एनसेल ‘नन्स्टप’ अफर: मात्र १५० रुपैयाँमा एकहप्ता ननस्टप युट्युब र अन्य धेरै सेवा
काठमाडौं । एनसेल आजियाटा ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो । ‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक रु १०० (कर सहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ (कर सहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् । ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् । एनसेलका फोरजी ग्राहकले *१७१२३# १ ह्यास डायल गरी नन्स्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् । एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्नपनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकहरुमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।” आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।
नछोएरै एटीएमबाट पैसा निकाल्ने सिस्टमको अध्ययन गर्दै नेप्स
काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) एटीएममा नछोएरै पैसा निकाल्न सक्ने प्रणालीको अध्धयनमा लागेको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले एटीएममा नछोएरै पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुराको अध्ययनमा आफुहरु लागेका बताएका छन् । आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बैकिङ र सुचना प्रविधि’ विषयक अन्तकृया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले यसको चाँडै नै सुखद समाचार सबैमा लिएर आउने बताएका छन् । पछिल्लो समय डिजिटल भुक्तानीमा नागरिकको ध्यान पनि बढ्दै गएकाले सबैले डिजिटल भुक्तानीमा ध्यान दिनु पर्ने उनको भनाई छ । डिजिटल भुक्तानीमा सम्भावना सँसँगै उतिकै चुनौतीहरु पनि भएकोले व्यक्ती तथा संस्थाले यसमा लगानी बढाउनु पर्ने उनले धारणा राखे । उनले प्रविधिको विकाससँगै विस्तारै यसको लिने शुल्क पनि घटाउँदै जानु पर्ने बताए ।
डिजिटल भुक्तानीलाई यसरी प्रोत्साहन गर्न सकिन्छ- सीईओ सञ्जिव सुब्बाको विचार
नेपाल पनि पछिल्लो समय डिजिटल भुक्तानी र सूचना प्रविधिमा फड्को मार्दै गएको छ । देशमा डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा यसको विस्तारमा बैंकिङ क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपाली बैंकिङ क्षेत्रले छोटो समयमै डिजिटल भुक्तानीको बजार विस्तारलाई आक्रामक तरिकाले बढाइरहेका छ । जुन हामी सबैका लागि राम्रो पक्ष हो । अहिले २१औं शताब्दिमा आएर हेर्दा हरेक व्यक्तिको जीवनमा सूचना प्रविधि र डिजिटल भुक्तानी अनिवार्यका रुपमा स्थापित भइसकेको छ । गृहिणीदेखि हरेक व्यक्ति तथा संस्थालाई अहिले डिजिटल भुक्तानी अनिवार्य भइसकेको छ । हरेक संघ संस्थादेखि नियामक निकायले समेत डिजिटल भुक्तानीलाई बढी प्राथमिकता दिएर काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि विगत केही वर्षदेखि भुक्तानी प्रणाली विभाग नै बनाएर काम गरिरहेकाे छ । राष्ट्र बैंकले नै अहिले डिजिटल भुक्तानीलाई बढी प्राथमिकताका साथ हेरिरहेको छ । विगतका वर्षहरुमा पनि केही इन्टरभेसन पनि भइसकेका छन् । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले त हामीलाई डिजिटल भुक्तानी प्रयोग गर्न अनिवार्य गरेको छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरुले पनि अहिले मोबाइल बैंकिङ, अनलाइन बैंकिङ लगायतका डिजिटल वालेटहरु मार्फत काम गरिरहेका छन् । जसले बैंकका ग्राहकलाई घरमै बसेर बैंकिङ कारोबार तथा अनलाइन पेमेन्ट गर्न उत्प्रेरित र सहज बनाइरहेको छ । हामीले अझै पनि धेरै कामहरु गर्न बाँकी नै छ । अझ यसलाई द्रुत गतिमा विकास तथा विस्तार गर्न आवश्यक छ । नेश्नल पेमेन्ट गेटवेका कुराहरु छन् । यी विभिन्न डिजिटल माध्यमबाट हुने पेमेन्ट तथा कारोबारलाई सहज बनाउन उचित र आवश्यक सूचना प्रविधिको प्रयोग गरी नागरिकसम्म पुर्याउन सक्नु आजको आवश्यकता हो । सूचना प्रविधि र भुक्तानी प्रणालीमा डिजिटल डिभाइड हुनु हुँदैन । भुक्तानी प्रणालीमा भौगाेलिकता र क्षेत्रियता हुनु हुँदैन । एउटा दुर दराजमा बसेको