घरबाटै काम गर्नेलाई टेलिकमले यसरी दिँदै छ विभिन्न सेवा
काठमाडाैं । निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम हाेम, अनलाइन क्लासेस्, वेविनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि सेवाहरु रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेका छन् । भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिन्छ । व्यालेन्स ट्रान्सफर नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ । रिचार्ज कार्डको प्रयोग बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ । गिफ्ट प्याकेज नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ । यसैगरी याे लिंकमा गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिंदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ । मोबाइल बैंकिङ हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । अनलाइन रिचार्ज बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ । यसका लागि याे लिंकको प्रयोग गर्नुपर्दछ । यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ । विभिन्न डिजिटल वालेटको प्रयोग नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई-सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ । एमपोस पिनलेस रिचार्ज नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै: स्टेसनरी पसल)ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् । सेल्फ केयरको प्रयोग नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ । रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ । सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।
तल्लाे डाेल्पामा नमस्ते मोबाइल फोनका टावर संचालन, रुख चढेर फोन गर्नुपर्ने अवस्था हट्यो
डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोबाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो । भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । ‘टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ’, अध्यक्ष शाहीले भने । टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताए । गाउँपालिका भित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ । घरबाटै फोन सेवा गाउँपालिकाले टावर निर्माण गरेसँगै स्थानीयवासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताए । ‘पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नु पथ्र्यो, खबर आदानप्रदान गर्न मान्छे नै कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका आफन्तहरुसँग ढुक्कले कुराकानी गर्न पाइएको छ’, रोकायले भने । यसअघि भरपर्दो फोन सेवा नहुँदा पुरानै युगमा बाँचे जस्तो हुने गरेतापनि अहिले गाउँघरका सबै सर्वसाधारणले सुविधा पाएको रोकायको भनाइ छ । कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए । आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले एउटा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताए । ‘त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्लामा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिशत धेरैकाम भइसकेको छ, त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै टावर नेपालगञ्जमा अलपत्र परेको छ’, सांसद शाहीले भने । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृत गराउनका पनि आफूले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवासी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुशी भएका छन् । रासस
सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको भर्चुअल बैठकमा उनले कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उनले आह्वान गरे । “सुरक्षित रहौंँ, स्वस्थ रहौंँ, आफू सुरक्षित भई कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवाप्रदायकले आआफ्ना ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाऔं”, मन्त्री गुरुङले भने, “कोभिड संकट समाधानका लागि गरिने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुुद्ध मन, वचन र कर्मले लागौं।” दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानून, नीति, नियम परिमार्जन गरेर अघि बढ्न तयार रहेको जनाउँदै उनले त्यसका लागि आवश्यक सुुझाव दिन पनि विज्ञलाई पटकपटक आग्रह गरे । सरकारका प्रवक्ता गुरुङले दूरसञ्चार क्षेत्रले भोग्नुपरेका चुनौती सामना गर्ने गरी नेपालमा प्रभावकारी सेवा प्रवाहलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङले जानकारी दिए । उनले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानून तर्जुमा गरेको जनाउँदै त्यसलाई आवश्यकतानुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । रासस