इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्यो कारोबार

काठमाडाैं । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्र्याउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ ।

वुहान ल्याबका प्रमुख भन्छन् – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

न्यूयोर्क ।  कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरे । धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ । पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ । दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ । “यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ । अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ । मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नु भएको थियो । उहाँले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गर्नु भएको छ । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ । क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् । न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७ सय ९९ जनासम्मको ज्यान गएको थियो । करिब १ लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ । दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो । ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो । ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ । भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ । केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । रासस–एपी

भारतीय ह्याकरको निशानामा नेपाली सरकारी वेवसाइट !

काठमाडौं । बेलाबखत विभिन्न ह्याकरहरुले नेपाल सरकार वा अन्य निजी कम्पनीहरुको वेवसाइट ह्याक गरेका समाचारहरु आउने गरेका छन् । ती वेवसाइटहरु कसले ह्याक गरेको भन्ने नखुले पनि साइटहरु भने निरन्तर ह्याक हुँदै आएकमा छन् । तर, अहिले भारतीय ह्याकरहरु खुल्लमखुल्ला नेपाली वेवसाइटहरु ह्याक गर्ने दुस्प्रयासमा लागेका छन् । आज मात्रै भारतीय एक इन्डियन साइबर ट्रुप्स नामको एक समूहले बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको छ । केही दिन यता नेपाल र भारतबीच सीमा विवाद चलिरहँदा उनीहरु नेपाली वेवसाइटहरु ह्याक गर्ने प्रयास गरिरहेका छन् । साइबर ट्रुप्स नाम गरेको सो समूहले सामाजिक सञ्जालमा लेख्दै बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको बताएको छ । उसले सामाजिक सञ्जालमा लेखेको छ, नेपाल सरकारको साइट ह्याक गरेका छौं, कारण थाहै होला, हामीले साइट फेरि चल्न दिएका छौं । यो सामान्य चेतावनी मात्र हो, भारतीयसँग गडबड नगर्नुहोस् ।’ भारतीय ह्याकर मात्र होइन, भारतीय मिडियाहरु पनि अहिले नेपालको खुलेआम विरोधमा उत्रेका छन् । हिजो मात्रै भारतका एक टेलिभिजनका कार्यक्रम सञ्चालकले काँग्रसका नेता मिनेन्द्र रिजालसँग चीनियाँ ह्याकरहरुले तपाईहरुको वेवसाइट ह्याक गर्छ, फेरि उनीहरुकै पक्षमा किन जानुहुन्छ भन्ने प्रश्न गरेका थिए । अहिले नेपाल र भारत नेपालबीचको सीमा कारण थप समस्याहरु देखिन थालेका छन् । यही कारणले हुनुपर्छ, भारतीय ह्याकरहरुले अब नेपाली सरकारी साइटहरु पनि ह्याक गर्न थालेका छन् । अहिले पनि ह्याक भएको बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट खुलेको छैन । साइबर टुप्स नाम गरेको त्यो समूहले अझै पनि नेपाली सरकारी वेवसाइट ह्याक गर्ने चेतावनी दिएको छ । पछिल्लो समयमा नेपालमा वेवसाइट ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । केन्द्रीय साइवर ब्युरोले पनि एउटा वेवसाइट ह्याक भएको जाकारी आफुसमक्ष आएको बताएको छ । तर, त्यसको बारेमा थप अनुसन्धान भइरहेको व्युरोमा एक अधिकारीले बताए । ‘हामीलाई पनि एउटा वेवसाइट ह्याक भयो भनेर म्यासेज आएको छ, यसको बारेमा हानमी बुझ्दैछौं, त्यसपछि थप कुरा सार्वजनिक गर्छौं,’ ती अधिकारीले भने । लकडाउनको समयमै चैत २६ गते इन्टरनेट सेवाप्रदायक कम्पनी ‘भायनेट’को प्रणालीबाट ह्याकरहरुले ग्राहकको तथ्यांक चोरी गरेका ,थिए । ह्याकरहरुले कमपनीको सिस्टम ह्याक गरी १ लाख ६० हजार प्रयोगकर्ताको सम्पूर्ण विवरण चोरी गर्यो । यस्तै, त्यसको दुई दिन पछि अर्थात चैत २८ गते प्रभु मनी ट्रान्सफरको डाटा ह्याक भएको सूचना पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । ह्याकरले प्रभुपेका ग्राहकका व्यक्तिगत जानकारी पनि त्यसमा उल्लेख गरेका थिए । अहलिे यस्ता विभिन्न साइवर क्राइम तथा ह्याकिङका घटनाहरु बढिरहेका छन् । यी विभिन्न घटनाहरुले अनलाइन कारोबार गर्ने र वेवसाइटमा गोप्य सूचना राख्न पनि चुनौती थपिएको छ । कोरोना भाइरस (कोभिड–१९)को कारण देशभर भएको लकडाउकै समयमा सिर्जित यी दुई ठूला घटनाले पनि साइवर ह्याकरहरु सलबलाएको प्रष्ट हुन्छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार र प्रयोगकर्ताहरु पनि ह्वात्तै बढेका छन् । केन्द्रीय साइवर ब्युरोका अनुसार चालु आर्थिक वर्षको हालसम्म साइवर अपराध सँग सम्बन्धित एक हजार ७ सयभन्दा बढी उजुरी परेका छन् । उपत्यकामा सबैभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । उनका अनुसार अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका विषयमा छन् । यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको उनको भनाइ छ ।