मानिसले पनि भुक्तानी प्रणाली मार्फत कारोबार तथा आफ्नो काम गर्न सक्ने गर्ने सूचना प्रविधिको विकास तथा विस्तार गर्न हामीले सक्नु पर्छ । सबैलाई सहज र सरल किसिमले काम गर्न सकिने किसिमको सूचना प्रविधिको विकास गरेर यसको पहुँच सर्वसाधारणसम्म पुर्याउन आवश्यक छ । प्रविधि विलासिताको कुरा होइन । सबैले सहज रुपमा प्रयोग गर्न पाउनु पर्छ । यसको अवधारणा नै यही हो । सबैले आ-आफ्नै किसिमले प्रयोग गर्न सक्नु पर्छ । अहिले महामारीको समयमा भुक्तानी प्रणालीमा एक किसिमको ट्रेण्ड बसेको छ । अनलाइन कारोबार गर्ने, इकमर्स अर्थात अनलाइन पेमेन्ट गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । साउथ एसियामा अहिले बढी जसो मानिसहरु ईकमर्समै निर्भर छन् । हामीले पनि क्यास पेमेण्ट एण्ड डेलिभरीको सिस्टमलाई अपना्एर अगाडि बढ्न सक्छौं । यसका लागि हामी हरेक पक्ष तथा तवरबाट तयारी रहनु पर्छ । स–साना पसलहरुमा पनि ईकमर्सको सिस्टम हामीले राख्न जरुरी छ । यसका लागि हामीले लगानी गर्न तयार हुनु पर्छ । हामीले जति लगानी डिजिटल भुक्तानी सिस्टमका लागि गर्छौं त्यो भन्दा पनि बढी लगानी यसको पूर्वाधार, जनशक्ति र सुरक्षामा गर्न आवश्यक हुन्छ । तव मात्र हामी सहज र सरल किसिमले डिजिटल भुक्तानी प्रणालीमा अव्वल हुँदै जान्छौं । जसरी हामी अहिले मोबाइल चलाउँछौं त्यसरी नै भुक्तानी प्रणालीलाई प्रयोग गर्न सक्यो भने अवश्य पनि हामी सूचना प्रविधिमा आफ्नो रफ्तार कायम गर्न सक्छौं । जति छिटो पमेन्ट गर्न सक्छौं त्यति धेरै नै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । भुक्तानी प्रणालीको प्रोत्साहन र सूचना प्रविधिको विकास तथा विस्तार गर्नको लागि अर्को महत्वपूर्ण कुरा भनेको वातावरण हो । हामी भुक्तानीमा सानो देश होइनौं । हाम्रो देशमा यति धेरै क्रस बर्डर पेमेण्ट भइरहेको छ । यसमा हामीले उचित र सरल प्रविधि प्रयोग गरेर अगाडि बढ्यो भने हामी र हाम्रो देशको अर्थतन्त्रका लागि धेरै नै फाइदा हुन्छ । चुनौती के छ ? डिजिटल कारोबार तथा अनलाइन कारोबारमा धेरै सम्भावनाहरु छन् । ती सम्भावना हुँदा हुँदै पनि चुनौतीहरु पनि उतिकै धेरै छन् । सर्वप्रथम त हामीसँग प्रविधि धेरै महँगो छ । हामीले सूचना प्रविधिमा गर्नु पर्ने वार्षिक लगानी अर्थात मेन्टेनेन्स धेरै हुन जान्छ । लगानीको कमिका कारण डिजिटल भुक्तानीमा प्रोत्साहन नभएको होकि भन्ने पनि बुझ्न सकिन्छ । बैंकको साइज र मोडालिटीका कारण लगानीमा कमि पनि आएको हुन सक्छ । तर, अब एउटा व्यत्ति तथा संस्था मात्र नभएर नियामक निकायले नै यसमा बजेट छुट्याउन सक्यो भने झन बढी प्रभावकारी हुन जान्छ । धेरै देशमा पनि यही अभ्यास छ । तर, अहिलेको अवस्थामा नेपालमा त्यो आवश्यक छ कि छैन भनेर पनि हामीले अध्ययन गर्न आवश्यक छ । अहिलेको अर्को चुनौती भनेको कागजातको हो । कानुनी मान्यता राख्ने कागजातहरु कसरी डिजिटलाइजेन गर्न सकिन्छ भन्ने पनि हुन सक्छ । तर, त्यसका लागि कानुनी रुपमा नै मान्यता दिएर काम गर्न सकिन्छ । हामीले प्रविधिमा जानै पर्छ । भुक्तानी प्रणालीलाई प्रविधिले नै जोड्ने हो । अहिलेको मुख्य समस्या र चुनौती भनेको साइबर सुरक्षाको विषय पनि हो । साइबर सेक्युरिटीको चु्नौती हुँदाहुँदै पनि हामीले प्रविधिको प्रयोग गर्नै पर्छ । साइबर सुरक्षाका लागि साइबर सुरक्षा पोलिसी निर्माण गर्न आवश्यक छ । साइबर अपरेसन डाटासँग सम्बन्धि संस्थाहरु साइबर सेक्युरीटीको मामिलामा अगाडि आउनु पर्छ । यसमा हामीले अझै उदार हुनु पर्छ । बजेट र इनोभेसनमा बढी लगानी गर्नु पर्छ । सुरक्षाको विषयलाई लिएर अध्ययन अनुसन्धानलाई हामीले प्रभावकारी ढंगले काम गर्न आवश्यक छ । अर्को मुख्य कुरा भनेको सहकार्य हो । सूचना प्रविधि सहकार्य बिना असम्भव छ । हामीले सहकार्य नै गरेर साइबर सेक्युरिटीलाई बढाउन सक्छौं । क्यासलेस ट्रान्जेक्सनमा एटीएममा नछोइकन कसरी क्यास निकाल्न सकिन्छ भन्ने प्रयास पनि हामी गर्न सक्छौं । (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडका सीईओ संजिव सुब्बाले सेजनले गरेको कार्यक्रममा राखेको बिचार)