आइसिटी अवार्डको २५ विजेतालाई डिशहोमले नि:शुल्क इन्टरनेट सेवा दिने
काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ । छैटौं संस्करणको आइसिटी अवार्डको स्पोनन्सरमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमबिपिएस ईन्टरनेट प्रदान गर्नेछ । आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन । संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।
महजोडि बने टेलिकमको ब्राण्ड एम्बेसडर
काठमाडौं । नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । टेलिकमले मंसिर २८ गते एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्राण्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए । यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्ने छन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ । साथै, ‘ब्राण्ड एम्बेसडर’द्वयको संलग्नताबाट कम्पनीका ग्राहकले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने कम्पनीको अपेक्षा रहेको छ ।
धमाधम बन्दै टेलिकमका टावर, रुखमा चढ्नुपर्ने बाध्यताको अन्त्य हुने
फाइल फाेटाे डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ । जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । उनले भने, “गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।” यहाँका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो । यतिमात्र नभइ यहाँका कतिपय ठाउँमा टावर निर्माण नभएका कारण फोन गर्नकै लागि रुखमा चढ्नुपर्ने तथा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता अहिले पनि कायमै रहेको आदर्श गाउँपालिकाका स्थानीयवासी तथा उद्योग बाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलालीले बडिकेदारको रन्तोलामा उक्त टावर निर्माण गर्न लागेको टेलिकमका फोरजी इन्चार्ज घनश्याम पाठकले बताए । केही दिनभित्रै टावर निर्माण सम्पन्न भई सञ्चालन गरिने नेपाल टेलिकमको सुदूरपश्मि प्रदेश कार्यलय अतरियाले जनाएको छ । घाम अस्ताउनेबित्तिकै नेटवर्क जाने समस्याले पीडित बनेका यहाँका नागरिक उक्त टावर सञ्चालन भएपछि नेवटर्क जाने समस्याबाट मुक्ति पाउने आशामा खुशी भएका बडिकेदार–५ का स्थानीयवासी भीमबहादुर बोहराले बताए ।