‘डिशहोम गो’ मा अब ७० वटा च्यानल

काठमाडाैं । डिशहोम गाे मा अब ७० वटा च्यानल प्रसारण हुने भएकाे छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधी ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अब देखी प्रयोगकर्ताहरुले ७० वटा च्यानल मिल्ने भएकाे हाे । यस संगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ । यसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म र सर्टफिल्महरु हेर्न सक्नेछन् । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि न डिशहोम गो मोबाइल एप ल्याएको थियो । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् । डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सञ्चालनमा आयो नेपालकै पहिलो बगबाउन्टी ‘बगभी’

काठमाडौं । नेपालकै पहिलो बगबाउन्टी ‘बगभी’ सञ्चालनमा आएको छ । सिनिकल टेक्नोलोजिले यसलाई दुई महिना १० दिनको परीक्षणपछि पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो । सिनिकलले गत पुष १४ गते बगभीलाई सार्वजनिक गरेको थियो । बगभी साइबर सुरक्षा प्रदान गर्ने एक प्लेटफर्म हो । यसमा आवद्ध भएका ह्याकरले विभिन्न कम्पनीका वेवसाइटहरुमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने र रिपोर्ट गर्ने काम गर्छन् । यसरी रिपोर्ट गरेर वेवसाइट वा प्रोडक्टलाई सुरक्षित राख्न मद्दत पुग्छ । यो काम बापत ह्याकरले निश्चित रकम रिवार्ड बापत पाउँछन् । बगभीमा एकैदिन स्वदेश तथा विदेशका पाँच सय भन्दा धेरै सुरक्षा अनुसन्धाता (एथिकल ह्याकर) जोडिएको सिनिकल टेक्नोलोजीले बताएको छ । पहिलो दिनमै यति ठूलो संख्यामा ह्याकर जोडिदा बगभीका संस्थापक नरेश लाम्गादेले खुसी व्यक्त गरे । हालसम्म यसमा १० वटा कम्पनीहरू आवद्ध भईसकेका छन् । अन्य कम्पनीहरू पनि यसमा आवद्ध हुन इच्छुक रहेको लाम्गादेले बताए । कम्पनीका अनुसार यसमा आबद्ध कम्पनीहरूले साइबर सुरक्षा सेवा लिन सक्ने छन् ।

नेपालकाे स्याटेलाइटसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेश्नल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असु¥यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेका छन् । प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ः०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो । आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ । चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ । प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ । रासस