भुक्तानी सेवा प्रदायकले मासिक रुपमा काराेबार राष्ट्र बैंकमा बुझाउनु पर्ने

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण बुझाउन निर्देशन जारी गरेको हाे । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्थामा संशोधन गर्दै नयाँ व्यवस्था राखिएको जनाएको छ । नयाँ निर्देशनअनुसार शाखारहित बैंकिङ केन्द्रको विवरण र एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र बैंकलाई बुझाउनुपर्नेछ । यस्तै, भुक्तानीसम्बन्धी कार्य गर्ने सबै संस्थाहरूलाई महिना सकिएको ७ दिनभित्र भुक्तानीसम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ । शाखारहित बैंकिङ केन्द्रको विवरण, एटीएम मेसिन रहेको स्थान, शाखारहित बैंकिङ केन्द्रहरु तथा विद्युतीय कार्डको विवरण, इ बैंकिङ, भुक्तानी सेवा प्रदायकको कारोबार, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बधी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसावकिताव, भुक्तानी सेवा प्रदायकको ग्राहक, सञ्चालकको कारोबार र भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार महिना सकिएको ७ दिनभित्र बुझाइसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तै, भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबार, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरणहरु महिना सकिएको ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

५ महिनामा ४८ देशबाट २३ अर्ब बढीको मोबाइल फोन आयात

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड अगाडी न्यून मात्रामा आयात हुँदै आएको फोन पछिल्लो समय आयातको उच्च स्थानमा पर्ने गरेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनाको अवधिमा नेपालमा विभिन्न देशबाट करिब २३ अर्ब बराबरको मोबाइल फोन आयात भएको छ । तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २२ अर्ब ९७ करोड २४ लाख रुपैयाँ बराबरका ३० लाख ६० हजार ४३७ वटा मोबाइल आयात भएका छन् । गत वर्षको सोही अवधिमा १७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ वटा मोबाइल नेपालमा भित्रिएको थियो । तथ्यांक अनुसार मंसिर महिनामा मात्रै दुई अर्ब ६१ करोड ३८ लाख मूल्य बराबरका चार लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको छ । ४८ देशबाट फोन आयात भन्सारले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पाँच महिनामा विभिन्न ४८ देशबाट मोबाइल फोनको आयात भएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएको छ । चीनबाट १३ अर्ब ५६ करोड बढी आयात भएको छ । चीनपछि भारतबाट धेरै फोन आयात भएको छ । भारतबाट ८ अर्ब ४४ करोडभन्दा बढीको छ लाख १ हजार ५ सय ४२ मोबाइल भित्रिएका छन् ।

सरकारद्वारा केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताए । मन्त्री कार्कीले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने र यसकाे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताए । कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम र एनसेल) मार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्नेछन् । सेवाग्राहीले पनि सम्बन्धित सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।