फोहोर व्यवस्थापन बिल अब खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र किल्न नेपालमा मात्र संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरुसँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारी खल्तीले गरिरहेको जनाएकाे छ । यो सेवाको लिन खल्तीको होम स्क्रिनमा रहेको वेस्टमा ट्याप गरी आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरी गेट डिटेल्स बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । त्यसपछि सबै विवरण ठिक भएको यकिन गरी सिधै बिल भुक्तानी गर्न सकिनेछ ।  

साढे २७ करोड घाटा भएकाे भन्दै एनसेलले बढायाे १९ देशको अन्तरराष्ट्रिय कल शुल्क

काठमाडौं । एनसेल आजियाटाले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । कम्पनीकाे अनुसार नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छ । गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो । प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ । नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४.९९ रुपैयाँ देखि १५ रुपैयाँ सम्म लाग्ने गरेको थियो । अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको कम्पनीले दावी गरेकाे छ । अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएकाे छ । कम्पनीकाे अनुसार विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने जनाएकाे छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक १,१७०.३० रुपैयाँ सम्म रहेको कम्पनीले जनाएकाे छ ।      

अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडाैं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो । यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ । ‘खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाइ विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सहि बनाउन थप टेवा पुग्नेछ’, खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले ७७ जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा दिन पाएकोमा ज्यादै खुशी भएकाे बताए । १७ लाख भन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ । ’