पोखरा महानगरलाई डिजिटल बजार बनाउन इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताए । उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउदै अति नै मितव्ययी रहेकोले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए । क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने ‘ परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौं । पछिल्लो समय क्यूआरको लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।’ कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताए । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

खल्तीबाट २० रूपैयाँको रिचार्ज गर्दा ‘आइफोन १२’ जित्न सकिने

काठमाडाैं । ‘खल्ती’ डिजिटल वालेटले भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ । खल्तीले अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउन “खल्तीमा आइफोन १२” अभियान ल्याएकाे हाे जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन् । याे अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र उनले आइफोन १२ जित्नेछन् । सहभागीले खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ । र, खल्ती एप भित्र गई “खल्तीमा आइफोन १२” सेक्सनबाट २० रूपैयाँको रिचार्ज गर्नु पर्नेछ । यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ जस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन् । यो अफर २८ मार्च अर्थात चैत १५ गतेसम्म लागू हुनेछ । खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो । जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छन् ।

क्यान इन्फोटेकः मेला व्यवस्थापन गर्न ५ करोड लाग्ने, भृकुटी मण्डपको भाडा मात्रै ३० लाख

काठमाडौं । यस वर्षको कम्प्युटर एशोसियन नेपाल (क्यान) इन्फोटेकआउने बैशाख २८ गतेबाट शुरु हुँदैछ । क्यान इन्फोटेक मेला सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी दिने थलो हो । सूचना तथा प्रविधिमा चासो राख्नेलाई यो मेलाले नयाँ विषयको जानकारी दिन्छ । यस वर्ष क्यानले केही नयाँ सुरुवात गरेको छ । यसै सेमेस्टरबाट सूचना तथा प्रविधी विषयमा स्नातक तहमा विशेष छात्रवृत्ति स्किम शुरु हुँदैछ । क्यानले सिफारिस गरेका तीन जनाले राजधानीको सफ्टवेरिका कलेजमा पूर्णछात्रबृत्ति पाउँनेछन् । यस्तै हरेक प्रदेशबाट १० जना गरेर जम्मा ७० जनाले आंशिकछात्रबृत्ति पाउँनेछन् । छात्रबृत्ति छनौटका लागि आफ्नै प्रावधान छन् । ‘स्थानियबासी, वडाका प्रतिनिधी, बुद्धिजिबी, समाजमा बुझेर छनौट गर्छौं’क्यानका उपाध्यक्ष खुसल रेग्मीले भने । क्यान मेलामा सफ्टवेरिका कलेजले इन्नोभेसन हाउस राख्दैछ । त्यसका लागि चाहिने सर–सामानहरू किन्न मानिस भारत पठाइसकेको सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेले बताए । इन्नोभेसन हाउसमा ड्रोन, रोबोटिक्स जस्ता सामानहरु राखिनेछ। विद्यार्थीहरूले विभिन्न इन्नोभेसनका काम गरेर देखाउनेछन् । क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता बुझ्ने, बजार सर्बेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने मौका प्रदान गर्छ । यस पटकको क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्ड रहनेछन् । ब्राण्डिङ, आइसिटी, एक्सेसरिज, गेम पार्लर, प्रोडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ, टेक्नोलोजि, इ-वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट, लर्निङ सेन्टर, सूचना तथा सञ्चार प्रविधि सम्बन्धि रोजगार केन्द्र रहनेछन् । प्रर्दशनीकर्ताले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटपतथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, वैकिङ सोल्युसन, सीसीटीभि र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनि र विक्रीमा राखिनेछन् । यस्तै आर्टिफिसियल ईन्टिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल पनि प्रर्दशनिमा रहनेछन् । यस पटकको क्यान इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस बनाउने लक्ष्य राखिएको छ । सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरूलाई पत्रका आधारमा निःशुल्क प्रवेश दिइनेछ । क्यान इन्फोटेक २०२१ मा सहभागि हुने चाहनेहरूले २०७७ चैत ८ गतेदेखि प्रर्दशनिकर्ताका निम्ति अनलाइन बुकिङ समेत खुला हुनेछ । गएको वर्ष झण्डै साढे ३ लाखले मेला अवलोकन गरेका थिए । यस वर्ष पनि त्यति नै संख्याले मेला अवलोकन गर्ने अपेक्षा लिएको क्यानका महासचिव नारायण थापा बताउँछन् । यो वर्ष कोरोना महामारीको कारणले गर्दा क्यान मेला पछि सरेको छ । कोरोना महामारीपछि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास र विस्तारमा प्रगति भएको बताउँछन् क्यान महासंघका अध्यक्ष नवराज कुँवर । कुवँरका अनुसार मेला व्यवस्थापन गर्नको लागि ५ करोड रुपैयाँ लगानी लाग्ने भएको छ । ६ दिनसम्म भृकुटी मण्डपमा हुने प्रदर्शनी कार्यक्रमको भाडा भने ३० लाख रुपैयाँ तिर्नु पर्ने उनको भनाई छ । कोभिड १९ पछि ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन बढेको छ । डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको कुवँर बताउँछन् । ‘यसले सुशासनमा मद्दत पुगेको छ,’ कवँर भन्छन्, ‘विद्युतीय सुसाशनका लागि प्रविधिको पहुँच त्यसको पहिलो शर्त हो भने प्रयोगमा सहजता दोस्रो खुड्किलो हो ।’