेका थिए । एन सेल, स्ट्यानडर्ड चार्टर्ड बैंक आदिले यसलाई शुरुदेखि नै प्राथमिकता दिदै आएका थिए । वर्डप्रेसका संस्थापक म्याट मुलेंवेगले यसबिषयमा २०१९ फेब्रुअरी ५ मा टेड टक मार्फत एउटा भाषणमा वर्क फ्रम होमको बारेमा निक्कै रोचक कुरा भनेका थिए जुन भिडियो १८ लाख ८६ हजार भन्दा बढी पटक हेरिएको छ, अहिले आएर संसारको हरेक कुना कुनामा वर्क फ्रम होमको विकास गइरहेको हुदैछ । वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थानपाउने छ । स्टडी फ्रम होम : जब कुनै पनि अफिशमा काम गर्ने व्यक्तिले घरमै वा कुनै स्थानमा बसेर काम गर्न सक्छभने बिध्यालय, कलेज अनिकुनैपनि शैक्षिक संस्थाले येही कुरालाइ केहि हद सम्म अगाडी बढाएर स्टडी फ्रम होमको अबधारणालाइ मुर्त रुप दिन पनि सक्नेछन । अनलाइनबाट क्लास गराउने, होमवर्क दिने, चेक गर्ने, हाजिरीगर्ने, भिडियो कल र कन्फ्रेंस मार्फत बिद्यार्थीले शिक्षकलाइ सोध्ने, शिक्षकले बिद्यार्थीलाइ सोध्ने, आदि गर्न पनि सकिन्छ । त्यसले गर्दा शुरु शुरुमाअसहजपर्न सक्ला तर यसले फाइदा भने अवश्य पुर्याउछ । नेपालमा यो कुरा नयाँ नै हो भन्ने छैन । लक् डाउनको अवस्थामा पनि शुरु देखि नै ब्रिटिश कलेजले आफ्ना बिद्यार्थीका लागि अनलाइन मार्फत कक्षा संचलान गर्न थाल्यो । यहि कुरा लाई केहि अन्य कलेज तथा शैक्षिक संस्थाहरुले अंगीकार गर्दै अनलाइन मार्फत कक्षाहरु संचालनमा लिएर आइरहेकाछन् । अनलाइन मार्फत कक्षा र अनलाइन पठनपाठन भिन्नै कुरा भने हैनन तर अनलाइन कक्षा भन्नाले अनलाइन मार्फत पढाउने अनि अनलाइन पठन पाठन भन्नाले भौतिक कक्षाजस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन । अनलाइन कक्षा कसरी संचालन गर्ने? इन्टरनेट मार्फत गुगल क्लासरुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाकबोर्ड अनि तेस्तै केहि अन्य ई-लर्निंग म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षासंचलान गर्न सकिन्छ । भिडियो कन्फ्रेंसिंग गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलै संग यस्ता कक्षासंचालन गरिन्छ । जसमा बिद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाइ यस्ता लर्निंग म्यानेजमेन्टका प्लाटफर्मले सहज बनाउछन । बिकशित राष्ट्रतिर फर्केर हेर्ने हो भने मुडल, ब्लाकबोर्ड, क्यानभास आदिले आफ्नो प्रभुत्व जमाई सकेकाछन । माइक्रोसफ्टले आफ्नो प्रडक्ट माइक्रोसफ्ट टिम्स मार्फत यस्तो लर्निंग म्याजेंमेंटको सिस्टम उपलब्ध गराउछ । येडोबले पनि येडोब क्यापटिभेट मार्फत लर्निंग म्यानेजमेन्ट सिस्टम संचलान गर्न सहयोग पुर्याउछ । लर्निंग म्यानेजमेन्ट सिस्टम कुनै ओपन सोर्स पनि हुन्छन जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन भने कुनै लाइसेन्स भर्सन हुन्छन जसलाई बार्षिक रुपमा केहि रकम बुझाउनु पर्ने हुन्छ । यस्ता लर्निंग म्यानेजमेन्ट सिस्टमले होमवर्क दिने, त्यसका बारेमा जानकारी लिने, बिद्यार्थीहरुलाइ ग्रेडिंग गर्ने, विध्यार्थी र शिक्षक बिचमा कम्युनिकेसन, रिपोर्टको ओर्जिनालिटी हेर्ने, कही बाट कपि गरेको हो कि, हुबहु सारेको हो कि, त्यसको सोर्स हेर्ने, कुनै पनि शुरु गरेको कोर्सलाइ कोर्स सकिएपछि आर्काइभ गर्ने, मोबाइल याप्सबाट एक्सेस गर्न सकिने प्राबधान मिलाइएको हुन्छ, परीक्षा बनाउन सकिने, अभिभावकलाइ जोड्ने अनि अभिभावकले दैनिक वा साप्ताहिक रुपमा बिद्यार्थीको रिपोर्ट हर्न सक्ने, शिक्षकले क्लास वा कोर्स बनाउने सक्ने, क्लास वा कोर्स मै प्रस्नोतर गर्ने, कुन कुन बिद्यार्थीले गृहकार्य गरेको नगरेको आदि जस्ता धेरैनै फिचर हुन्छन, साथै मोड्युल अनुसार के के फिचर लिने भन्ने पनि आफै निर्धारण गर्न सकिन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टम मार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टिफिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निंग