राष्ट्र बैंकले किन गर्यो जीएमई पेको अनुमतिपत्र खारेज ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी जी एम ई पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै जीएमई पेको अनुमतिपत्र खारेज गरेको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलका अनुसार विद्युतीय भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको एक वर्ष पुरा भइसक्दा पनि सेवा सुचारु गर्न नसकेपछि जीएमई पेलाई खारेज गरिएको हो । उनले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को ‘क’ मा रहेको व्यवस्था बमोजिम कम्पनीलाई खारेज गरेका बताए । कम्पनीले २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।
बढ्दै फोरजीका प्रयोगकर्ता, एक महिनामै थपिए साढे ११ लाख
काठमाडौं । पछिल्लो समय नेपालमा फोरजीका प्रयोगकर्ताहरु बढ्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौैं महिनाकोे तथ्यांक अनुसार नेपालमा फोजरीका प्रयोगकर्ता एक करोड २१ लाख पुगेको छ । गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ लाख ३६ हजार फोरजीका प्रयोगकर्ता थपिएका छन् । नेपालमा सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । नेपाल टेलिकममा एक महिनामा नौ लाख २७ हजार ६८६ ग्राहक थपिएका छन् । भदौं मसान्तसम्म टेलिकमको फोरजी ग्राहक संख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । साउनमा टेलिकमसँग ५३ लाख ४० हजार ३५३ फोरजी ग्राहक थिए । यस्तै, एनसेलले भदौमा २१ लाख ४३ हजार ९४ फोरजी ग्राहक थपिएका छन् । भदौं मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ५७ लाख २५ हजार ७८० पुगेका छन् । गत साउनमा एनसेलको फोरजी प्रयोगकर्ता ५५ लाख ११ हजार ३८६ थिए । प्राधिकरणको तथ्यांक अनुसार भदौमा टेलिकमको फोरजी ग्राहक संख्या एनसेलको भन्दा पाँच लाख ४२ हजार बढेको छ । नेपाल टेलिकम र एनसेलमा फोरजीका प्रयोगकर्ता थपिएपनि स्मार्ट टेलिकमका प्रयोगकर्ता घटेका छन् । गत साउनसम्म एक लाख ८२ हजार ६१५ प्रयोगकर्ता रहेकोमा भदौ महिनामा घटेर १ लाख ७६ हजार ६८६ पुगेको छ ।
साेलुखुम्बुमा नेपाल टेलिकमकाे अप्टिकल फाइबर जडान
काठमाडौं । सोलुखुम्बुका सेवाग्राहीले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो ९२०७८ कात्तिक ११० १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ । पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।