काठमाडौं महानगरले हाइम्याक्स बत्ती जडान गर्दै, ८० स्थानमा राख्ने योजना
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार ९ करोड ९० लाख रुपैयाँ लागतमा काठमाडौंका ८० ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागिएको हो । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पना साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो । यसअघि नै सो काम सक्ने महानगरको योजना भएपनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरको भनाई छ । महानगरका सूचना अधिकारी बसन्त आचार्यले उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने बताए । उनका अनुसार यस्ता बत्ती अहिले विमानस्थलमा मात्रै जडान गरिएका छन् । ‘हामीले काठमाडौं महानगरका विभिन्न ८० ठाउँमा ८८ वटा हाइमेक्स बत्ती जडान गर्दैछौं, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ, हालसम्म ठेक्का लगाउन नसक्दा काम रोकिएको थियो, अब टेन्डरको काम पनि भइसकेको छ,’ अब छिट्टै काम हुन्छ,’ उनले भने । उनका अनुसार काठमाडौंलाई उज्यालो शहरको रुपमा अगाडि बढाउनको लागि हाइम्याक्स बत्तीले धेरै भूमीका खेल्नेछ । ‘अहिले नेपाल विद्युत प्राधिकरण विद्युत खपत बढाउनका लागि लागि परेको छ, हाम्रो यो योजनाले पनि विद्युत खपतमा सहयोग पुग्छ, यस्तो बत्ती जडान गरेपछि नागरिकको सुरक्षा पनि हुन्छ, आवतजावतमा पनि सहज हुन्छ,’ उनले भने । उनका अनुसार हाइमेक्स बत्तीको केन्द्रबाट ५ सय मिटरसम्म देख्न सकिन्छ । यसले शान्ती सुरक्षासँगै चोरीका घटनामा पनि कमि आउने उनको भनाई छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएसँगै काठमाडौं महानगरको ३२ वडाका १० हजार स्थानमा हाइमाक्स बत्ति जडान गर्ने र महानगरपालिकालाई उज्यालो शहरको रुपमा विकास गर्ने परिकल्पना अगाडि सारेका थिए । तर, उनको त्यो काम अहिलेसम्म अगाडि बढ्न सकेको थिएन । अब कार्यकाय सकिने केही महिना मात्रै बाँकी रहँदा उनी यो योजनालाई पूर्णता दिन लागि परेका हुन् ।
एनसेलको अन्य डाटा प्याक किन्दा भाइबर चलाउन डाटा निःशुल्क पाइने
काठमाडौं । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछन् । यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रीपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी ९एआर० लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरु निःशुल्क पाउनेछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि विषेश गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ । ‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं । हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौं,’ एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने । एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी ९एआर० मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात गर्ने कम्पनीले जनाएको छ ।
ज्योति विकास बैंकले शुरु गर्यो प्रिपेड डलर कार्ड, वार्षिक ५०० डलरसम्मको भुक्तानी गर्न सकिने
काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्ड आइतबार सार्वजनिक गरेको हो । यससँगै अब बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै एप्लाई गरी १ दिन भित्र भर्च्युअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर १९ गतेदेखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसंगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई-कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । यो सुविधा बैंकका १०५ वटै शाखा कार्यालयहरुबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ। साथै बैंकले डिजिटल बैंकिंग सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।