म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मनेंस छ, कक्षाकोफ्लो कस्तो जादै छ भन्ने बिषयमा एडमिनका रोल अनुसार हेर्ने प्राबधान हुन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टमले शिक्षक वा प्रशिक्षकलाइ सजिलो तरिकाले बिषयबस्तुको कन्टेन्ट बनाउने, बिद्यार्थीलाइ मनिटर गर्ने, छलफलहरुको लागि प्राबधान मिलाउने, भिडियो कन्फ्रेंसिंगहरु संचलान गर्न सक्ने व्यवस्था मिलाउछ । सास(SaaS सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निंग म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन जसले गर्दा ग्लोबल एक्सेस मार्फत सि डी यन टेक्नोलोजीमा आधारित भै नजिकको सर्भर लोकेसन मार्फत एक्सेस गर्न सकिन्छ । ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टमका कोडलाइ आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकता अनुसारको र्याम, अपटाइम, डिस्क स्पेसछानेर भी पी यस सर्भरमा होस्ट गरि संचालन सकिन्छ, गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लर्निंग म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित माशिक वा बार्षिक रकम तिरेर मात्र लिन सकिन्छ । गुगल क्लासरुम: गुगलले गुगल क्लासरुम को प्रिभिउ ६ मे २०१४ मा आफ्नो जी सुइट अन्तर्गत गुगल येजुकेसनमा उपलब्ध गरायो, अनि २०१७ मा सबै गुगल युजरका लागि खुल्ला गरिदियो साथै सोहि वर्ष अप्रिलमा सबै गुगल युजरलाइ क्लास बनाउन र कक्षा संचालन गर्ने प्राबधान मिलायो । गुगल क्लासरुमले गुगल ड्राइभ, गुगल डक्स, गुगल शिट्स, अनि जिमेल सबैलाई मिलाएर शैक्षिक संस्थालाइ पेपरलेस बनाउन सक्ने बनायो । गुगल क्लासरुमका कक्षाहरु स्वत गुगल ड्राइभमा आएर कोर्स र क्लास अनुसार फोल्डरहरु बनेर बस्छ। माइक्रोसफ्ट क्लास रुम : माइक्रोसफ्ट टिम मार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम बिद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि येसाइनमेन्टको वर्कफ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउडड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमांईडर निश्चित गर्न सकिने छन् । माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिश ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ । मुडल : मुडल ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टम हो, जुन आफुलाइ चाहिए जस्तै गरि परिमार्जन गर्न सकिन्छ । तर त्यसका लागि केहि अतिरिक्त ज्ञानको आवश्यकता भने पर्दछ । आफ्नै सर्भरमा होस्ट गर्ने वा आफ्नै स्कुल कलेजमा होस्ट गर्ने समेत गर्न सकिन्छ । जति नजिकको सर्भर लोकेसनमा होस्ट गर्यो यो एक्सेस गर्न त्यतिनै सजिलो र छिटो हुन्छ । बिद्यार्थीको वा युजरहरुको संख्याको आधारमा यसको लोड क्यालकुलेसन गरेर यसलाई कस्टम सर्भरमा राख्न सकिन्छ । मुडल विन्डोज बेस्ड वा वेब बेस्ड इन्स्टलरमा पनि उपलब्ध छ । जसले केहि क्लिकको भरमा नै त्यसलाई इन्स्टल गर्ने ब्यवस्था मिलाई दिन्छ । मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निंग म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो यल यम यस (Edmodo LMS) टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology)लर्न ड्यास (LearnDash), सि स यल यम यस (Seesaw) LMS, लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल Teachable आदि छन् जुन आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ । (लेखक सुचना प्रबिधिका विद्यार्थी हुन्)

एनआईसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ छुट पाउने भएका छन् । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएका हुन् । जसको लागि बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । यसका साथै यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।