मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ- अर्थमन्त्री खतिवडा
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए । मन्त्री खतिवडाले भने, ‘लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ । मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ । सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद नरहेको बताउँदै उनले भने, ‘सेटेलाइट सम्बन्धी सबै कुरा पारदर्शी र प्रतिस्र्धाका आधारमा हुनेछ । यसको प्रारम्भिक काम मात्रै आगामी आर्थिक वर्षमा प्रारम्भ गरिन लागिएको हो ।’ विज्ञापन अब छापाको माध्यमबाट मात्र होइन, अन्य माध्यमबाट पनि दिन सकिन्छ भन्ने व्यवस्था गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठन भइसकेपछि विधिसम्मत् ढङ्गले लोककल्याणकारी विज्ञापन उपलब्ध हुनेछ भने । उनले भने ‘बोर्ड गठनपछि कुनै व्यक्ति विशेषलाई विज्ञापन दिने स्थिति हुँदैन, विज्ञापन बोर्ड अब छिट्टै गठन हुनेछ । कसलाई दिने, कसलाई नदिने, कुन विधिबाट दिने, निश्चित मापदण्ड र वस्तुवादी ढङ्गबाट पारदर्शी ढङ्गले बोर्डले काम गर्नेछ ।’ विगतका तुलनामा सञ्चार माध्यमलाई यस पटकको बजेटले धेरै सम्बोधन गरेको बताउँदै मन्त्री खतिवडाले भने ‘सञ्चार गृहका लागि कारोवारका आधारमा लाग्ने शुल्कमा ५० प्रतिशतले घटाइएको छ, दर्ता नवीकरण गर्ने समय बढाइएको छ, सबै किसिमका बैङ्किङ प्रणाली ऋण लिएर सञ्चार गृह सञ्चालन गरिएको छ भने ब्याज र ऋणको ब्याज बुझाउने समयसीमा धकेल्ने स्किम सञ्चार क्षेत्रलाई पनि छ ।’ रेडियो नेपाल र टेलिभिजनलाई स्वायत्त र सक्षम सार्वजनिक सञ्चारमाध्यमको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण अन्तर्गत सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था अघि बढाइ सकिएको उनले जानकारी दिए । कोरोनाको बीमा र पत्रकार दुर्घटना बीमालगायत धेरै कुरामा बजेटले सञ्चार क्षेत्रलाई समेटिएको बताउँदै अर्थमन्त्रीले भने, ‘पहिलेको तुलनामा सञ्चार माध्यमलाई थप सुविधा दिइएको छ, यो राहतकै पाटो हो ।’ यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा सङ्घीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पारे । उनले अहिले सरकार इ-कमर्श र इ-व्यापारका लागि डिजिटल इकोनोमितर्फ काम गरिरहेको जानकारी दिए । अर्थमन्त्रीसँग सांसदहरु अनिता देवकोटा, जीतेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी र प्रकाश पन्थले पुरक प्रश्न सोधेका थिए । रासस
क्लियर टिभीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीकाे लागि अनलाइन कक्षा शुरु
काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण शुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारण भईरहेकाे छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई याे समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समावेस गरी च्यानलको प्रसारण सुरु गरेकाे कम्पनीले जनाएकाे छ । विज्ञान, समाजिक शिक्षा, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबार देखि शुक्रबार बिहानको ११ बजेदेखि सुरु हुनेछ कम्पनिले बताएकाे छ ।
अब एनसेलका डेटा र भ्वाइस प्याकहरू खल्ती, प्रभु–पे र युनी–पेबाट सिधै लिन सकिने
काठमाडौं । एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेल प्रा.लि.ले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ । विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् । एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पु¥याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् । “एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ । डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, “डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा विक्रेताहरूलाई ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं । यो हाम्रा ग्राहकहरुका लागि एउटा ठूलो सुविधा हो ।” ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेता मार्फत किन्न सक्नेछन् । ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् । यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रहबमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ । ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित मात्र रु. ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् । डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन ।